जनता टाइम्स

१२ श्रावण २०७६, आईतवार १०:१५

नेपाल विश्वकप टी २० मा छनोट हुन असफल, सिंगापुरसँग ८२ रनले पराजित


काठमाडौं, साउन १२

नेपालले आईसीसी टी २० एसिया विश्वकपमा छनोट हुन असफल भएको छ । एसियातर्फको छनोट खेलमा सिंगापुरसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएपनि नेपालको विश्वकप खेल्ने सपना तुहिएको हो ।

सिंगापुरले प्रस्तुत गरेको १ सय ९२ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले कुनै पनि बेला चुनौति प्रस्तुत गर्न सकेन् । नेपाल केवल १५ ओभरमा १०९ रनमा समेटियो । नेपालले चौथो ओभरको पहिलो बलमा कप्तान पारस खड्कालाई १२ रनमा गुमाएको थियो । अम्जाद महबुबको बलमा ठूलो सट खेल्ने धुनमा पारस सुरेन्द्रन चन्द्रमोहनबाट क्याच आउट हुनुअघि १० बलमा समान १ चौका र छक्का प्रहार गरे । सातौं ओभरको तेस्रो बलमा विजय कुमारले ज्ञानेन्द्र मल्ललाई ३९ रनमा बोल्ड आउट गरेपछि नेपाल दवावमा आयो । मल्लले २१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।

८ औं ओभरको चौथो बलमा जनक प्रकाशले बाउन्डी लाइन नजिकै एक हातले उक्कृष्ट क्याच लिदै शरद भेषावकरलाई ७ रनमा क्याच आउट गरेपछि नेपाल संकटमा परेको थियो । नवौं ओभरको तेस्रो बलमा विजयकुमारले रोहित कुमार पौडेललाई कट विहाइन्ड गर्दै ५ रनमा आउट गरेपछि नेपाल ६७–४ को कमजोर अवस्थामा पुगेको थियो ।

नेपालका लागि कप्तान पारस खड्का १२, ज्ञानेन्द्र मल्ल ३९ रन बनाए । दिपेन्द्रसिह एैरीले २३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन समेत बनाउन सकेनन् । शरद भेष्वाकर ७, रोहितकुमार पौडेल ५, विनोद भण्डारी ९ र करन केसी शुन्य रनमा आउट भए । सिंगापुरका लागि विजय कुमारले ४ विकेट लिए ।

यसअघि सिंगापुरले टस जितेर ब्याटिङ गरेको सिंगापुरका लागि टिम डेविडले सर्वाधिक ७७ रनको पारी खेले । उनले ४३ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै रोहन रङ्गराजन ३३ बलमा ३ चौका र ४ छक्का सहित ४९ रनमा आउट भए । रोहन र डेविडले दोस्रो विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए । तेस्रो विकेटका लागि डेविडले मनाप्रित सिंहसँग ६६ रनको साझेदारी गरेपछि सिंगापुरले विशाल योगफल तयार पारेको हो । सिंहले २७ बलमा ३ चौका र २ छक्का सहित ४२ रनमा क्याच आउट भए ।

निक्कै राम्रो शुरुवात गरेको सिंगापुरलाई नेपालले अन्तिम तीन ओभरमा भने केही रन रोक्न सफल भएको थियो । नेपालका लागि अभिनास बोहोराले चार विकेट लिए । उनले चार ओभरमा ३४ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिएका हुन् । यस्तै करन केसीले दुई विकेट लिए । बसन्त रेग्मी, सन्दिप लामिछाने विकेट विहिन हुदै मंहगो सावित भएका थिए ।