जनता टाइम्स

८ कार्तिक २०७९, मंगलवार १५:३५

ओलीसँग बहस गर्ने हैसियत देउवाको छैन : महेश बस्नेत


भक्तपुर, कात्तिक ८ । नेकपा एमालेका नेता तथा भक्तपुर २ का उम्मेदवार महेश बस्नेतले आफ्ना नेता कार्यकर्तालाई चुनावी युद्धमा होमिन निर्देशन दिनुभएको छ ।
भक्तपुर आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले घरघरमा पुगेर जनताको समस्या र आलोचना बुझ्न निर्देशन दिनुभएको हो ।

‘चुनावलाई युद्धका रुपमा लिएर मैदानमा होमिन हामी तयार भइसकेको छौँ। घरघरमा पुगेर जनताको समस्या आलोचना सबै सुन्नुपर्छ,’ बस्नेतले भन्नुभयो ।  उहाँले गएको पाँच बर्ष आफ्नो कार्यकाल सफल भएको दाबी गरे। एमाले नेतृत्वको सरकारले हालेको बजेट काटेर भक्तपुरको विकास रोकेको उहाँको भनाई छ ।

देश निर्माण र विकासको भिजन केपी ओलीसँग मात्रै भएको उहाँले बताउनु भयो । ‘हामीले ओलीलाई आगामी प्रधानमन्त्रीको रुपमा अगाडि सारेको छ। गठबन्धनले सार्न सकेको छैन। ओलीले जनतासँग सिधैं जोडिन टेलिफोेन गर्नुभयो। ओलीले देउवालाई आफूसँग बहस गर्ने हो भनेर सोध्दा बोल्न सकेनन्। ओलीको देश बनाउने भिजनबारे दुई घण्टासम्म निरन्तर बहस गर्न सक्नुहुन्छ। देउवाले दुई मिनेट बोल्न सक्दैनन्। उनको त्यो हैसियत र दृष्टिकोण छैन।’

भारतले गरेको नाकाबन्दीलाई गठबन्धनका नेताहरु बोल्न नसकेको बेलामा ओलीले डटेर सामाना गरेको कारण पनि ओली नै प्रधानमन्त्री हुनुपर्ने बस्नेतको भनाई छ । ओलीले नै आफ्नो गुमेको भूमि फिर्ता ल्याउन पहल गरेको बताउँदै भन्नुभयो, ‘हामीले ल्याएको चुच्चे नक्सा गठबन्धन सरकार आएपछि बुच्चे भएको छ।’