जनता टाइम्स

२८ आश्विन २०७९, शुक्रबार १८:३७

अघि बढ्यो दोलखा एमालेको चुनावी अभियान, यस्तो छ सुरुवातमै उत्साहजनक काम


काठमाडौं, असोज २८ । आगामी मंसिर ४ गते हुने आमनिर्वाचनको तयारीका क्रममा नेकपा एमाले दोलखाका उम्मेद्वारहरु दोलखा र काठमाडौंमा अगुवा नेता–कार्यकर्ता भेटघाटमा सकृय बनेका छन ।

२३ असोजमा उम्मेद्वारी दर्तापछि प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बालकृष्ण शिबाकोटी, प्रदेशसभा सदस्य क का उम्मेद्वार नरबहादुर श्रेष्ठ र प्रदेशसभा ख का उम्मेद्वार भरतबहादुर केसी चुनावी तयारीको सिलसिलामा आन्तरिक भेटघाट र सुझावलिने काममा सकृय बन्नुभएको हो । उम्मेद्वारद्वय शिवाकोटी र श्रेष्ठ काठमाडौंमा भेटघाट र प्रारम्भिक तयारीको काम सकेर जिल्ला फर्किनु भएको छ भने अर्का उम्मेद्वार केसी जिल्लास्थित सदरमुकाम चरिकोट, भीमेश्वर नगरपालिका र आसपासका पालिकाहरुको चुनावी तयारी र योजनाका कार्यक्रमहरुमा सहभागी हुनुभएको छ ।

चुनावी तयारीको सिलसिलामा नेकपा एमाले दोलखा काठमाडौं सम्पर्क मञ्चको बिस्तारित बैठक सम्पन्न भएको छ । बैठकमा बोल्दै पोलिटब्यूरो सदस्य आनन्दप्रसाद पोखरेलले दोलखाको चुनावी तयारी र मतदातालाई जिल्ला फर्काउने अभियानमा सकृय हुनमञ्च आबद्ध नेता–कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

त्यस्तै, अर्का पोलिटब्यूरो सदस्य तथा प्रतिनिधिसभाका निवतर्मान सांसद पार्वत गुरुङले नेकपा एमालेको नेतृत्वको सरकारले राष्ट्रियता, समृद्धि र विकासका सन्दर्भमा खेलेको भूमिका विजयको आधार रहेको बताउनु भयो । उहाँले समृद्ध दोलखा निर्माणको आधार एमालेले तयार गर्दै आएकाले त्यसलाई पूरा गर्न प्रस्तावित नयाँ उम्मेद्वारहरुलाई दोलखाली जनताले विश्वासका साथ मतदान गरेर विजयी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभाका उम्मेद्वार शिबाकोटीले एमालेले कामबाटै दोलखाली जनताको मन जित्दै आएकाले समृद्ध दोलखा निर्माणका लागि आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले दोलखामा एमालेले भारी मतान्तरले जित्दै आएकाले सत्तारुढ गठबन्धनको पराजय निश्चित रहेको भन्दै तदनुरुपका तयारीसहित अगाडि बढ्न कार्यकर्ताहरुलाई आह्वान गर्नुभयो । एमाले दोलखाका अध्यक्षसमेत रहनुभएका प्रदेशसभा सदस्य क का उम्मेद्वार श्रेष्ठले पार्टी जिल्ला कमिटी र सम्पर्क मञ्चले समन्वयात्मक ढंगले चुनावी तयारीका काम अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा दोलखा इञ्चार्ज सरस्वती बस्नेत, रचना खड्का, केन्द्रीय सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेत, केन्द्रीय लेखा आयोगका सदस्य शान्ती पाख्रिन, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, नेपाल भूतपूर्व सैनिकप्रहरी संगठनका अध्यक्ष विनोद पाण्डे, जनवर्गीय संगठनका अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरु, एमाले वागमती प्रदेश कमिटी र जिल्ला कमिटीका सदस्यहरु, प्रदेश र जिल्लाका सल्लाहकारहरु, सम्पर्क मञ्चसँग सम्बन्धितपूर्व पदाधिकारीहरु लगायत करिब ५ सय सहभागी हुनुहुन्थ्यो ।

बैठकलगत्तै एमाले दोलखाले चुनाव सम्बन्धी विभिन्न योजनाहरु निर्माण गर्दै १ हजार १ सदस्यीय चुनावी परिचालन कमिटी गठन गरेको छ ।
सम्पर्क मञ्चका सचिव उमेश खड्काले कात्तिक पहिलो साताभित्र सबै पालिका र वडास्तरीय सम्पर्क मञ्च, भातृ संगठनहरु, बुद्धिजीवी, मजदुर, कलाकारलगायत सबै पेशाकर्मीहरुको बैठक, अन्तरक्रिया लगायत तयारीका कामहरु सम्पन्न गरिने बताउनुभयो ।

उम्मेद्वारहरुले सबै पालिकाका काठमाडौंमा अस्थायी रुपमा बसोबास गर्ने पार्टीका अगुवाहरुसँग अनौपचारिक भेटघाट र सुझावलिने काम सम्पन्न गर्नुभएको छ । त्यस्तै, प्रदेश ख का उम्मेद्वार भरतबहादुर केसीले भीमेश्वर नगरस्तरीय बिस्तारित बैठकलगायतलाई सम्बोधन गर्नुभएको छ । तयारीका बैठकपछि दोलखा एमाले पंक्तिमा उत्साह छाएको छ । सिंगो पार्टी एकढिक्का भएर गठबन्धन उम्मेदवार हराउने अभियान पनि अघि बढेको छ ।