काठमाडौं, कात्तिक १२ । आफ्नै सरकार ढालेर अदालतमा निवेदन हाली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए पनि चुनावमा नेकपा एकीकृत समाजवादीले ठूलो धोखा पाएको छ ।
स्थानीय तहको निर्वाचनमा कांग्रेसले फ्याँकेको सिटमा चित्त बुझाएको नेकपा एसले आगामी मंसीर ४ गते हुने निर्वाचनमा पनि कांग्रेसबाट धोखा पाएको हो । अध्यक्ष माधवकुमार नेपालले आफूलाई जसरी पनि जिताउन देउवासँग अनुनय बिनय गरेपछि कांग्रेसले सो पार्टीका अर्का नेता झलनाथ खनाललाई नै धोखा दिएको छ ।
गत स्थानीय निर्वाचनमा धोकेवाज कांग्रेसी भन्दै गाली गर्नुभएका खनाललाई कांग्रेसले गठबन्धनका लागि छाडेको बताए पनि बागी उम्मेदवार उठाएको छ ।
गठबन्धनबीच सहमतिमै सिट बाँडफाँट गरिएको भए पनि गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसका ‘बागी’का कारण अन्य नेकपा एसका ७ जना नेताहरुले धोखा पाएका हुन ।
गठबन्धनमा आवद्ध अन्य दलभन्दा कांग्रेसका बागी धेरै छन् । प्रतिनिधिसभा निर्वाचनमा मात्रै माओवादीविरुद्ध १० निर्वाचन क्षेत्रमा कांग्रेसका नेता कार्यकर्ताले बागी उम्मेदवारी दिएका छन । कांग्रेस नेता कार्यकर्ताले गठबन्धनको तेस्रो ठूलो दल नेकपा एकीकृत समाजवादीको भागमा परेको ७ निर्वाचन क्षेत्रमा बागी उम्मेदवारी दिएका छन् ।
एकीकृत समाजवादीका शीर्ष नेताविरुद्ध नै कांग्रेसका नेता कार्यकर्ताले बागी उम्मेदवारी दिएका कारण गठबन्धनबीच नै विश्वासको वातावरण गुमेको छ । कांग्रेसको बागीका कै कारण एकीकृत समाजवादीका ७ शीर्ष नेता पराजित हुने अवस्थामा रहेका छन ।
एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री इलाम–१ बाट प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ । तर, नेपली कांग्रेसका विक्रम पाण्डे आफै उम्मेदवार हुनुहुन्छ । यस्तै नेकपा एसका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडा उम्मेदवार बन्नुभएको उदयपुर–२ मा कांग्रेसकै रामकुमार राईले उम्मेदवारी दिनुभएको छ ।
एकीकृत समाजवादीका अर्का उपमहासचिव प्रकाश ज्वाला ज्वालाविरुद्ध पनि कांग्रेस नेता रविन्द्रबहादुर शाहले उम्मेदवारी दिनुभएको छ ।
पूर्वमन्त्री तथा एकीकृत समाजवादीका नेता प्रेम आलेलाई डोटीबाट प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका साझा उम्मेदवार तोकिए पनि कांग्रेसकै नरेन्द्रबहादुर खड्काले उम्मेदवारी दिनुभएको छ ।
एकीकृत समाजवादीका सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्री गुल्मी–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । झाँक्रीविरुद्ध पनि कांग्रेसका दामोदर भुसालले उम्मेदवारी दिनुभएको छ । भुसालले झाँक्रीलाई सघाउने भनिए पनि उम्मेदवारी कायम रहेको र भित्री रुपमा कांग्रेसले भुसाललाई नै मत हाल्न निर्देशन दिएको बुझिएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेका एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर अछाम–१ मा गठबन्धनका साझा उम्मेदवार हुन् । तर, उहाँविरुद्ध पनि कांग्रेसकै राजन कुँवरले उम्मेदवारी दिनुभएको छ ।
त्यसैगरी कास्की–२ मा गठबन्धनका साझा उम्मेदवार श्रीनाथ बरालविरुद्ध पनि कांग्रेसकै महादेव गुरुङले उम्मेदवारी दिनुभएको छ ।
कांग्रेसले बागी उम्मेदवारलाई समय तोकेरै उम्मेदवारी फिर्ता लिन वा आफ्नो उम्मेदवारी निष्कृय भएको सार्वजनिक जानकारी गराउन निर्देशन दिएको थियो । कांग्रेसले तोकेको मितिमा केहीले उम्मेदवारी फिर्ता लिए पनि एकीकृत समाजवादीका उम्मेदवारविरुद्ध परेको उम्मेदवारी भने फिर्ता नभएको हो । कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार सात वटै निर्वाचन क्षेत्रमा नेकपा एसलाई मत नदिने अडानपछि बागीका रुपमा आफ्नै उम्मेदवार उठाइएको हो ।
‘जसो गरे पनि चुनाव जिताउन सकिदैन भनेपछि पार्टी बचाउनका लागि पनि बागी उम्मेदवार खडा गर्नुपर्ने भयो, त्यसैअनुसार हाम्रा साथीहरुले गठबन्धनका साझा उम्मेदवार बनाएका कतिपय ठाउँमा उम्मेदवारी दिनुभएको छ । कांग्रेसको साथीलाई भोट नहालेर नेकपा एसका उम्मेदवारलाई कसरी भोट हाल्न सकिन्छ र भन्ने निश्कर्षमा त्यहाँका साथीहरु हुनुहुन्छ, हाम्रो भोट हाम्रै साथीलाई जान्छ,’ जनताटाइम्स डटकमसँगको अनौपचारिक कुराकानीमा कांग्रेसका एक पदाधिकारीले भने । उनका अनुसार गठबन्धन भए पनि बागी उठेका नेपाली कांग्रेसका उम्मेदवारलाई नै कांग्रेसको भोट जानेछ ।













प्रतिक्रिया दिनुहोस्