जनता टाइम्स

७ आश्विन २०७९, शुक्रबार १०:५०

नागरिकता कागजको खोस्टो होइन, विहे गरेर ल्याएको भोलिपल्टै दिनुहुन्न : कमल थापा


मकवानपुर, असोज ७ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता कागजको खोस्टो मात्र नभएकोले विवाह गरेर ल्याएको भोलिपल्टै नागरिकता दिने कुरामा सहमत हुन नसकिने प्रष्ट पार्नुभएको छ ।

चुनाव केन्द्रित कार्यक्रममा गृहजिल्ला मकवानपुरमा रनुभएका थापाले बकैया गाउँ पालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो, ‘प्रत्येक नेपालीले नागरिकता पाउनुपर्छ । जन्मशिद्ध नागरिकका सन्तानले सहजरुपमा नागरिकता पाउनुपर्छ । तर विवाह गरेर ल्याएको भोलिपल्ट विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयकलाई स्विकार गर्न सकिँदैन् ।’

राजनीतिक दलहरु विशेषगरी युवाहरु राजनीतिक स्वार्थको गोटि बन्नु नहुने उहाँको भनाइ छ । थापाले सरकार र दलहरुको मर्यादाहिन व्यवहारको कारण संविधानले सकारात्मक परिवर्तनको दिन नसकेको टिप्पणी गर्दै लोकतन्त्रको आवरणमा ब्रम्हलुट र सर्वसत्तावादी प्रवृत्ति हावी भएको बताउनु भयो ।

संविधान पतन हुनबाट जोगाउन दलहरुको व्यवहारमा सुधार अनिवार्य भएको भन्दै थापाले धर्मनिरपेक्षता र प्रदेश तहको खारेजी आवश्यक भएको समेत बताउनु भयो ।