जनता टाइम्स

३० भाद्र २०७९, बिहीबार १५:१०

महोत्तरीबाट सिफारिसमा पर्ने अधिकांश बहालवाला सांसद, मतदाताको चाहना नयाँ अनुहार


महोत्तरी, ३० भदौ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पार्टीको सिफारिसमा पर्ने अधिकांश बहालवाला सांसद रहेका छन् । बर्षौदेखि एकै ठाउँमा जित्दै आएका नेतालाई पार्टीले पुनः सिफारिस गरेपछि उनीहरूले पाँच वर्षमा के के गरे भनेर लेखाजोखा हुन थालेको छ । देखावटी लोकप्रियताका लागि कतिपय सांसदले आफ्नो नाम जिल्लाका चार वटै क्षेत्रबाट सिफारिस गर्न समेत लगाउनुभएको छ ।

मधेस प्रदेशका संघीय मामिला सूचना सञ्चार तथा गृहमन्त्री भरतप्रसाद साह जिल्लाका चारै क्षेत्रवाट सिफारिसमा परेका छन् । अघिल्लो निर्वाचनमा क्षेत्र १ (ख) बाट प्रदेशसभामा विजयी भएका साहले यस पटक संघ ताकेका छन् । साह मात्रै टिकटको दाउपेचमा लागेका छैनन् पूर्व उपप्रधानमन्त्री समेत भइसकेका सरद सिंह भण्डारीको नाम समेत महोत्तरीको तीन वटा क्षेत्रबाट सिफारिस भएको छ ।

२०७४ सालको निर्वाचनमा क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभाका सांसद बनेका भण्डारी पुनः सोही क्षेत्रबाट लड्ने पक्का भए पनि नाम भने अन्य क्षेत्रबाट पनि सिफारिसमा परेको छ । मधेस प्रदेशबाट सबैभन्दा बढी पटक मन्त्री बनेका भण्डारीले पटक–पटक विभिन्न मन्त्रालय सम्हालिसकेका छन् । भण्डारी जस्तै पार्टीबाट सिफरिसमा परेका गिरिराजमणि पोखरेल, महन्थ ठाकुरले पटक–पटक मन्त्री बनेर सत्ताको स्वाद चाखिसकेका छन् ।

नेताहरू चुनावमुखी भएको आरोप

अधिकांश नेता चुनावमुखी मात्रै भएको काम केही नगरेको आरोप लाग्दै आएको छ । यसकारण महोत्तरीका मतदाताले पुराना नेताहरूलाई फरक ढंगले मुल्यांकन गर्ने धेरैको अनुमान छ । ‘जनता नयाँ अनुहार हेर्न चाहान्छन् भन्ने स्थानीय तहको निर्वाचनले पुष्टि गरेको छ,’ स्थानीय देवध्वज बस्नेतले भन्नुभयो । माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले महोत्तरीबाट ०६४ सालदेखि लगातार जित्दै आउनुभएको छ ।

करिब दुई दशकमा पोखरेल स्वस्थ्यमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री बनिसक्नुभयो । तर, उहाँ जुन मन्त्री बने पनि जिल्लाको शैक्षिक, भौतिक र आर्थिक क्षेत्रमा खान परिवर्तन सर्वसाधारणले महसुस गर्न नसकेको आरोप छ । पोखरेलले मात्र यस्तो आरोप खेपिरहनुभएको भने छैन । भण्डारीप्रतिको टिकाटिप्पणी र गुनासा पनि बाक्लै सुनिन्छ ।

भौतिक योजना तथा पुर्वाधार मन्त्री बनिसकेका भण्डारीले अन्य विकास त टाढाको बिषय पालिकाहरूको कार्यालयमा समेत पक्की सडक पुर्याउन नसकेको आरोप छ । अहिले पनि महोत्तरी रौतहटपछि कम साक्षर जिल्लामा पर्छ । ‘टिकट जो सुकैले लिएर आउन तर यस पालि भोट पार्टीगतभन्दा व्यक्ति हेरिन्छ,’ बर्दिबास नगरपालिकाका राज स्याङ्तानले भन्नुभयो ।

महोत्तरीमा लोसपा, जसपा, कांग्रेस, माओवादी केन्द्र, एमालेमा जनप्रतिनिधिसँगै युवा नेताहरूको पनि नाम सिफारिस गरेको हुनाले टिकटमा पूराना जनप्रतिनिधिलाई भन्दा नयाँलाई अवसर दिनुपर्ने नेताहरूको तर्क छ । नेकपा एमालेका नेता चन्द्रबहादुर बिकले पुरानाले नयाँ अनुहारलाई अवसर दिनुपर्ने तर्क गर्दै पार्टीले यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।