जनता टाइम्स

२५ आश्विन २०७९, मंगलवार १४:५१

महोत्तरी–१ मा गठबन्धनबाटै दुई उम्मेदवार, दुवैको दाबी– आफू आधिकारिक


महोत्तरी, २५ असोज । महोत्तरी–१ मा गठबन्धनबाटै दुई जनाको उम्मेदवारी परेको छ । क्षेत्र नम्बर १ ‘क’ मा गठबन्धनभित्रको नेकपा एसबाट सुरेश राउत र लोसपाका पितम्बर महतोले उम्मेदवारी दर्ता गर्नुभएको हो । दुवै उम्मेदवारले आफुहरू गठबन्धनको साझा उम्मेदवार दाबी गर्नुभएको छ । तर, गठबन्धनले भने आधिकारिक उम्मेदवार को हो भनेर निर्णय गरिसकेको छैन ।

गठबन्धनका वरिष्ठ नेता सरत्दसिंह भण्डारीले भनेर नै उम्मेदवारी दर्ता गराएको महतोको दाबी छ भने राउतले पनि अध्यक्षको निर्देशन मानेको बताउँदै आएका छन् । निर्णयानुसार महोत्तरी क्षेत्र १ ‘क’ कांग्रेस र ‘ख’ मा माओवादीले पाउने तय भएको थियो । तर, लोसपाको उम्मेदवार नै साझा उम्मेदवार भएको बताउँदै एकाएक महतोले टिकट पाएको हल्ला चलेपछि नेकपा एसका राउतले पनि मनोनयन दर्ता गराएका थिए ।

अहिले नेकपा एसका राउत वा लोसपाका महतोमध्ये कसलाई ब्याक गराउने भन्ने विषयमा छलफल भैइरहेको गठबन्धनका नेताहरूले जानकारी दिए । नेता राउतले भने अध्यक्ष माधव नेपालले भनेर नै टिकट ल्याएर मनोनयन दर्ता गरेको हुनाले ब्याक नहुने बताएका छन् । मतदाताको हिसाबले हो भने ‘क’ कांग्रेसले पाउनु पर्ने हो । तर, उनीहरूले नपाएपछि नेकपा एस नै यसको प्रमुख दावेदार भएको उहाँको बुझाइ छ ।

गठबन्धनभित्रैका नेता राजन ढुंगानाले पनि स्वतन्त्र उम्मेदवार दर्ता गरेका छन् । क्षेत्र नम्बर १ मा गठबन्धनभित्रै विवाद सिर्जना भएपछि कसरी मिलाउने भन्ने विषयमा शीर्ष नेताहरू छलफलमा जुटेका छन् । क्षेत्र नम्बर १ ख मा पनि गठबन्धनविरुद्ध गठबन्धनभित्रैका नेताहरूले बागी उम्मेदवार दिएका छन् ।