बागलुङ, २५ भदौ । ‘म त सात वर्षदेखि नै गाईभैँसीको गोठालो गर्न थालेको व्यक्ति हुँ, हाम्रो जमानामा पढ्ने लेख्ने चलन नै थिएन, अहिले त जन्मेको चार वर्ष नहुँदै पढ्न जान्छन्, पढ्ने, लेख्ने केटाकेटीले के गाई, भैँसी, भेडाबाख्राको गोठालो गर्थे ? अब पछि–पछि त यो गाईभैँसी भन्ने चीज पनि पाइँदैन होला ।’ यो भनाइ हो, निसीखोला गाउँपालिका–६ भल्कोटका भाजवीर घर्तीमगरको ।
अहिले ७७ वर्ष हुनुभएका उहाँले विगतमा दुर्गम गाउँमा निकै सङ्घर्ष गर्नु प¥यो । आजभन्दा १५ वर्षअगाडि निसीखोला क्षेत्र बागलुङ जिल्लाकै सभैबन्दा दुर्गम ठाउँ मानिन्थ्यो । भाजवीरले एक दशक अगाडि र अहिलेको अवस्थामा पनि निकै परिवर्तन भएको अनुभूति गर्नु भएको छ ।
दूर गाउँमा परम्परागत शैलीमा पशुपालन गर्दै आउनुभएका उहाँ अहिले भएको विकास देखेर निकै दङ्ग हुनुहुन्छ तर पनि भाजवीरलाई अहिले पनि बैँस र जवानीका सम्झनाले झस्काइरहन्छ । उति बेलाको चालचलन, अवस्था र जवानीमा लेकबेँसी, मेलापात गरेको सम्झना अझै पनि उहाँको मनमा ताजै छ ।
‘ऊ बेला छ महिना लेक, छ महिना बेसी बस्ने गरिन्थ्यो, तीन/चार सय भेँडाबाख्रा हुन्थे, गोठभरि गाईभैँसी हुन्थे, भेँडाको बथानले पहाडै ढाक्थ्यो, अहिले ती भेँडाबाख्रा ढुल्ने लेक, सुनसान छन्, गाईभैँसी बाँध्ने गोठ खाली छन्’, भाजवीरले विगतलाई स्मरण गर्दै भन्नुभयो, ‘हामी लेकबेंसी गर्ने गोरेटोमा अहिले घाँस पलायो, गीत गाउने रमाइलो गर्ने उमेर पनि गयो, अहिले त बूढेसकाल लागेछ, पहिलेको जस्तो काम गर्ने आँट त आउँछ तर ज्यानले सक्दैन, ज्यानले नसकेपछि के लाग्दो रैछ र ?’
उमेरले बुढ्यौली लागे पनि गाउँले खानपानले गर्दा उहाँ अझै हट्टाकट्टा नै हुनुहुन्छ । सामान्य रहनसहनमा बाँच्न रमाउने र आफ्नै समुदायको भाषा बोल्ने उहाँ निकै हँसिलो हुनुहुन्छ । भाजवीरले जीवनका अधिकांश समय गाईभैँसी र भेडाबाख्राको गोठालो गरेरै बताउनुभयो । अहिले पनि उहाँ भेँडाबाख्रासँगै दिन बिताउने गर्नु हुन्छ तर पहिलेका जति पशुचौपाया अहिले छैनन् ।
रङ्ग रमाइलो र खानपान गर्न निकै सोखिन उहाँ अहिले पनि पुराना गीतहरू गुनगुनाई रहनुहुन्छ । उहाँसँग जीवनमा भोगेका अनेकौँ अनुवभहरू छन् । उति बेला भाजवीरले भोगेका कैयौँ अनुभव अहिले उहाँ आफैँलाई नौलो लाग्छ ।
‘पन्ध्र दिन पैदल हिँडेर खसौली बटौली (बुटवल) पुग्थ्यौँ, गाउँबाट घीउ, सिमी बोकेर लान्थ्यौँ, उताबाट नुन र चामल लिएर आउँ आउँथ्यौँ, अहिलेको जस्तो मोटर गाडी चल्दैनथे, गाडी देख्न पनि बटौली पुग्नुपथ्र्यो,’ उहाँले विगत सुनाउनुभयो,‘अहिले त गाउँमा बिजुली बत्ती छ, ऊ बेला न बत्ती थ्यो, न यस्तो चिल्ला बाटा थे, अँध्यारोमा झाँङ (सुकेको निगाले), दियालो बालेर उज्यालो बनाउँथ्यौँ र पनि त्यसबेला रमाइलै थियो, अहिले त सबै थोक आयो यसै पनि रमाइलो हुने नै भयो ।’
सोह्र वर्षको उमेरमा बुटवल नुन लिन जाने क्रममा गाडी गुडेको र बिजुली बलेको देख्नुभएका भाजवीरको अहिले घर अगाडि गाडीहरू गुड्छन् भने बिजुली बत्तीले गाउँ नै उज्यालो बनाउँदा उहाँ निकै खुसी हुनुहुन्छ । ‘हाम्रो पालामा यस्तो सुविस्ता थिएन, मैले त बटौली नुन लिन जाँदाखेरी गाडी देखेको थिएँ, बिजुली बत्ती पनि उतिबेलै हो देखेको, अहिले बच्चाले जन्मिदा बित्तिकै बिजुली बलेको देख्न पाउँछ, अहिलेका पुस्ता साह्रै भाग्यमानी छन्, हाम्ले भने आधा उमेर ढल्किँदा बल्ल देख्न पायौँ ।’
भाजवीर आफूले गाई गोठ र भैँसी गोठमा धेरै समय बिताएको चर्चा गर्दै अबका पुस्ताले आफूहरूको बिँडो नथाम्नेमा चिन्ता व्यक्त गर्नुभयो । ‘गाइँभैँसी पाल्न त अहिलेबाटै छोडे, पछिल्लो पुस्ताले त झन् केको पाल्थे र उनीहरूलाई गोठ गन्हाउँछ, गोबर गन्हाउँछ, हामी त यही गोबर गहुँतमै हुर्किएको हो, म त मेरो शरीरमा तागत हुँदासम्म १२÷१५ वटा भैँसी त पाल्छु’, उहाँले भन्नुभयो ।
भाजवीरले आफ्नो जवानीको रमाइलो कुरासमेत सुनाउनुभयो । ‘हामी बैंसमा त गोठमा बस्ने, धेरै गाईभैँसी पाल्ने, ठूला–ठूला बठेकीमा मही बार्ने, साँझ परेपछि भाङ बालेर तरुनीहरूसँग गीत गाउँन जान्थ्यौँ, रोधी बसिन्थ्यो, अब ती दिन त कहिले आउलान् र ?, अहिले त त्यो सबै हराउँदै गयो,’ उहाँले भन्नुभयो,‘कस्ता थिए ती दिन, अहिले त आफू पनि बुढो भैयो, उतिबेलाका दाँवली पनि अहिले कता–कता छन् ?, कोहीँ बितिसके, अहिले त त्यही पुरानो कुरा सम्झेर चित्त बुझाउनबाहेक केही गर्न सकिँदैन ।’
भाजवीरले जिल्ला सदरमुकाम बागलुङ बजार आउजाउ गर्न दुई साता लागेको सुनाउँदै तत्कालीन समयमा पश्चिम बागलुङका जनताले निकै दुःख पाएका छन् भन्नुभयो। ‘कागज पत्रको काम गर्न बागलुङ जानुपथ्र्यो, उतिबेला गाडीको बाटो आएकै थिएन, हिँड्दै जानुपथ्र्यो, यहाँबाट हिँडेर बागलुङ पुग्दा सात दिन, फर्किंदा सात दिन लाग्थ्यो, बाटोमा चोर लाग्ने निकै डर पनि हुन्थ्यो, आइमाई केटाकेटीलाई झन् धेरै समस्या हुन्थ्यो,’ उहाँले भन्नुभयो,‘अहिले त बिहान सररर गाडीमा गइन्छ उस्तै पर्ने हो भने साँझ आँटो खान घरै आइन्छ, यस्तो सुविस्ता होला भन्ने त कस्ले सोचेको थियो होला र ?’
करिब ढेड दशक अगाडिसम्म निसीखोलामा मोटरबाटोले जोडिएको थिएन । जब राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोड्यो, त्यसपछि निसी क्षेत्रमा विकासका ढोकाहरू खुलेका थिए । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा पर्न एक सय ४२ किलोमिटर सडक करिब ४५ किलोमिटर निसीखोलामै पनि निसीखोलााई यस सडकले विकाससँग जोडेको हो ।













प्रतिक्रिया दिनुहोस्