जनता टाइम्स

२१ आश्विन २०७९, शुक्रबार १८:१३

स्थानिय तहमा निर्वाचित कांग्रेसका वागी समर्थकहरुले प्रदेशसभामा पनि वागी उम्मेदवार उठाउने


महोत्तरी, २१ असोज । महोत्तरी क्षेत्र न. १ क मा स्थानिय निर्वाचनमा नेपाली कांग्रेसवाट वागी दिएर जितेका समुहले प्रदेशसभामा पनि उम्मेदवारी घोषणा गरेको छ । बर्दिवास नगरपालिकामा निर्वाचित प्रल्हाद क्षेत्री समुहले पार्टीले कारवाही फुकुवा नगरेको भन्दै स्वतन्त्र उम्मेदवारको रुपमा काङ्ग्रेसका पुर्व नगर सभापती युवराज पोखरेललाई अगाडि सारेको हो ।

यसअघि नेपाली काङ्ग्रेसले पार्टीबाट बिद्रोह गरेकाहरुलाई निर्वाचनमा सघाउन र निर्वाचनपछि कारवाही फुकुवा गर्ने निर्णय गरेको थियो । तर प्रल्हाद क्षेत्रीपक्षले गरेको निर्णयलाई लिएर पार्टीका केन्द्रिय सदस्यहरुले पुनः पार्टीका विरुद्ध बिद्रोहको संज्ञा दिएका छन् । ‘पार्टीले कारवाही फुकुवा गर्ने तयारी गर्दागर्दै वहाँहरुले हतार गर्नुभयो,’ केन्द्रिय सदस्य महेन्द्र कुमार राय यादवले भन्नुभयो,‘यो पनि पार्टीका विरुद्ध बिद्रोह नै हो ।’

कारवाही फुकुवाको लागी पटक–पटक अपिल गर्दा पनि अस्वीकार गरेको हुनाले बाध्य भएर उम्मेदवारलाई अगाडि सारिएको क्षेत्रीपक्षको दाबी छ । स्थानिय निर्वाचनमा जेब्रा चिन्हवाट निर्वाचित हुनुभएको प्रल्हाद क्षेत्रीले प्रदेशमा पनि जित्ने बिस्वास व्यक्त गर्नुभयो । ४ वटा वडा, उपमेयरसहित विजयी हुनुभएको क्षेत्रीले माओवादी केन्द्रलाई ५ हजार ८८७ अंक फराकिलो मतान्तरले पराजित गर्नुभएको थियो ।

माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएको राजु खड्काले ८ हजार ३२३ मत ल्याउनुभयो भने प्रल्हाद क्षेत्रीले १४ हजार २१० मत ल्याएर विजयी हुनुभएको थियो । तर यही मतलार्इ आधार मान्ने हो भने स्वतन्त्र उम्मेदवारको रुपमा अगाडी सारिनु भएका युवराज पोखरेल कमजोर उम्मेदवार भएको कतिपयको टिप्पणी छ । निर्वाचनअघि निक्कै राम्रो पहिचान बनाउनुभएको क्षेत्रीलाई माओवादी केन्द्र, एमाले, काङ्ग्रेस सबै दलहरुले सहयोग गरेका थिए ।

विशेषगरि काङ्ग्रेसबाट नै ठूलो सहयोग बटुल्नुभएको प्रल्हाद क्षेत्रीले स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित भएर स्वतन्त्र भन्दा पनि दलगत राजनीति गरेको भन्दै उहाँ प्रतिको अपेक्षा निक्कै कम भएको उहाँ निकट एक कार्यकर्ता बताउँनुहुन्छ । ‘जित्न कै लागी हो भने बलियो रणनीति बनाउनुपर्छ नत्र गाह्रो छ,’ उहाँले भन्नुभयो । क्षेत्री पक्षले प्रतिनिधिसभामा भने सर्तसहित कुनै पाटीलाई सहयोग गर्ने तयारी गरेको छ ।

गठबन्धनबाट छुट्टिएपछि जसपामा लक्ष्मी महतोको चर्चा छ । जसपा, माओवादी वा एमाले कसलाई सहयोग गर्ने भन्ने निर्णय भइनसकेको क्षेत्रीपक्षको भनाइ छ । तर नेपाली काङ्ग्रेस निकट नेताहरुले क्षेत्री पक्षले पुनः गल्ती गरे नेपाली काङ्ग्रेसको ढोका पुर्णरुपमा बन्द हुनसक्ने बताएका छन । यो बिषयमा जिल्ला सभापति नागेस्वर यादवसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । केन्द्रिय सदस्य महेन्द्र कुमार राय यादवले भने क्षेत्रीपक्षको यो निर्णय पार्टीको लागि पुनः बिद्रोह भएको बताउनुभयो ।