जनता टाइम्स

२१ आश्विन २०७९, शुक्रबार १६:५०

सप्तरीमा ६ हजार मतदाता थप


सप्तरी, २१ असोज । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सप्तरीमा पाँच हजार नौ सय २९ मतदाता थपिएका छन् । आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएअनुसार दुई हजार पाँच सय ३९ महिला र तीन हजार तीन सय ९० मतदाता थपिएका हुन् । अब प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पूरा भएका चार लाख १८ हजार तीन सय ७४ मतदाताले सप्तरीमा मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मतदाता सूचीमा नाम दर्ता भएका मतदातामध्ये दुई लाख १७ हजार दुई सय ८२ पुरुष, दुई लाख एक हजार ७१ महिला र २१ जना अन्य रहेको जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले बताउनुभयो । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लाका १८ स्थानीय तहमा चार लाख १२ हजार चार सय ४५ मतदाता थिए । जस्मा महिला एक लाख ९८ हजार पाँच सय ३२, पुरुष दुई लाख १३ हजार आठ सय ९२ र २१ अन्य थिए ।

निर्वाचन आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पनि निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पुगेर मतदाता सूचीमा नाम भएका मतदातालाई मतदानमा सहभागी हुन पाउने व्यवस्था गरेको थियो । त्यसअघिका निर्वाचनमा निर्वाचनको मिति घोषणा भएको दिनसम्म १८ वर्ष पूरा भएका नागरिकलाई मात्र मतदानको व्यवस्था गरिँदै आएको थियो ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी उमेश यादवका अनुसार सप्तरीमा सबैभन्दा बढी निर्वाचन क्षेत्र नं १ मा ५८ हजार दुई सय २९ पुरुष, ५४ हजार नौ सय ५८ महिला र आठ अन्य गरी एक लाख १३ हजार एक सय ९५ मतदाता छन् । प्रदेशसभा १ (क) मा ३० हजार दुई सय ८४ पुरुष, ३० हजार चार सय ८५ महिला र आठ अन्य गरी ६० हजार सात सय ७७ मतादाता छन् । प्रदेश १ (ख) मा २७ हजार नौ सय ४५ पुरुष र २४ हजार चार सय ७३ महिला गरी ५२ हजार चार सय १८ मतदाता छन् ।

प्रतिनिधिसभा क्षेत्र नं २ मा ५१ हजार ३७ पुरुष, ४४ हजार तीन सय ५५ महिला र दुई अन्य गरी ९५ हजार तीन सय ९४ मतदाता रहेका छन् । प्रदेश २ (क) मा २६ हजार आठ सय २२ पुरुष, २३ हजार ९६ महिला गरी ४९ हजार नौ सय १८ मतदाता छन् । प्रदेश सभा २ (ख) २४ हजार दुई सय १५ पुरुष, २१ ह्जार दुई सय ५९ महिला र दुई अन्य गरी ४५ हजार चार सय ७६ मतदाता छन् ।

प्रतिनिधिसभा क्षेत्र नं ३ मा ५४ हजार आठ सय ३६ पुरुष, ५० हजार ५० महिला र ६ अन्य गरी एक लाख चार हजार आठ सय ९२ मतदाता छन् । प्रदेश ३ (क) मा २८ हजार ४४ पुरुष, २६ हजार दुई सय तीन महिला र तीन अन्य गरी ५४ हजार दुई ५० मतदाता छन् । प्रदेशसभा ३ (ख) २६ हजार सात सय ९२ पुरुष, २३ हजार आठ सय ४७ महिला र तीन अन्य गरी ५० हजार ६ सय ४२ मतदाता छन् ।

यसैगरी प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा ५३ हजार एक सय ८० पुरुष, ५१ हजार सात सय आठ महिला र पाँच अन्य गरी एक लाख चार हजार आठ सय ९३ मतदाता छन् । प्रदेश ४ (क) मा २७ हजार तीन सय २९ पुरुष, २८ हजार ४७ महिला र पाँच अन्य गरी ५५ हजार तीन सय ८१ मतदाता छन् । प्रदेशसभा ४ (ख) २५ हजार आठ सय ५१ पुरुष, २३ हजार ६ सय ६१ महिला गरी ४९ हजार पाँच सय १२ मतदाता छन् ।

स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएपछि आयोगले गत असार १ देखि मतदाता नामावली सङ्कलन सुरु गरेको थियो । सरकारले गत साउन १९ गते आगामी मङ्सिर ४ गतेका लागि देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्ने निर्णय गरेको थियो । निर्वाचनको मिति घोषणा भएसँगै आयोगले साउन २० गतेदेखि मतदाता नामावली सङ्कलनको काम स्थगन गरेको थियो । सप्तरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित चारवटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ को राजविराज–७ स्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको नवनिर्मित भवनमा राखिएको छ । यसैगरी निवार्चन क्षेत्र नं १ को सर्वोदय मावि कञ्चनरूपमा, क्षेत्र नं ३ को शम्भुनाथ नगरपालिका–७ को कार्यालय कठौना र क्षेत्र नं ४ को खडक नगरपालिकाको कार्यालय भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।