बारा, १० असोज । वन क्षेत्रबाट विद्युत प्रशारणको लाइन निर्माण हुँदा वन विनास भयो भनेर धेरैले चिन्त र चासो व्यक्त गर्ने गरेको पाइएको छ । तर, बाराको निजगढ नगरपालिका–७ स्थित जनहित सामुदायिक वन उपभोक्ता समुहले भने बिजुलीको ट्रान्समिसन पोल निर्माण गर्दा फडानी भएको क्षेत्रमा वृक्षारोपण र इको पार्क निर्माण गरेर वन संरक्षणको उदाहरण पेस गरेको छ ।
इको पार्क निर्माण र वृक्षारोपणसँगै २ वर्षअघि उजाडिएको सो क्षेत्रको वनमा यतिबेला हरियाली फर्किएको छ । हेटौडा– ढल्केबगर ४०० केभी प्रसारण लाइन निर्माण गर्दा नेपाल विद्युत् प्राधिकरणले फडानी गरेको वन क्षेत्रमा डिभिजन वनकार्यालय बाराको सहयोगमा जनहित सामुदायिक वन समूहले इको पार्क निर्माण र डाले घाँसका बिरुवा रोपेर वन संरक्षण गर्दै आएको हो ।
प्राधिकरणको हाइटेन्सन लाइनमुनि परेका रुख फडानी गरेपछि सो क्षेत्र उजाडिएको थियो । प्रसारण लाइन निर्माण गर्ने क्रममा वन समूहको ८ हजार हेक्टर क्षेत्रबाट करिब १४ हजार क्वीफिट काठ बराबर १ हजार ६ हरिया रुख काटिएका थिए । वन समूहको ४ किमी लम्बाइ र ५० मिटर चौडाइ क्षेत्रका सबै रुख र बुट्यान पनि काटिएको समूहकी अध्यक्ष चन्द्रिका पुलामी मगरले बताउनुभयो ।
‘लहलहाउँदा रुखहरू काटिएपछि वन उजाड बनेको थियो,’ अध्यक्ष पुलामीले भन्नुभयो,‘तर, उपभोक्ताको प्रयासमा वृक्षारोपण गरिएपछि वनमा फेरि हरियाली फर्किँदै छ ।’ समूहले डिभिजन वन कार्यालयको सहयोगमा हाइटेन्सन लाइनमुनिको क्षेत्रमा ६ महिनाअघि मलेसियन साल, बडहर, अर्जुन फूल, सरिफा, डाले घाँसलगायत १८ हजार बिरुवा रोपेको हो ।
‘नयाँ रोपिएका बिरुवाहरु पनि हुर्कँदैछन,’ समूहकी अध्यक्ष पुलामीले भन्नुभयो, २/४ वर्षपछि पुरानै हैसियतमा वन फर्किनेछ ।’ वृक्षारोपण क्षेत्रको संरक्षण गरेर हाइटेन्सनमुनिको जमिनलाई हराभरा पार्ने वन समुहको योजना रहेको पनि उनले सुनाइन् । १० हेक्टर क्षेत्रको डाले घाँसको संरक्षणमा भने वन उपभोक्ता आफैँ सक्रिय हुँदै आएका छन् । समूहका ७० जना पशुपालक किसान उपभोक्ताहरूले घाँसको संरक्षण र प्रयोग गर्दै आएका हुन् ।
हाइटेन्सनमुनि खाली जमिनमा निर्माण गरिएको इको पार्कभित्र पनि आँप, लिचीजस्ता फल र विभिन्न रंगीचङ्गी फूलका बिरुवा रोपिएका छन् । करिब डेढ हेक्टर क्षेत्रमा फैलिएको सो पार्कमा बुद्धको आकर्षक मूर्तिसँगै खानेपानीको धारा, शौचालय र पक्की टहराको पनि निर्माण गरिएको छ । पार्कको सुरक्षाको लागि फलामे तारले घेराबारा पनि गरिएको छ ।
‘घना जंगलभित्रको पार्क मनमोहक देखिन्छ, निजगढ नगरपालिका–७ का वडा अध्यक्ष टेकबहादुर लामाले भन्नुभयो,‘केही थप पूर्वाधार निर्माण गरेर प्रचार प्रसार गर्ने हो भने पार्कलाई आन्तरिक पर्यटकहरूको गन्तव्य बनाउन सकिन्छ ।’ उहाँले थप व्यवस्थापन गरेर पार्कलाई पिकनिक स्पोटको रुपमा विकास गर्न सकिने बताउनुभयो । वन संरक्षण र पर्यटकीय क्षेत्रको विकासको लागि वडा कार्यालय सक्दो सहयोग गर्न तयार रहेको पनि बताउनुभयो ।
डिभिजन वन कार्यालयबाट हस्तान्तरण गरेर लिएदेखि नै उपभोक्ताहरू वन संरक्षणमा लागि पर्दै आएको समूहका सहसचिव चन्द्र न्यौपानेले बताउनुभयो । ‘आगलागी, चरिचरण, काठको चोरी तस्करी र चोरी सिकारी नियन्त्रणको लागि उपभोक्ता निरन्तर सक्रिय छन्,’ उहाँले भन्नुभयो,‘वनमा आगोको झिल्को मात्र देखियोस् वा कतै बन्दुक पड्किएको आवाज आयो भने पनि उपभोक्ताहरू घरघरबाट निस्किएर पुग्छन् ।’
सहसचिव न्यौपानेले सबै उपभोक्ताको सहभागितामा वन संरक्षणको प्रयासमा सफलता मिलेको सुनाउनुभयो । हरेक वर्ष हिउँदयाममा उपभोक्ताहरूलाई परिचालन गरेर झाडी र पतकर सफाइ गरिँदै आएको र डढेलोको रोकथाम भएको पनि उहाँको भनाइ छ । झाडी सफाइ र नाला निर्माणपछि वन क्षेत्रभित्र २ वर्षदेखि आगलागी हुन नपाएको उहाँले जानकारी दिनुभयो ।
अघिल्ला वर्षहरूमा छिमेकी सामुदायिक वनहरूबाट सल्केको डढेलो फैलिएर वन विनास गरेपछि समूहले गत वर्ष सीमा क्षेत्रमा ३ किमी लामो नाला बनाएको थियो । डिभिजन वन कार्यालयले ०६५ सालमा १८८ हेक्टर वन क्षेत्र हस्तान्तरण गरेर समूहलाई दिएको हो । वन समूहमा हाल ४६० घरधुरी उपभोक्ता रहेका छन् । यसअघि बालकृष्ण दर्लामी र बासु तिमल्सिनाको नेतृत्वमा रहेको समुहको पछिल्लो २ कार्यकालमा भने पुलामीले नेतृत्व गर्दै आएका छन् ।
सव डिभिजन वन कार्यालय निजगढका वन अधिकृत रघुनाथ दास पनि वन संरक्षणमा जनहित वन समूहको सक्रियता सह्रानीय रहेको बताउनुभयो । उहाँले वन समूहले वृक्षारोपणसँगै डढेलो, चरिचरण तथा चोरी सिकारी नियन्त्रण जस्ता कार्यमा उत्कृष्ट कार्य गर्दै आएको बताउनुभयो । महिलाको नेतृत्वमा रहेको सो वन समूह वन संरक्षणको लागि बारा जिल्लामा उदाहरणीय रहेको अधिकृत दासले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्