काठमाडौं, २६ भदौ । नेपाली पुस्तक बजारमा आउँदै गरेको नयाँ पुस्तक ‘छोरीले जन्माएका आमाहरू’आफ्नो पृथक् पहिचान र फरक स्वादका लागि चर्चामा छ । यस पुस्तकमा नेपालबाहिर हाल विभिन्न अमेरिकी राज्यहरूमा बसोबास गरिरहेका बाह्रजना छोरीले लेखेका आमाहरूको जीवनकथा समेटिएको छ ।
सतहमा बाह्रजना आमाको जीवनगाथा भए पनि पुस्तकले उहिले र अहिलेको समय–अन्तरालमा महिलाले भोग्नु परेका, भोगेका र भोगिरहेका विविध सामाजिक–सांस्कृतिक–राजनीतिक–आर्थिक पहलुहरूबारे रोचक ढंगले बोलेको छ । पुस्तकमा आमाहरूको जीवनका विभिन्न पक्षहरूको चर्चा गरिएको छ ।
यसमा ती आमाहरूको व्यक्तिगत जीवनी छ, उहाँहरू बाँचेको समाजको कथा छ, त्यतिबेलाका महिला–पुरुष अवस्थाको चित्रण छ, आमाछोरी सम्बन्धको संस्मरण छ र हजुरआमा–आमा–छोरी–नातिनीहरूको अन्तरपुस्ता नालीबेली पनि छ ।
मूलतः यो पुस्तक ‘हर–स्टोरी डक्युमेन्टेसन’ को एक प्रयास हो, आमाहरूको जीवनी र महिलासम्बन्धी इतिहास लेखनको सम्मिश्रण हो र महिलाहरूको योगदानलाई सम्मान गर्दै त्यसलाई अजर–अमर तुल्याउने अभियानको एक अंश पनि हो ।
यसका साथै, सरल भाषा र रोचक शैलीमा लेखिएका उल्लिखित सत्य–कथाहरू निजी र सार्वजनिक ‘स्पेस’ मा आमाहरूले गर्दै आएका गोचर र अगोचर संघर्ष, श्रम र योगदान देखाउने आँखीझ्याल हुन् । अक्षर क्रियसन्सको प्रकाशनमा यही भदौ २७ गते सोमबार विमोचनसहित बजारमा आउँदै गरेको करिब ४५० पृष्ठ लामो यस पुस्तकको मूल्य ६५०/– रुपैयाँ छ ।













प्रतिक्रिया दिनुहोस्