जनता टाइम्स

२३ आश्विन २०७९, आईतवार २१:०४

महोत्तरी क्षेत्र नम्बर १ (क) मा माओवादीद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता


महोत्तरी, २३ असोज । माओवादी केन्द्रबाट दुई जना चर्चित नेताहरूले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । विशेषगरी महोत्तरी क्षेत्र नम्बर १ (क) बाट राजन ढुङ्गानाले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो । सत्तागठबन्धनको भागबण्डाअनुसार यहाँ प्रतिनिधिसभा र प्रदेशसभाको लागी (ख) माओवादी केन्द्रको भागमा परेको छ । (क) मा माओवादी केन्द्रका राजन ढुङ्गानाले स्वतन्त्र मनोनयन दर्ता गरेसँगै निक्कै चर्चा सुरु भएको छ ।

गिरिराजमणि पोखरेल निकट मानिने नेता ढुङ्गानाको मनोनयन दर्तालाई लिएर समकक्षी उम्मेदवारसमेत तरङ्गीत बनेका छन् । अघिल्लो स्थानीय निर्वाचनमा वडामा समेत ढुङ्गाना अध्यक्षमा अत्यधिक मतले निर्वाचित हुनुभएको थियो । आफ्नो कार्यकालमा निक्कै कुशलता देखाउनुभएको ढुङ्गानाको चर्चा अहिले पनि हुने गर्छ । वडा नम्बर ३ को भौतिक विकाशदेखि जनताको आधारभूत आवश्यकतामा ढुङ्गानाले पुर्याएको योगदान अहिले पनि वडाभरि चर्चा छ ।

अध्यक्ष हुँदा नै हेभीवेट बनाएका ढुङ्गानाले स्थानीय तहको निर्वाचनमा नगरप्रमुखमा प्रतिस्पर्धा गर्ने चाहनासमेत व्यक्त गर्नुभएको थियो । तर अर्का नेता राजु खड्काले टिकट पाएपछि उहाँ ब्याक हुनुभयो । स्वतन्त्र उम्मेदवारी दर्ता गरे पनि ढुङ्गाना अन्य उम्मेदवार भन्दा मुख्य प्रतिस्पर्धी मानिनुभएको छ । प्रदेशमा मुख्य प्रतिस्पर्धी मानिनुभएको नेकपा एमालेकी शारदादेवी थापा र गठबन्धनका साझा उम्मेदवार सुरेश राउतको लागिसमेत बलियो प्रतिस्पर्धी भएको नेताहरू बताउँछन् ।