काठमाडौं, २३ भदौ । काठमाडौं महानगरपालिकाले भवन निर्माण सम्बन्धी मापदण्ड विपरीत बनाइएका पर्खाल हटाउन ३५ दिने सूचना निकालेको छ । महानगरले नगर क्षेत्रभित्र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्डले तोके बमोजिम घरजग्गा घेर्न निर्माण गरिने सीमा पर्खालको नक्सा पास भएपछि सो नक्सा बमोजिम मात्र सीमा पर्खाल निर्माण गर्नुपर्नेमा नभएको पाएपछि ३५ दिने सूचना निकालेको हो ।
नक्सा बमोजिम मात्र सीमा पर्खाल निर्माण गर्नुपर्नेमा कतिपय पर्खालहरू नक्सा पास बिना तथा मापदण्ड विपरीत निर्माण भएको देखिएकोले ३५ दिनभित्र हटाउन भन्दै सूचना निकालेको छ । महानगरले जारी गरेको सूचनामा भनिएको छ,‘यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र भवन निर्माण सम्बन्धी प्रचलित मापदण्ड अनुकूल भएका तर नक्सा पास नगरी निर्माण गरिएका सीमा पर्खालको नियमित गर्ने प्रयोजनार्थ नक्सा पेस गर्न तथा ३५ दिनभित्र प्रचलित भवन निर्माण मापदण्ड विपरीत बनाइएका सीमा पर्खाल हटाउन सूचित गरिन्छ ।’
३५ दिनको समयभित्र नियमित हुने प्रकृतिका सीमा पर्खालको हकमा नक्सा पेस नगरेमा र मापदण्ड विपरीतका सीमा पर्खाल नहटाए महानगर आफैंले हटाउने र हटाउन लाग्ने सम्पूर्ण खर्च घर जग्गा धनीबाटै असुल उपर गरिने महानगरद्वारा जारी सूचनामा उल्लेख छ । यस्तै, महानगरपालिकाले नक्सा पास नभएका घर तथा भवनलाई ९० दिनको समय दिँदै अर्को सूचना पनि निकालेको छ ।
महानगर क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरूको यो सूचना प्रकाशित भएको मितिले ९० दिनभित्रमा नक्सा पेस गरी स्वीकृत लिन भनेको छ । महानगरले तोकिएको समयभित्र नक्सा पेस नगरेमा त्यस्ता भवनहरूको विवरण संकलन गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता, कार्यविधि र महानगरको निर्णय बमोजिम कारबाही गर्ने जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्