जनता टाइम्स

५ कार्तिक २०७९, शनिबार १७:४१

नाग्म–गमगढी राजमार्ग १५ दिनपछि खुल्यो


जुम्ला, ५ कात्तिक । नाग्म–गमगढी राजमार्ग सञ्चालनमा आएको छ । १९ असोजदेखिको अविरल वर्षा र पहिरोका कारण अवरुद्ध नाग्म–गमगढी सडक खण्ड आजदेखि सञ्चालनमा आएको हो । सडक डिभिजन कार्यालय जुम्लाले नाग्म–गमगडि राजमार्ग खुलेको जनाएको छ ।

कार्यालयका प्रमुख राजीव श्रेष्ठका अनुसार ९३ किलोमिटरको उक्त राजमार्ग १५ दिनको प्रयासपछि खुलेको हो । नाग्म–गमगढी राजमार्गको हिमा गाउँपालिकामा सबै भन्दा बढी पहिरो गएको थियो । ईन्जिनियर गणेश भक्रीले हिमा गाउँपालिकाको बाजागाडादेखि भूगोलपाटसम्म मात्रै करिब आठ किलोमिटर लामो पहिरो गएको थियो, सो पहिरो पनि पञ्छाएपछि सडक खुलेको हो ।

उहाँले नाग्म–गमगढी राजमार्गको ९३ किलोमिटरमा एक सय ५० वटा पहिरो पञ्छाएको बताउनुभयो । हिमा गाउँपालिकाको बुअ पाखा, बाजागाडा, बड्की, देवारगाउँ, आचार्य लिहीमा र कनकासुन्दरीको जिअ भिड, मुगुको झ्यारी, ताल्चामा खसेको पहिरो पनि पञ्छाइएको छ । पहिरो पञ्छाएपछि मोटरसाईकलहरू सहजै ओहोरदोहोर गर्न थालेका छन् भने साँघुरो स्थानमा थप मर्मत गरे गाडी चलाउने तयारी भइरहेको छ ।