जनता टाइम्स

१५ आश्विन २०७९, शनिबार १७:०७

चेपाङ समुदायका विपन्न परिवारलाई देशैँ खर्च सहयोग


लमजुङ १५ असोज । लमजुङको दोर्दी गाउँपालिका–९ भीरकुनामा रहेका लोपोन्मुख चेपाङ समुदायलाई दोर्दी गाउँपालिकाद्वारा बडादशैँ मनाउनका लागि राहत वितरण गरेको छ । देशैँ मनाउन सहजताको लागी पालिकाले पालिकाभित्र रहेको तीन घर परिवारलाई १६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । पालिकाले प्रति सदस्य जनही एकरएक हजारका दरले आर्थिक सहयोग गरेको छ ।

आठ जना सदस्य रहेको जुनामाया चेपाङलाई आठ हजार, चार जना परिवार सदस्य रहेको फुलमाया चेपाङलाई चार हजार र तीन जना परिवार सदस्य रहेको कान्छिमायाँ चेपाङलाई भने एक हजार थपसहित चार हजार रुपैयाँ आर्थिक सहयोग सहयोग गरेको गाउपालिकाका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो ।

रकम हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष युवराज अधिकारीले सीमान्तकृत चेपाङ समुदाय आर्थिक अवस्था कमजोर भएकाले दशैँ मनाउन समस्या भएको र केही सहज होस् भन्ने उद्धेश्यले आर्थिक सहयोग गरेको बताउनुभयो ।

दशैँ शुरु भएको चार दिन हुँदा समेत दशैँ कसरी मनाउने अन्योलमा परेका आफूहरुले राहत पाएपछि रमाइलोसाथ मनाउन सकिने जुनुमायाँ चेपाङले बताउनुभयो । आम्दानीको श्रोत बलियो नभएको कारण चाडपर्व मनाउन मुस्किल हुँदै आएको बेलामा पालिकाले सहयोग गर्दा स्थानीय सरकार रहेको अनुभूति भएको कान्छिमाया चेपाङको भनाई छ ।

वर्षौँदेखि चुहिने घरमा दिन रात कटाउँदै आएका उहाँहरुलाई केही वर्षअघि गण्डकी प्रदेश सरकारले जनता आवास कार्यक्रम मार्फत घर बनाएको थियो । उहाँहरुलाई उक्त घरले बस्नलाई सहज हुँदै आए पनि आर्थिक अभावका कारण खान भने समस्या भइरहेको छ । हाल छिमेकीका खेतबारीमा काम गर्दै मुस्किलले जीवन निर्वाह गर्दै आउनुभएको छ ।