जनता टाइम्स

१७ आश्विन २०७९, सोमबार २२:३७

जनकपुरधाममा दुई करोडको लड्डु बिक्री


जनकपुरधाम, १७ असोज । मधेस प्रदेशको राजधानी जनकपुरधाम दसैँको महाअस्ष्टमीका दिन विभिन्न शक्तिपीठमा प्रसाद चढाउनका लागि करिब रु दुई करोडको लड्डु बिक्री भएको छ । जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले आज जनकपुरधाममा करिब ३५ हजार किलो लड्डु बिक्री भई रु दुई करोडको आर्थिक कारोबार भएको हुनसक्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘बजारमा फरक–फरक प्रकारका लड्डुको बिक्री भएको छ । त्यसमा रिफाइन घ्यूवाला लड्डु, शुद्ध घ्यूवाला लड्डु, मोतीचूरको लड्डु, महीनदाना लड्डु, गोंद लड्डु, मेवा लड्डु लगायत बिक्री भएको हो । यसबाहेक खीर कदम, केसर सन्देश, मेवा पैक, काजु बर्फीको पनि बिक्री भएको छ । यस हिसाबले हेर्ने हो भने करिब रु दुई करोडको लड्डु बिक्री भएको अनुमान छ ।’

जनकपुरधाम मुख्य बजार क्षेत्रमा रहेको दुई सयभन्दा बढी मिठाई पसलबाट मिठाई बिक्री भएको हो । हंसराज मिठाई पसलका सञ्चालक हंसराजले महाअष्टमीका दिन माता राजदेवीलाई प्रसाद चढाउनका लागि अधिकांशले लड्डु खरिद गरेको बताउनुभयो । बजारमा आइतबार साँझदेखि नै मिठाई पसलेहरू लड्डु बनाउन व्यस्त देखिएका थिए भने आइतबार रातिदेखि ग्राहकको भीड पनि अत्यधिक बढेको थियो ।

अर्कोतर्फ बजार अनुगमनको अभावले अखाद्य सामग्रीको प्रयोग गरी बनाइएका लड्डुहरु पनि अत्यधिक मात्रामा बिक्री भएको उपभोक्ताहरुले बताएका छन् । बजारमा सानादेखि ठूला मिठाई पसल सञ्चालन गर्ने पसलेहरुले अखाद्य सामग्रीको प्रयोग गरी बनाएका मिठाई सेवनका कारण मानव स्वास्थ्यमाथि गम्भीर प्रभाव पार्नसक्ने स्वास्थ्यकर्मीहरूले जनाएका छन् । सजकता अपनाएर किन्न र खान स्वास्थ्यकर्मीले सुझाव समेत दिएका छन् ।