जनता टाइम्स

२२ आश्विन २०७९, शनिबार ११:२८

स्याङ्जामा एमालेले टुंग्यायो आफ्नो उम्मेदवार


काठमाडौं, २२ असोज । नेकपा एमाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि स्याङ्जामा आफ्ना उम्मेदवारहरूको टुंगो लगाएको छ । प्रतिनिधि सभाका लागि एमालेले स्याङ्जाबाट पुरानै अनुहार दोहोर्याएको छ । एमालेले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा नारायण मरासिनी र क्षेत्र नं २ मा पद्मा कुमारी अर्याललाई टिकट दिएको हो । मरासिनी पार्टीको प्रदेश कमिटी सचिवालय सदस्य हुनुहुन्छ भने उहाँले गत निर्वाचनमा नेपाली काँग्रेसका वर्तमान जिल्ला सभापति राजु थापालाई पराजित गर्नुभएको थियो ।

त्यस्तै स्याङ्गजा क्षेत्र नं २ बाट फेरि प्रतिनिधि सभाको टिकेट पाउनुभएको पूर्व मन्त्री समेत रहनुभएको पद्मा कुमारी अर्याल पार्टीको केन्द्रीय सचिव हुनुहुन्छ । उहाँले गत प्रतिनिधि सभाको चुनावमा नेपाली काँग्रेसका तत्कालीन उपसभापति एवं प्रभावशाली नेता गोपालमान श्रेष्ठलाई पराजित गर्नुभएको थियो । यसैगरी स्याङ्जाको क्षेत्र नं १ प्रदेश क मा मीन गुरुङ र ख मा सुधीर कुमार पौडेललाई उम्मेदवार बनाइएको छ ।

गुरूङ अघिल्लो निर्वाचनमा प्रदेश १ ख बाट निर्वाचित हुनुभएको थियो भने पौडेल आँधीखोला गाउँपालिकाका निवर्तमान अध्यक्ष हुनुहुहुन्छ । उहाँहरु दुबै पार्टीको गण्डकी प्रदेश कमिटीको सचिवालय सदस्य हो । त्यस्तै क्षेत्र नं २ को प्रदेश (क) मा मोहन रेग्मी र (ख) मा बुद्धिमान श्रेष्ठलाई उम्मेदवार बनाइएको छ । रेग्मी निवर्तमान प्रदेश सभा सदस्य एवं पार्टीको गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष हो ।

श्रेष्ठ पार्टीको प्रदेश कमिटी सचिवालय सदस्य हो भने उहाँ गत निर्वाचनमा चापाकोट नगरपालिकाको मेयर पदमा उपविजेता बन्नुभएको थियो । यता गठबन्धनले पनि स्यांजाका दुवै निर्वाचन क्षेत्रबाट प्रतिनिधि र प्रदेशसभाका लागि क्षेत्र तय गरेका छन्। गठबन्धनले स्याङ्गजा १ र २ बाट प्रतिनिधिसभाका लागि कांग्रेसको उम्मेदवार निर्णय गरेको छ। त्यस्तै प्रदेशसभाका लागि स्याङ्गजा निर्वाचन क्षेत्र एकबाट माओवादी केन्द्र र कांग्रेस तथा निर्वाचन क्षेत्र २ बाट समाजबादी र कांग्रेसको उम्मेदवार उठाउने सहमति गरेको छ ।