जनता टाइम्स

८ आश्विन २०७९, शनिबार १४:४१

सहयोगका भरमा चलेका वृद्धाश्रम


मिला दरै/ डुम्रे । बेवारिसे तथा आफन्त नभएका ज्येष्ठ नागरिकका लागि वृद्धाश्रम आश्रयस्थल बनेको छ । वृद्धाश्रम सञ्चालन गर्न भने समस्या छ । तनहुँमा देवघाटधाम वृद्धाश्रमबाहेक अन्य दुई वटा वृद्धाश्रम छन् ।

जिल्लामा सञ्चालित आश्रम व्यक्तिगत सहयोगका भरमा चलेका छन् । तनहुँको व्यास नगरपालिका–५ चापाघाटमा महिलाद्वारा सञ्चालित वेदव्यास ज्येष्ठ नागरिक आश्रम र व्यास–५ बेनीपाटनस्थित राष्ट्रिय परोपकार महासङ्घ नेपालद्वारा सञ्चालित ज्येष्ठ नागरिक चौतारी वृद्धाश्रम सञ्चालित छन् ।

यी आश्रमले श्रीमदभागवत महायज्ञ लगाएर भवन निर्माण गरी ज्येष्ठ नागरिकका लागि आश्रयस्थल निर्माण गरिएको हो । ज्येष्ठ नागरिकलाई आवासको व्यवस्था भए पनि आश्रमको दैनिक सञ्चालनमा भने समस्या रहेको आश्रम सञ्चालक समिति बताउँछन् । यी दुवै आश्रम व्यक्तिगत सहयोगका भरमा सञ्चालन भइरहेका छन् ।

केहीले जन्मदिन, बाबुआमाको सम्झना लगायतका अवसरमा आश्रममा गरिएको सहयोगले आश्रम सञ्चालन भएको वेदव्यास ज्येष्ठ नागरिक आश्रमका सचिव निर्मला मल्लले बताउनुभयो । महिलाद्वारा सञ्चालित आश्रमका लागि गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङमार्फत प्राप्त बजेटबाट भवन निर्माण गरिएको बताउनुभयो ।

विसं २०७० बाट सञ्चालनमा आएको वेदव्यास आश्रममा हाल छ जना ज्येष्ठ नागरिकले आश्रय लिइरहेको उहाँले बताउनुभयो । “आश्रमको भवन बनाइको छ । तर अझै ज्येष्ठ नागरिकका लागि आवश्यक सेवासुविधायुक्त बनाउन सकेका छैनौँ”, उहाँ भन्नुभयो, “सहयोगदाताको सहयोग पाएमा अझै सहज बनाउने लक्ष्य लिएका छौँ ।”

घरवारविहीन भएका ज्येष्ठ नागरिकका लागि आश्रयस्थल बनाउनुपर्छ भन्ने उद्देश्यले राष्ट्रिय परोपकार महासङ्घ नेपालका संस्थापक अध्यक्ष गुरुदेव भागवत भाष्कर श्री कमलनयन गौतमको परिकल्पमा परोपकार आश्रम निर्माण गरिएको महासङ्घ नेपालका जिल्ला अध्यक्ष तारानाथ घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार विसं २०६८ मङ्सिर १० गतेदेखि परोपकार ज्येष्ठ नागरिक चौतारी वृद्धाश्रम सञ्चालनमा आएको हो । विसं २०७१ कात्तिक ११ देखि १८ गतेसम्म श्रीमद् भागवत महायज्ञ लगाएर आश्रम भवन निर्माणको खर्च व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार आश्रममा कामदार दुई जनासहित १० जना ज्येष्ठ नागरिकले आश्रय लिइरहेका छन् ।

यस आश्रमको भवन विस्तार तथा व्यवस्थापनका लागि विसं २०७६ असार २८ गते व्यास नगरपालिकाबाट रु पाँच लाख, गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत आव २०७५/७६ मा रु दुई लाख ५० हजार सहयोग प्राप्त भएको जानकारी दिनुभयो । त्यस्तै तनहुँ जलविद्युत् परियोजनामार्फत आव २०७७/७८ मा रु सात लाख र पूर्वाधार कार्यक्रमअन्तर्गत गण्डकी प्रदेशबाट रु १० लाख सहयोग प्राप्त भएको छ ।

घरमा एक्लै भएको महसुस भएर आश्रममा आश्रय लिन आइपुगेका व्यास नगरपालिका–११ तनहुँसुर धरमपानीकी विमला भट्टराई भन्नुहुन्छ, “यहाँ सबै उस्तैउस्तै छौँ गफ मिल्छ । भजन गाउँछौँ, नाच्छौँ । यहाँ बस्दा खुसी लाग्छ ।” आफ्ना दुई छोरीले आश्रममा नबस्न आग्रह गर्दा पनि यही रमाइलो लागेर आएको उहाँ बताउनुहुन्छ ।

वैदेशिक रोजगारमा पुगेका युवाबाट समेत यहाँका आश्रमलाई सहयोग प्राप्त हुने गरेको छ । वृद्धावस्थामा आश्रयस्थल बनेको वृद्धाश्रममा हुने यस्ता समस्या समाधान गर्नका लागि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारको हातेमालोको आवश्यकता रहेको छ । (रासस)