जनता टाइम्स

१४ श्रावण २०७६, मंगलवार १५:१५

विद्यार्थी टिकाउन र जङ्कफुडको प्रयोगलाई घटाउन दिवा खाजा


पाल्पा, साउन १४

पाल्पाको रम्भा गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि निःशुल्क दिवा खाजा कार्यक्रम सञ्चालन गरेको छ । सामुदायिक विद्यालयमा विद्यार्थी भित्र्याउने र टिकाउने उद्देश्यका साथ गाउँपालिकाले दिवा खाजा कार्यक्रम ल्याएको हो । दिवा खाजाको व्यवस्था गरिएपछि नियमितरुपमा विद्यार्थी विद्यालय आउन थालेका छन् । बालविकास कक्षादेखि ५ कक्षासम्म अध्ययनरत एक हजार ९०० विद्यार्थीलाई निःशुुल्क दिवा खाजाको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।

“सामुदायिक विद्यालयमा विद्यार्थी नियमित विद्यालय आउने बानी बसाल्न, शैक्षिक गुणस्तर वृद्धि र जङ्कफुड (बाहिरी खानेकुरा) को प्रयोगलाई घटाउन दिवा खाजा कार्यक्रम ल्याएका हौँ, विद्यालयमै आर्गानिक खाजा पकाएर खुवाउन सबै विद्यालयलाई अनुरोध गरिएको छ”, अध्यक्ष भण्डारीले भन्नुभयो । दिवा खाजा कार्यक्रमलाई व्यवस्थितरुपमा सञ्चालन गर्न विद्यालयमै बनाएर खाजा खुवाउने गरिएको छ ।

हप्तामा शुक्रबारबाहेक पाँचै दिन फरकफरक खालको खाजा विद्यालयमा नै बनाएर खुवाउने गरेको रम्भा माविका प्रधानाध्यापक तुल्सीराम अर्यालले बताउनुभयो । “विद्यालयका सहयोगी, शिक्षक मिलेर खिर, सुजी, फलफूल, चना भुजा, अण्डा बनाएर खुवाउने गरेका छौँ, दिवा खाजाले विद्यार्थीमा राम्रो प्रभाव पारेको छ”, उहाँले भन्नुभयो । यस विद्यालयमा कक्षा नर्सरीदेखि ५ सम्म २७ जना विद्यार्थी छन् । दिवा खाजाको प्रभावले नियमित विद्यालयमा उपस्थित हुने गरेका छन् ।

चण्डेश्वरी माविमा भने अभिभावकले नै पालैपालो खाजा बनाएर खुवाउने व्यवस्था गरेको छ । पालो पालो गरी अभिभावकले विद्यालयमा गएर खाजा बनाउने र विद्यार्थीलाई खुवाउने गरेको अभिभावक खुमीसरा कामुले बताउनुभयो । “आइतबारदेखि बिहीबारसम्मको खाजा के खुवाउने भनेर दैनिक कार्यतालिका र अभिभावकको पालो विद्यालयले बनाइदिएको छ, सोहीअनुसार गएर समूहमा पकाएर विद्यार्थीलाई खुवाउने गरिएको छ”, उहाँले भन्नुभयो ।

गाउँपालिकाभित्रका ३७ सामुदायिक विद्यालयमध्ये आठ मावि, आठ आधारभूत र २१ प्रावि छन् । एउटा विद्यालय कक्षा ६ बाट सञ्चालन भएकाले ती वाहेक ३६ विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको छ । जङ्कफुडको प्रयोग बढ्दै जाँदा गाउँघरमा पाइने नेपाली मौलिक र अर्गानिक खानेकुरा हराउँदै गएका छन् । बजारमा आएका जङ्कफुडका कारण बालबालिकाले कोदो/फापरको रोटी र भुटेका मकैको स्वाद भुलिसकेका छन् । यो कार्यक्रमले जङ्कफुडको प्रयोग कम गर्नमा सघाउ पुग्नेछ ।

गाउँपालिकाले यो कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७६/०७७ मारु १५ लाख वजेट विनियोजन गरेको छ । गत वर्ष रु १२ लाख वजेट विनियोजन गरेको थियो । शरीरका लागि आवश्यकपर्ने पौष्टिक तत्व भिटामिन, मिनरल, फाइबर आदि नगन्यमात्रामा हुने जङ्कफुड अस्वस्थकर हुने भएकाले गाउँपालिकाले बालबालिकालाई यसबाट टाढा राख्न दिवा खाज कार्यक्रम ल्याएको बताइएको छ । यसैगरी गाउँपालिकाले यसै आर्थिक वर्षदेखि सामुदायिक विद्यालयमा बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीका लागि रु १० हजारसम्म निःशुल्क दुर्घटना बीमा कार्यक्रम पनि ल्याएको छ ।

यसका लागि यो वर्ष साढे दुई लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । यो कार्यक्रम अन्तर्गत प्रति विद्यार्थी रु १०० दर्ता रकम उठाइएको छ । विसं २०७७ को असार मसान्तभित्र पूर्ण सरसफाइयुक्त गाउँपालिका घोषणा गर्न रु छ लाख, शून्य होमडेलभरी घोषणातर्फ रु १० लाख, बालमैत्री गाउँपालिका घोषणा गर्न विभिन्न शीर्षकमा करीब रु १५ लाख, पोषणयुक्त कार्यक्रममा रु तीन लाख रकम विनियोजन गरिएको छ । टुकीरहित उज्यालो गाउँपालिकाका लागि रु १५ लाख, खरको छानोमुक्त गाउँपालिकाका लागि रु ७० लाख बजेट विनियोजन गरिएको सो गाउँपालिकाले जनाएको छ ।