भक्तपुर, असोज ३० । नेकपा एमालेका नेता तथा भक्तपुर २ का प्रतिनिधि सभा उम्मेदवार महेश बस्नेतले आफूलाई हराउन गठबन्धन सरकारले भक्तपुरको विकास बजेट काटेको तथ्य राख्नुभएको छ ।
भक्तपुरमा आयोजित कार्यक्रममा पूर्वमन्त्री बस्नेतले मतदातासामू गठबन्धन सरकारले भक्तपुरको बिकास नचाहेको तथ्यसहित बजेट कटौतीको फेहरिस्त राख्नुभएको हो । बस्नेतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको र अर्थमन्त्री अर्थमन्त्री जनार्दन शर्माले अर्थ सचिव राखेर भक्तपुरको विकास बजेट काटेका हुन ।
बस्नेतले भन्नुभयो, ‘ओली सरकार आएपछि वडा वडामै करोडौँ बजेट ल्याएका थियौँ । तर, देउवा सरकार आएपछि बालुवाटारकै सहमतिमा अर्थमन्त्रीले अर्थसचिवलाई राखेर भक्तपुरको विकास बजेट काट्न लगाए । विकास रोकेर मलाई हराउन खोजेका छन् ।’
उहाँले भक्तपुरको विकास निर्माणको कुनै कसर बाँकी नराखी काम गरेको तथ्य राख्नुभयो । आफूले भक्तपुरको आवाजलाई सदनमा मात्रै नभएर राष्ट्रिय राजनीतिमा बुलन्द गरेको उहाँको भनाइ छ।
‘हामी सिंहदरबारको नेतृत्व दाबी गर्ने गरी जानुपर्छ। हामी राष्ट्रिय हितदेखि जनताको समस्यालाई प्राथमिकतामा राख्नुपर्छ। हामीले दोब्बर होइन। तेब्बर मतले जित्नुपर्छ। त्यसको तयारीमा हामी लागिसकेका छौँ,’ बस्नेतले भन्नुभयो ।
बस्नेतले नेताको बीचमा गठबन्धन भए पनि कार्यकर्ता र जनता तहमा गठबन्धन नभएकाले आफूहरूले मत पाउने विश्वास व्यक्त गर्नुभभयो । आफू लड्नको लागि मात्रै नभएर जितको सुनिश्चितताको साथ चुनावी मैदानमा आएको उदघोष पनि गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्