जनता टाइम्स

७ आश्विन २०७९, शुक्रबार २०:१९

नुवाकोटको गुर्जेमा बडा दशै महाभिडन्त रेस्लिङ हुने


काठमाडौं, असोज ७ ।  नेपाल रिङ रेस्लिङ संघ नुवाकोट जिल्ला समितिले अर्को साता बडा दशै महाभिडन्त रिङ रेस्लिङ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

शिवपुरी गाँउपालिकाको सह आयोजनामा असोज १५ गते नुवाकोटको गुर्जेस्थित कालिका माविमा रेलिङ प्रतियोगिता आयोजना हुने नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी जानकारी दिनुभयो ।

झण्डै १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितामा चर्चित ५ विधामा प्रतिस्पर्धा गराइने बताइएको छ । हेभि वेट विधाको विजेताले १ लाख ५० हजार, ट्रिपल थ्रेट विजेताले ७५ हजार, ट्याग टिम विजेताले ८५ हजार, लाइटवेट (महिला) विजेताले ६५ हजार, लाइटवेट (पुरुष) विजेताले ५५ हजार रुपैयाँसहित बेल्ट प्राप्त गर्नेछन् ।

प्रतियोगितामा नुवाकोटे टाइगर, डेभिड, चट्टान, साइन, टुप्पी ग्याङ, जोन, सिजे वल्र्ड, बाका, तन्नु, आकृति, स्पाइडरम्यानस्, एक्स हिरो, सुजल, किङ रोवर्टलगायतका नेपालका प्रख्यात रेस्लरहरुको भिडन्त हुने जनाइएको छ । प्रतियोगिता असोज १५ गते दिउँसो १ बजे सुरु हुने बताइएको छ ।

शिवपुरी गाँउपालिकाका अध्यक्ष गोविन्द प्रसाद थपलियाले रेस्लिङले पयर्टन प्रबद्धनमा सहयोग पुग्ने भएकाले पालिकाले सहयोग गरेको बताउनु भयो। ‘यो खेलले यस क्षेत्रको मात्र नाई देशकै पयर्टन व्यववसाय माथि उकास्ने विश्वास लिएका छौं, उहाँले भन्नुभयो, ‘यसले अन्तर्राष्ट्रिय स्तरमा देशलाई चिनाउनेछ ।’

शिवपुरी गाँउपालिका वडा नं ६ ले पनि प्रतियोगितामा आर्थिक सहयोग गरेको छ । पत्रकार सम्मेलनमा शिवपुरी गाँउपालिकाका उपाध्यक्ष वीरबहादुर तामाङ, वडा नं ६ का अध्यक्ष विष्णु श्रेष्ठ, कालिका माविका प्रधानध्यापक कृष्णकुमार श्रेष्ठलगायतको उपस्थिति थियो ।