दोलखा, कात्तिक । दोलखा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई शक्ति प्रदर्शनको अवसरका रुपमा लिने निर्णय गरेको छ ।
मूलधारका सबै राजनीतिक शक्तिहरू सम्मिलित गठबन्धनविरुद्ध दोलखामा नेकपा एमाले एक्लै भारी पर्ने र चुनाव जितेरै छोड्ने सङ्कल्प समेत गरेको दोलखा एमालेले जनाएको छ । आइतबार बसेको जिल्ला कमिटी दोलखाको बैठकका निर्णयहरू हिजो मंगलबार सार्वजनिक गर्दै एमालेले महागठबन्धनविरुद्ध पनि चुनाव जित्ने ताकत आफूहरूसँग रहेको उदघोष गरेको हो ।
‘यतिबेला देश प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होमिएको छ । एकातिर गठबन्धनका दलहरु मिलेर चुनावमा लागेका छन् र अर्कोतिर नेकपा एमाले एकल ढंगले चुनावी मैदानमा उत्रिएको छ,’ दोलखा एमालेले भनेको छ, ‘यो निर्वाचन एमालेले दोलखामा आफ्नो समग्र शक्ति प्रदर्शनका लागि एक अवसरका रुपमा लिएको छ र एमाले दोलखाले एकल ढंगले निर्वाचन जित्ने तयारीमा लागेको छ ।’
एकल ढंगले चुनावमा उत्रिए पनि जनसमर्थनका हिसाबले गठबन्धनविरुद्ध दोलखामा नेकपा एमाले बलियो शक्तिको रुपमा रहेको प्रदेशसभा (क) का उम्मेदवारसमेत रहनुभएका दोलखा एमाले अध्यक्ष नरबहादुर श्रेष्ठ बताउनुहन्छ । ‘जनताका बीचमा स्थापित र बलियो पार्टीका रुपमा आफ्नो पहिचानलाई निरन्तरता दिने अभियानमा हामी छौँ,’ बैठकका निर्णयहरू सार्वजनिक गर्दै अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘निर्वाचनमा हाम्रो उपस्थितिलाई थप बलियो र प्रभावकारी बनाउन पूर्वमन्त्रीद्वय आनन्द प्रसाद पोखरेल र पार्वत गुरुङको नेतृत्वमा ६ सदस्यीय निर्वाचन परिचालन हाइकमाण्ड र अन्य विभिन्न कमिटीहरू गठन गरेका छौं ।’
विभिन्न कालखण्डमा आफू स्वयंले पटक–पटक निर्वाचन प्रतिस्पर्धा गरेको अनुभवबाट पोख्त मन्त्रीद्वयको कमाण्डमा निर्वाचन प्रतिस्पर्धा गर्न पाउनु आफूहरूका लागि खुशीको कुरा भएको बताउँदै आगामी निर्वाचनमा एमालेको विजय सुश्चित भइसकेको विश्वास उहाँले व्यक्त गर्नुभयो ।
को–कसले पाए के–के जिम्मेवारी ?
पोलिटब्यूरो सदस्यद्वय पोखरेल र गुरुङ नेतृत्वको हाइकमाण्डमा केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज सरस्वती बस्नेत, जिल्ला अध्यक्ष तथा प्रदेश (क) का उम्मेदवार नरबहादुर श्रेष्ठ, प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण शिवाकोटी तथा प्रदेश (ख) का उम्मेदवार भरतबहादुर केसी छन ।
निर्वाचन परिचालन विकेन्द्रित गर्दै जिल्ला कमिटीले प्रदेश (क) को नेतृत्व गर्ने जिम्मेवारी पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री गुरुङ र प्रदेश (ख) मा पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री पोखरेललाई दिएको छ ।
उच्चस्तरीय परिचालन कमिटीमा जिल्लासचिव हिरा थोकरले सचिवालय सचिवका रुपमा काम गर्ने छन् । त्यस्तै, जिल्ला अध्यक्ष श्रेष्ठको नेतृत्वमा १ हजार १ सदस्यीय जिल्ला निर्वाचन परिचालन कमिटी बनाइएको छ ।
जस अनुसार प्रदेश (क) मा पूर्व जिल्ला अध्यक्ष तथा वागमती प्रदेश कमिटी सदस्य ईश्वरचन्द्र पोखरेल र प्रदेश (ख) मा अर्का प्रदेश कमिटी सदस्य डबल पाण्डेको नेतृत्वमा बेग्लाबेग्लै परिचालन कमिटी गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
त्यस्तै, पार्टी परिचालनको जिम्मेवारी केन्द्रीय सदस्य सरस्वती बस्नेत, जनसंगठन प्रचारको नेतृत्व केन्द्रीय सदस्य रचना खड्का, सामाजिक सांस्कृतिक क्षेत्रको संयोजन पूर्वसांसद शान्ति पाख्रिन र वित्तीय सहकारी परिचालनको संयोजन हेमन्त चौलागाईंले गर्ने बताइएको छ ।
यस्तै निर्वाचन प्रचार संयोजनको काम जिल्ला उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख राजेन्द्र मानन्धरले गर्ने बताइएको छ । प्रचारप्रसारका लागि मानन्धरको नेतृत्वमा ५५१ सदस्यीय कमिटी निर्माण भएको छ ।
यसैगरी प्रदेश (क) का लागि ऋषिकेश उप्रेती र प्रदेश (ख) का लागि कुमार खड्काको नेतृत्वमा १५१ सदस्यीय अलग–अलग कमिटी गठन गरिएको पनि जिल्ला अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै बैठकले पालिकास्तरीय निर्वाचन कमाण्डरहरू पनि तोकेको छ । जसअनुसार गौरीशंकर गाउँपालिकामा स्वयमबहादुर खड्का, वैतेश्वर गाउँपालिकामा हर्कमान पाख्रीन, जिरी नगरपालिकामा टंक जिरेल, तामाकोशी गाउँपालिकामा बसन्तराज कार्की र मेलुङ गाउँपालिकामा धर्मेन्द्र मोक्तान चुनावी कमाण्डर तोकिएका छन् ।
यसैगरी भीमेश्वर नगरपालिकामा राजेन्द्र मानन्धर, कालिञ्चोक गाउँपालिकामा कालिका पाठक, शैलुङ गाउँपालिकामा भरत प्रसाद दुलाल र बिगु गाउँपालिकामा कृष्ण भूजेल चुनावी माण्डर तोकिएका छन् ।














प्रतिक्रिया दिनुहोस्