जनता टाइम्स

२४ भाद्र २०७९, शुक्रबार १९:४५

चुनावअघि ७५३ वटै स्थानीय तहमा नमुना मतदान, जिल्ला–जिल्लामा पुग्यो मतपत्र बदर मत घटाउन


काठमाडौं, २४ भदौ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावअघि देशभरका सबै स्थानीय तहमा नमुना मतदान गराउने भएको छ । त्यसका लागि आयोगले नमुना मतपत्र समेत छापिसकेको छ । समानुपातिक निर्वाचन प्रणालीका लागि मतपत्र छपाई अघि जनक शिक्षा सामग्री केन्द्रमा मतदाता शिक्षा प्रयोजनका लागि नमुना मतपत्र छपाई गरिएको हो ।

निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले आगामी निर्वाचनमा बदर मत घटाउनका लागि आयोगले यो कार्यक्रम गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो,‘हामीले ७५३ वटै स्थानीय तहमा नमुना मतदान गर्ने कार्यक्रम राखेका छौं । देशका सबै पालिकामा मतदाताहरूलाई सरिक गराएर कम्तीमा एक–एक वटा नमुना मतदान गराउने आयोगको कार्यक्रम छ । सो अनुसार हामी जिल्लामा नमुना मतपत्र पठाउँछौँ । एउटा पालिकामा हामीले छ–सात सय नमुना मतपत्र पठाउने गरी मतपत्र छापेका छौँ ।’

एउटा पालिकामा कम्तीमा पाँच सयदेखि छ सय नमुना मतपत्र पठाउने तयारी गरेको पनि उहाँले बताउनुभयो । सोही संख्यामा मतदाताले नमुना मतदान प्रक्रियामा सहभागी हुन पाउने उहाँको भनाइ छ । उहाँले थप्नुभयो,‘जिल्ला निर्वाचन कार्यालयमार्फत स्थानीय तहमा नमुना मतदान कार्यक्रम गर्न लागेका हौँ । त्यसका लागि प्रत्येक जिल्ला निर्वाचन कार्यालयलाई नमुना मतपत्र पठाउँछौँ । आवश्यक बजेट पनि पठाउँछौँ । त्यही अनुसार उहाँहरुले सबै पालिकामा गएर नमुना मतदान गराउनुहुनेछ ।’

कार्यालयले स्थानीय तहसँग समन्वय गरेर नमुना मतदानको कार्यक्रम गर्ने तयारी भएपनि नमुना मतदानको काम दसैँपछिबाट मात्रै सुरु हुनेछ । दसैँ पछिबाट निर्वाचनको पनि माहोल बन्दै जाने भएकाले त्यो बेला मतदाता शिक्षालाई प्रभावकारी बनाउनका लागि यो कार्यक्रम राखिएको हो ।

त्यस्तै आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक तर्फको निर्वाचनका लागि मतपत्र छपाइको काम सुरु गरेको छ । जनक शिक्षा सामग्री केन्द्र सानोठिमीमा २ दिन अघिबाट समानुपातिक तर्फको मतपत्र छपाई थालिएको हो । संघीयतर्फ २ करोड मतपत्र र प्रदेशतर्फ २ करोड मतपत्र गरी झण्डै ४ करोड हाराहारी मतपत्र छपाई गरिने अर्यालले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘प्रदेशगत रुपमा निर्वाचनमा भाग लिन भदौ १० देखि १२ गतेसम्म निवेदन दिएर कायम भएका दलहरूको चिह्न राखेर मतपत्र छपाइको काम सुरु भएको छ । प्रदेशस्तरको लागि करिब २ करोड थान मतपत्र छापिन्छ । यस्तै प्रतिनिधिसभाको पनि करिब २ करोड गरी झण्डै ४ करोड समानुपातिक तर्फको मतपत्र छापिँदैछ ।’ यो मतपत्र छापि नसक्दै प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको मतपत्र छपाइको काम सुरु हुने उहाँको भनाइ छ ।

समानुपातिक तर्फको मतपत्र झन्डै एक महिनाभित्रमा छपाई गरिसक्ने आयोगको तयारी छ । आगामी असोज २३ गतेबाट असोज २६ गतेसम्म उम्मेदवारको मनोनयन कार्यक्रम सकिएपछि असोज २६ गते निर्वाचन चिह्न दिने कार्यक्रम छ । उम्मेदवारी दिएका दल र उम्मेदवारको मात्र चुनाव चिह्न राखेर प्रत्यक्ष निर्वाचन प्रणाली तर्फको मतपत्र छपाई गर्ने आयोगको तयारी छ । असोज २७–२८ गतेबाट प्रत्यक्ष निर्वाचन प्रणाली तर्फको मतपत्र छपाइको काम सुरु गर्ने आयोगले जनाएको छ ।