जनता टाइम्स

२२ भाद्र २०७९, बुधबार १४:१५

निर्वाचन धाँधलीको संकेत देखिएपछि एमालेको सशक्त विरोध


काठमाडौं, २२ भदौ । निर्वाचनमा धाँधली गर्ने उदेश्यले आफू अनुकुलका कर्मचारीहरू सरुवा गर्न लागेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सशक्त विरोध गरेको छ । एमालेले आसन्न निर्वाचनलाई प्रभावित गर्नेगरी सरकारले काम गरेको आरोप लगाएको हो । आज बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेकत विशाल भट्टराईले ४ मंसिरमा हुने निर्वाचनलाई प्रभावित गर्नेगरी सरकारले काम गरेको आरोप लगाउनुभयो ।

निर्वाचनलाई प्रभावित गर्नेगरी कर्मचारी सरुवा गरेको, विधेयक ल्याएको, विवेकको प्रयोग नगरी बहुमतको बलमा पारित गरेको आरोप लगाउँदै उहाँले सरकारलाई तत्काल भइसकेका सरुवा बदर गर्न र नयाँ सरुवा, नियुक्ति नगर्न चेतावनी दिनुभयो ।

काम चलाउ सरकारको हैसियतमा रहेका सरकारले दीर्घकालीन महत्वका निर्णय गरेको भन्दै उहाँले जथाभावी, मनलाग्दी, निर्वाचन प्रभावित पार्नेगरी सरकारले छानी-छानी प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत पठाएको आरोप लगाउनुभयो । राजनीतिक आस्थाका आधारमा सरकारबाट हुने विभेदविरुद्ध एमाले उत्रिने उहाँको चेतावनी छ ।