नेकपा एमालेबाट काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रेशम लामा त्यस क्षेत्रका जनताका लागि निकै प्रिय नेता हुनुहुन्छ । पूर्वमन्त्री लामा निकै सरल, सहज र सवैका लागि साझा ब्यक्तिका रुपमा काभ्रे १ मा चिनिनु हुन्छ । यसअघि पटक पटक अवसर पाएर पनि जिल्ला र क्षेत्रका लागि कुनै योगदान नगरी आफ्नो स्वार्थमा केन्द्रत रहेका ब्यक्ति नै पुनः उम्मेदवार बनेर आएपछि रेशमलाई जीत निकाल्न सहज बन्दै गएको अनुभुति काभ्रे १ का मतदातामा रहेको पाइन्छ । उम्मेदवार लामा पनि यो कुरामा सहमत हुनुहुन्छ । प्रस्तुत छ, निर्वाचन केन्द्रित रहेर लामासँग जनताटाइम्स डटकमले गरेको कुराकानीको सम्पादित अंश :
काभ्रे–१ म एमाले र जनताको अवस्था कस्तो छ ?
काभ्रेली जनताले नेकपा एमालेलाई भारी मतले जिताउनुहुनेछ भन्ने विश्वास हामीले लिएका छौं । काभ्रेको स्थानीय तह भनेको १३ ओटा पालिकाहरू रहेका छन् । दुईओटा प्रतिनिधिसभा क्षेत्र र चार ओटा प्रदेशसभा क्षेत्रहरु रहेका छन् । मेरो क्षेत्रमा ८ वटा पालिकाहरु पर्दछन् जसमा ६९ वटा वडा रहेको छ ।
स्थानीय तहको निर्वाचनको कुरा गर्दा हामीले कम सिट नै जितेका छौं । स्थानीय निर्वाचनलाई हेर्ने हो भने हामीले कम मत प्राप्त गरेका छौं तर अहिलेको त्यहाँको जनभावना, जनलहरलाई हेर्ने हो भने प्रतिनिधिसभा र प्रदेशसभा नेकपा एमालेले जित्ने अवस्था छ ।
काभ्रेमा तपाई र नेकपा एमालेको एजेण्डाहरु के–के छन् ?
विशेषतः हामीले ३ ओटा एजेन्डाहरु लिएर गएका छौं । सामाजिक विकास, भौतिक विकास, स्वास्थ्य–शिक्षाका कुराहरु, बाटोघाटोको कुराहरु, त्यहाँको पर्यटन विकास, सडक सञ्जाल, खानेपानी, अस्पताल, विद्यालय यी कुरालाई हेर्ने हो भने नेकपा एमाले अब्बल सावित भएको छ । त्यो अब्बल सावित गरेर देखाएका छौं । यहि कारण हामीले निर्वाचन जित्छौं ।
तपाईको जितपछिको भावि योजनाहरु के–के छन् ?
हामी नेकपा एमालेले अघि सारेको घोषणापत्रमा र मेरो आफ्नो प्रतिवद्धता पत्रमा मैले गरेको काभ्रेका जनताविचको बाचा पूरा गर्नेछु । काभ्रेका जनताको अत्यावश्यकीय आवश्यकतालाई मध्येनजर गरेर मैले काम गर्नेछु । उत्पादनलाई बढी भन्दा बढी जोड दिएर आधुनिक कृषिमा फोकस हुँनेछौं र सडक सन्जालका कुरालाई पनि नयाँ ढंगले अगाडि लिएर जानेछौं ।
विगतमा पनि काभ्रेमा भएको निर्वाचनमा धेरै धाँधली हुने गरेको छ, त्यसलाई रोक्न के गर्नुहुन्छ ?
काभ्रेमा कुनै बेला कुनै राजनीतिक दलको दबदबा भएको समयमा त्यस्तो काम भयो होला तर अहिले त्यो सम्भव छैन । नेकपा एमाले हरेक कुरासँग सकरात्मक प्रतिस्पर्धा गर्दै आएको छ । र धाँधली गर्न नदिन नेकपा एमाले सचेत छ, त्यस्तो हुनबाट बचाउन तयारी अवस्थामा पनि छ । निर्वाचन आयोगले निर्धारित गरेको सीमा परिधिभित्र बसेर हरेक कुरासँग हामी प्रतिस्पर्धा गर्न तयार छौं ।
विगतमा प्रतिनिधिहरूले झुठो आश्वासन दिएको भन्ने पनि आरोप छ नि ?
अहिले मेरो प्रतिस्पर्धीलाई नै हेर्ने हो भने माओवादीले एकल बहुमत ल्याएको समयमा मन्त्री भएका उम्मेद्वारले के गरे के गरेनन् भन्ने कुरा काभ्रेका मतदाताहरुले स्पष्ट बुझेको, देखेको र अनुभव गरेका छन् । त्यही आधारमा नेकपा एमालेले अघि सारेको रेशम लामालाई निर्वाचित गराउनुहुनेछ भन्ने विश्वास छ । काभ्रेको जनताले सम्झन लायक एउटा केही काम नगरेका कारण मेरो प्रतिस्पर्धी भन्दा म अब्बल रहेको छु । म झुटो आश्वासन पनि दिन्न र भनेको कुरा गरेर देखाउँछु । चाहे त्यो विकास होस्, सकारात्मक सन्देश जाने गरी म कर्म गर्नेछु र गर्छु ।
पनौति, नमोबुद्ध, तेमाल बुद्ध सर्किटको अवधारणा ल्याएका छौं । रोशीको खाद्यान्नजन्य विषयमा, स्थानीय जनताले नै उपभोग गर्ने गरी हामीले योजना बनाएका छौं । त्यहाँ तस्करहरुले हात पार्न नसकुन् भनेर, जडिबुटी, पर्यटन पदमार्ग, चिया कफिखेतीको कुरा होस, कागती खेती लगायत बैज्ञानिक कृषिलाई बढावा दिने कुराको अवधारणा ल्याएका छौं । जुन –जुन पालिकामा जे सम्भावना छ त्यही अनुसार हामी काम गर्नेछौं ।
काभ्रेको सबैभन्दा विकट मानिएको चौंरीदेउराली नगरपालिकामा पर्यटन सम्भावना छ, हामीले त्यहाँ कफि खेती गर्ने योजना ल्याएका छौं । कुरा मात्रै होइन हामीले काम पनि सुरु गरिसकेका छौं । त्यहाँ गरेका योजनाका अरु पनि कामहरु अहिले जनताले निरन्तर उपभाग गरिरहनुभएको छ । हामी खोपासी तालढुंगा बाटोलाई विकट सम्झिएको महाभारत र थानिखोला गाउँपालिकालाई सदरमुकामसम्म सडक सञ्जाल जोड्ने कुरामा प्रतिवद्ध छौं । हरेक पालिकाका वडाहरूलाई शाखाबाटोको स्तरोन्नती गरेर कालोपत्रे गर्ने कुराहरु हाम्रो वृहत् योजनाभित्रै पर्दछ ।
हामीले पालिकामा नै सुविधासम्पन्न अस्पताल बनाउने योजना ल्याएका छौं । सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर तेमालको सन्दर्भमा घर–घरमा खानेपानी पुर्याउने हाम्रो नीति छ र त्यो सम्पन्न हुने चरणमा छ । हाम्रो योजनामा हाम्रै कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओलीकै अध्यक्षतामा हामीले प्रारम्भ गरेको विनियोजन गरेको बजेटलाई पनि यो परमादेशी गठबन्धन सरकारले स्थगित र अवरोध गरेको अवस्था छ । यी सबै योजनाहरूलाई हामीले पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं र यो पुरा गर्ने नै छौं ।
यस्ता सम्भावित धेरै काम छन्, जस्तो पनौति नगरको ऐतिहासिक, पुरातात्विक महत्वको मन्दिर छ त्यसलाई विश्वसम्पदा सूचिमा सूचिकृत गरेर एउटा पर्यटनको आकर्षणको केन्द्र बनाउन सक्ने विकासको अवधारणाको रुपमा प्रस्तुत गरेका छौं । अझ भन्दा हामी हिमाल देखाएर गुन्द्रुक र ढिँडो खुवाएर पर्यटन भित्र्याएर नेपालको पहिचानलाई विश्वसामु चिनाउन खोज्ने नेकपा एमाले र आफ्नै भू–भाग बेचेर आफू सरकारमा मोजमस्ति गर्ने गठबन्धनबिचको फरकलाई काभ्रेली मतदाताले राम्रोसँग बुझ्नुहुनेछ भन्ने विश्वास राखेको छु । त्यही आधारमा पनि हामीलाई निर्वाचित गराउनुहुनेछ भन्ने ठानेको छु । काभ्रेली जनता राष्ट्रवादी र स्वाभिमानी छन, त्यसैले एमालेलाई नै रोज्नेमा ढुक्क छु ।
अन्त्यमा काभ्रेली जनतालाई के भन्न चाहानुुहुन्छ ?
मैले एउटा अभियान सुरु गरेको छु । ‘असल पुस्ताको निर्माण रेशम लामाको अभियान ।’ योसँग धेरै कुराहरु जोडिएको छ । आफ्नो पहिचानको कुरा छ, विकासको कुरा छ, रोजगारीको कुरा छ । अब काभ्रेमा देश बनाउनका लागि महत्वपूर्ण पेशा व्यवसायका लागि डाक्टर, पाइलट, ईन्जिनियर मात्रै होइन । मुलुकलाई कुन दिशामा लाने भन्ने कुराको एउटा रोडम्याप तयार गर्न सक्ने जनशक्तिसमेत उत्पादन गर्नुपर्छ ।
अहिलेको निर्वाचन जुन जनादेश र परमादेशबीचको एउटा प्रतिस्पर्धा हो । यो जनमत संग्रहमा जनताको पक्षमा उभिएको एकमात्र उम्मेद्वार नेकपा एमालेको उम्मेद्वारहरूलाई सूर्य चिन्ह्ममा छाप लगाएर काभ्रेका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा गरी ६ वटै क्षेत्रमा जिताइदिनुहुन तपाई काभ्रेली जनतालाई विनम्र अनुरोध गर्दछु ।
प्रतिक्रिया दिनुहोस्