जनता टाइम्स

२ कार्तिक २०७९, बुधबार १४:५४

महेश बस्नेतका प्रतिस्पर्धी दुर्लभ थापालाई २४ घण्टे पुर्जी


भक्तपुर, कात्तिक २ । निर्वाचन आयोगले आचारसंहिताको उल्लंघन हुने गरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधिसभा सदस्यका भक्तपुर २ का उम्मेदवार एवं नेपाली कांग्रेसका जिल्ला अध्यक्ष दुर्लभ थापालाई २४ घन्टे स्पष्टीकरण सोधेको छ ।

थापाले सूर्यविनायक नगरपालिका वडा नम्बर २, ३, ४ र ६ का चोक, गल्ली र पोलहरूमा दलको झण्डा, फ्लेक्स प्रिन्ट राखेको तथा सामाजिक सञ्जालमा पोष्ट गरेको कार्य आचारसंहिताविपरीत हुने भएकाले स्पष्टीकरण सोधिएको हो । थापालाई निर्वाचन आयोगमा वा उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालमा आफै वा आफ्नो प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेस गर्न भनिएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ बमोजिम ‘जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (ज) मा ‘कसैको निजी घरजग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने’ व्यवस्था रहेको स्मरण गराउँदै त्यसरी विभिन्न स्थानको बाटो तथा पोलहरूमा दलको झण्डा राखेको देखिएको हुँदा आचारसंहिताविपरीत हुने गरी उक्त कार्य किन गरिएको हो ? भनी स्पष्टीकरण सोधिएको छ ।

भक्तपुर २ नेकपा एमालेका युवा नेता महेश बस्नेतको निर्वाचन क्षेत्र हो । सो क्षेत्रमा लोकप्रिय नेता बस्नेतसँग प्रतिस्पर्धा गर्नुभएका थापाले जानाजानी निर्वाचन आचार संहिता उलंघन गरेपछि २४ घण्टे स्पटिकरण सोधिएको हो ।