काठमाडौं, कात्तिक ६ । नेकपा एमाले समर्थित बुद्धिजीवीहरूले दोलखा–काठमाडौं बुद्धिजीवी परिषद् गठन गर्नुभएको छ । शनिबार राजधानीमा आयोजित बृहत् भेलाबाट गौरीशंकर गाउँपालिकाका अजय खडकाको संयोजकत्वमा परिषद् गठन गरिएको हो ।
नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा आयोजना भएको भेलाले परिषद् गठन गर्दै आगामी निर्वाचनमा नेकपा एमाले दोलखाका उम्मेदवारहरूलाई विजयी बनाउन भूमिका निर्वाह गर्ने निर्णय पनि गरेको छ ।
योसँगै दोलखाका बुद्धिजीवी वर्गको साथ नेकपा एमालेका उम्मेदवारहरू बालकृष्ण शिबाकोटी, नरबहादुर श्रेष्ठ र भरतबहादुर केसीलाई रहने भएको छ । यसबाट दोलखामा एमालेका उम्मेदवार थप बलियो देखिनुभएको छ । गठबन्धनभित्र विभिन्न आन्तरिक समस्या उत्पन्न भइ एउटा पार्टीले अर्को पार्टीका उम्मेदवारलाई स्वीकार नगर्ने अवस्था सृजना भइरहँदा एमालेका उम्मेदवारप्रति भने सबैको साथ बढ्दो क्रममा रहेको देखिएको छ ।
भेलामा पूर्वमन्त्री गुरुङसहित पार्टी इञ्चार्ज एवम् बागमती प्रदेशकी पूर्वमन्त्री सरस्वती बस्नेत, केन्द्रीय सदस्य एवम् वागमती प्रदेशकी पूर्वमन्त्री रचना खड्का, सम्पर्क समन्वय कमिटीका प्रमुख श्यामकुमार बस्नेतलगायतको उपस्थिति थियो ।
निर्वाचन तयारीकै क्रममा शनिबार काठमाडौंमा दोलखा–काठमाडौं सम्पर्क मञ्चले सम्पर्क समन्वय कमिटी र बागमती प्रदेश कमिटीमा रहनुभएका दोलखाली नेताहरू, क्षत्रीय कमिटीका पदाधिकारी र पालिका सम्पर्क मञ्चका अध्यक्षहरूसँग पनि विशेष छलफल गरेको छ । नेकपा एमालेलाई विजयी बनाउने विषयमा रणनीतिक समसामयिक छलफल सम्पर्क मञ्चले चलाएको मञ्चका सचिव उमेश खड्काले जानकारी दिनुभयो ।
यस्तै शनिबार दोलखाका विभिन्न पालिका सम्पर्क मञ्च र मातहतका वडा कमिटीहरूका पनि थुप्रै विस्तारित बैठक र भेलाहरू काठमाडौंमा सम्पन्न भएका छन् । ती बैठक र भेलाहरूले निर्वाचन परिचालन कमिटी र विभिन्न उपसमितिहरू निर्माण गरी निर्वाचनलाई व्यवस्थित र मतदातामैत्री बनाउन भूमिका खेल्ने निर्णय गरेका छन् ।
सम्पर्क मञ्च र मातहतका कमिटीहरूले आयोजना गरेका बैठक र भेलाहरूमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी परित्याग गरेर कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेको सम्पर्क मञ्चका अध्यक्ष शेखर बस्नेतले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्