जनता टाइम्स

१४ आश्विन २०७९, शुक्रबार १७:५८

ग्लोबल आईएमई बैंकले गर्यो कर्जा तथा निक्षेप सुरक्षण कोषसँग सम्झौता


काठमाडौं, १४ असोज । ग्लोबल आइएमई बैंक र कर्जा सुरक्षण कोषबीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा कोषको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उषा पौडल र ग्लोबल आइएमई बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतापत्रमा हस्ताक्षर भए सँगै ग्लोबल आइएमई बैंकले कृषि व्यवसायको लागि प्रवाह गरेको तीन करोड रुपैयाँसम्मको कर्जा कोषले संरक्षण गर्नेछ । तीन करोड सम्मको त्यस्तो कर्जा मध्ये एक करोड भन्दा माथीको कर्जाको हकमा भने बैंकले कोषको पूर्व स्वीकृति लिनु पर्ने हुन्छ ।

यस प्रकार सुरक्षण हुने कर्जाको सुरक्षण शुल्क बार्षिक ०.६ प्रतिशतमध्ये ५० प्रतिशत नेपाल सरकारले अनुदान वापत व्यहोर्ने र बाँकी ५० प्रतिशत मात्र दुई किस्तामा ग्लोबल आइएमई बैंकले कोषमा बुझाउनेछ । कोषमा सुरक्षित कृषि कर्जा ऋणीको मृत्यु वा प्राकृतिक प्रकोपबाट कृषि परियोजना नष्ट भएमा वा अन्य विभिन्न कारणबाट कर्जा असूली हुन नसकेमा बैंकले दाबी गर्न सक्ने र उक्त दाबीमा कोषले ८० प्रतिशत सम्म भुक्तानी गर्ने बताइएको छ ।