जनता टाइम्स

१६ कार्तिक २०७९, बुधबार ०६:३५

चीनसँगको फलाक नाका र जिरी विमानस्थल संचालनलाई पहिलो प्राथमिकता दिन्छु : बालकृष्ण शिवाकोटी (अन्तर्वार्ता)


आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरु जित सुनिश्चित गर्नचुनावी प्रचार–प्रसारमा व्यस्त छन् ।आफ्ना चुनावी एजेण्डा जनता माझ लिएर गईरहेका छन् । यसै क्रममा दोलखामा चुनावी प्रचार अभियान र मतदाता घरदैलो कार्यक्रममा रहनु भएका नेकपा एमालेका तर्फबाट दोलखाका लागि प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालकृष्ण शिवाकोटीसँग निर्वाचन केन्द्रित संवादको सम्पादित अंश 

प्रतिनिधिसभा सदस्यमा तपाईंले दोलखाबाट टिकट पाउनु भएको छ । सत्तागठबन्धनको उम्मेदवारसँग प्रतिस्पर्धा गरिरहँदा कत्तिको चुनौति महसुस गर्नुभएको छ ?

पार्टीले कार्यकर्ताको भावनाबुझेर निर्णयग¥यो र मैले प्रतिनिधिसभा सदस्यको टिकट पाएँ । त्यसलगतै उम्मेदवारी दर्ता गराएपछि पहिलो चरणमा आन्तरिक तयारी सकेर अहिले चुनावी प्रचार र मतदाता घरदैलो अभियानमा छु । उम्मेदवारी दर्ता गर्दैगर्दा पार्टीका सिनियर नेताहरुसहित दोलखाली जनताको उत्साजनक सहभागिता रह्यो ।

यसले दोलखाको चुनावी माहोललाई फरक ढंगले ‘भाइब्रेट’ गराएको छ । विगतका निर्वाचनहरुमा एमालेले जुन मतभारका साथ जित हाँसिल गरेको थियो, त्यही ‘स्पिरिट’का साथ जित हाँसिल गर्ने उत्साह मिलेको छ । एमालेको चुनाव जित्ने अभियानमा सम्पूर्ण नेता–कार्यकर्ता, समर्थक, शुभेच्छुक उत्साहका साथ होमिनु भएको छ । बिस्तारै दोलखाको चुनावी महोल एमालेमय बन्दै गएको छ । हाम्रो जित सुनिश्चित छ ।

दोलखा एमालेको गढ हो भन्नेमा शंका रहेन । तर अहिले पार्टी फुटेको छ । चुनावी माहोल एमाले अनुकूल देखिदैंन कि?

बाहिरबाट हेर्दा कतिपयलाई त्यस्तो लाग्न सक्छ । तर यथार्थ त्यस्तो छैन । दोलखा एमालेको गढ थियो, छ र भविष्यमा पनि रहनेछ । जहाँसम्म विभाजनको प्रसंग छ, वास्तवमा पार्टी विभाजन भएको होइन, केही असन्तुष्ट साथीहरु अलग हुनुभएको मात्र हो । पार्टी जीवनमा स्वाभाविक रुपमा यदाकदा यस्ता घटना हुन्छन् । अघिल्लो निर्वाचनमा एमाले र माओवादीबीच गठबन्धन थियो । त्यसबेला चुनावी माहोल जस्तो थियो, त्यसभन्दा पनि यसपटक राम्रो बन्दै गएको छ । जुन उद्देश्यसहित हामीले तत्कालीन अवस्थामा पार्टी एकता गरेर नेकपा बनाएका थियौं, ती उद्देश्य अवश्य पूरा भएका छैनन् ।

किनभने हामी नेपालको कम्युनिष्ट आन्दोलनको अगुवाई गरिरहेको नेकपा एमालेको नेतृत्वमा मुलुकको कम्युनिष्ट आन्दोलनलाई समाजवादको आधार निर्माण गर्ने दिशामा केन्द्रीत गर्न चाहान्छौं। तर यसको ठीक विपरित कतिपय व्यक्ति र समूहले कम्युनिष्ट पार्टीको मूल उद्देश्य, कार्यनीतिमाथि धब्बा लाग्नेगरी अवसरवादी बाटो अख्तियार गर्नुभएको कुरा साँचो हो। तर, परिवर्तनका लागि माओवादी आन्दोलनमा त्याग तपस्या गर्नुभएका, कम्युनिष्ट आन्दोलनको मूल उद्देश्यप्रति प्रतिबद्ध साथीहरुको ठूलो समूह पार्टी एकतालाई निरन्तरता दिँदै एमालेमै हुनुहुन्छ । उहाँहरुमध्ये कतिपय प्रत्यक्ष र समानुपातिकको उम्मेद्वार बन्नुभएको छ । केही समय भ्रममा पर्नुभएका साथीहरु पनि दिनदिनै मूल घर एमालेमै फर्किरहनुभएको विषयमा तपाईंहरु जानकार नै हुनुहुन्छ । त्यसैले हामी विगतभन्दा अझ संगठित र एकताबद्ध छौं, चुनावी माहोल पनि राम्रो बन्दै गएको छ ।

तपाईं पार्टीअध्यक्ष केपी शर्मा ओलीको नजिकको मान्छे भएकाले टिकट पाउनुभयो भन्ने चर्चा पनि सुनिन्छ नि?

मेरो पृष्ठभूमि नबुझेका केहीलाई त्यस्तो लाग्न सक्छ । म एमालेमा २०४० सालदेखि निरन्तर क्रियशिल छु । अनवरतरुपमा काम गरिरहेको छु । म पार्टीको ‘फुलटाईमर’ कार्यकर्ता होइन । तर,झण्डै चालिस वर्षदेखि एमालेको बफादार कार्यकर्ता हुँ । पार्टीको ईलाका कमिटीको सचिव, क्षेत्रीय कमिटी सचिव, १५ वर्ष जिल्ला सचिवालय सदस्यहुँदै वागमती प्रदेश कमिटी सदस्यका रुपमा क्रियाशील छु । पार्टीसम्बद्ध उद्योग व्यबसायी संगठनको केन्द्रीय उपाध्यक्ष र वागमती प्रदेश ईन्चार्जका रुपमा पनि काम गरिरहेको छु ।

यस सँगसँगै सामाजिक कार्यकर्ता पनि हुँ । यसक्रममा मैले दोलखामा धेरै समाजिककाम गरेको छु । त्यसैका आधारमा पार्टीले मलाई टिकट दिएको हुनसक्छ । यसअघिको निर्वाचनमा पनि टिकटका लागि मैले पार्टीमा पहल गरेको हुँ । त्यसबेला ‘सिनियर’ नेताहरुले टिकट लिनुभयो । मैले त्यसबेला पार्टीलाई सघाएँ । यस्ता ‘कन्ट्रिब्यूसन’ विगतमा मैले धेरै गरेको छु । त्यसैले मेरो पृष्ठभुमि नहेरी नाताका आधारमावा नजिक भएकै टिकट लियो भन्नु भ्रम मात्रै हो ।

दोलखाली जनतामाझ निर्वाचनमार्फत परीक्षणका लागि जाँदै हुनुहुन्छ । तपाईंको पृष्ठभूमि एक ठाउँमा होला । तर, जनताले त एजेण्डा खोज्लान् । के छन् तपाईका चुनावी एजेण्डा ?

अन्य पार्टीका उम्मेदवार भन्दा म भिन्न हुँ । भिन्न यसकारणले कि,मसँग दोलखालाई समृद्ध बनाउने ‘भिजन’ छन् । बेरोजगार समस्या समाधान गर्ने स्पष्ट योजना छन् । दोलखालाई पर्यटकको ‘हब’ बनाउनेसपना छन् । केही काम त मैले यसअघि पनि गरेको छु । जस्तो कालिन्चोकमा फस्टाएको पर्यटनलाइ हेर्न सकिन्छ । त्यहाँ अहिले केबुलकार संचालन भैरहेको छ ।यस्कै कारण पनि दैनिक चार हजारको संख्यामा पर्यटक जान्छन् । यस्ता काम शैलुङमा पनि गर्न सकिन्छ ।

देउढुंगा र बिगू गुम्बा यस्तै सम्भावनाले भरिएको धार्मिक क्षेत्र हो । हामीसँग च्छोरोल्पा ताल छ । गौरीशंकर हिमाल छ । जिरी सगरमाथा प्रवेशको मुख्य द्वार हो ।वेदिङ दोलखाको यस्तो गाउँ हो,जहाँका प्रत्येक स्थानीयसँग सगरमाथा आरोहरण गरेको अनुभव छ । यी पक्षलाई ‘ब्राण्डिङ’ गर्न सके सोच्नुहोस् त दोलखाको ‘इकोनोमी’ कहाँ पुग्छ ?दोलखाको पूर्वाधार विकास, कृषि, पयर्टन, जलस्रोत, सडक, शिक्षा, स्वास्थ्यलगायत समग्र क्षेत्रको विकासको नेतृत्व एमालेले गर्दै आएको छ । हामी त्यसलाई अझ व्यबस्थित रुपमा प्रतिबद्धतापत्र लिएर जनताको घरदैलोमा पुग्दैछौं ।

भौतिक पूर्वाधारको समूचित विकासबिना विकसित मुलुकबनेको उदाहरण संसारमा निक्कै कम छन् । यसमा तपाईको मत के छ ?

म राजनीतिक कार्यकर्तासँगै एक सामाजिक कार्यकर्ता हुँ । दोस्रो म उद्यमी–ब्यवसायी पनि हुँ । रोजगारीकसरी सिर्जना हुनसक्छ भन्ने कुरा मैले बुझेको छु । मैले धेरैलाई क्षमता अनुसारको काम दिएको छु । हुन त यी मेरा व्यक्तिगत विषय भए । म अहिले पार्टीको उम्मेदवार हुँ । मैले अब फरक ढंगले सोच्नु पर्छ । जस्तो खरिढुंगाको जीर्ण उद्योगलाई पुनः सञ्चालनमा ल्याउन सकिन्छ । यसो गरिँदा स्थानीय स्रोत परिचालन हुने मात्रै होइन ।

धेरैका लागि रोजगारीसिर्जना हुन सक्छ । तामाकोशी तेस्रो जलविद्युत आयोजना दोलखाको अर्को ‘ड्रिम प्रोजेक्ट’ हो । यसले दोलखाको मात्रै होइन, मुलुककै अर्थतन्त्रलाई नयाँ ढंगले चलायमान गर्न सक्छ । लामाबगर–फलाक सडक खुल्न सके यसले दुुई ठूला अर्थतन्त्र रहेको चीन र भारतलाई एकै ठाउँ ल्याउन सक्छ । यसले केबल दोलखा मात्र होइन, सिंगो मुलुकलाई समृद्धबनाउन सक्छ । यसका योजना मसँग छन् ।

तर, तपाईले यसो भनिरहँदा देशमा त एमालेको स्थिति कमजोर हुने हो कि भन्ने विश्लेषण पनि भइरहेका छन् नि ?

यी सत प्रतिशत गलत हुन् । यसअघि एमालेसरकारका पालामा भएका काम जगजाहेरै छ । काठमाडौं–तराई दु्रतमार्ग एमालेकै पालामा अघि बढ्यो । नागढुंगा सुरुङ मार्ग एमालेकै पहलमा बन्दैछ । बर्षौदेखि अलपत्र जनकपुर–जयनगर रेल एमालेले नै सञ्चालनमा ल्यायो । भुकम्पमा ध्वस्त धरहरा मात्र होइन, बसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र हेरौं । एमालेकै पालामा निर्माण भए । रानीपोखरी निर्माणमा कति ठूलो अवरोध थियो । एमालेले अग्रसरता नलिएको भए, त्यो अझैसम्म अलपत्र हुन्थ्यो । तीस बर्षदेखि संसद् भवन निर्माण अलपत्र थियो । अहिले भटाभट निर्माण भइरहेको छ । त्यसको सुरुवात पनि एमालेकै पालामा भएको हो ।

राष्ट्रियताका सवालमा हेरौं । ६० बर्षअघि गुमेको कालापानी, लिपूलेक र लिम्पियाधुराचुच्चे नक्सामार्फत एमाले सरकारको पालामा समेटियो । चीनसँग नाका खोल्ने बिषय हुन् वा नाकाबन्दीका बेला एमाले सरकारले लिएको अडाननै। यी तथ्यहरुलाई जनताले बिर्सेका छैनन् । त्यसो हुँदा एमालेसँग नीति छ, स्पष्ट कार्यदिशा छन् । यस्लाइकार्यान्वय गर्ने योजना छन् । यसर्थ एमाले कमजोर भएको होइन, झन बलियो भएको छ ।जनताले मंसिर ४ को निर्वाचनबाट एमालेले गरेका तमाम यी कामहरुलाई अनुमोदन गरेर बहुमतको सरकार बनाउन मतदान गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु ।

यसको अर्थ एमालेको स्थिति बिग्रिएको छैन ?

तपाईंले सतप्रतिशत सही कुरा भन्नुभयो । एमालेले मुलुकभरनै जीत हासिल गर्नेछ । बहुमतका साथ एमालेको नेतृत्वमा सरकार पनि बन्नेछ । यथार्थ यही हो ।

एमालेको नेतृत्वमा बहुमतको सरकार बन्छ भनिरहँदा गठबन्धन त ठूलो तयारीका साथ चुनावमा होमिएको छ नि ?

चुनावमा हार्छु भनेर त को जान्छ र? यो त सहजै बुझिने बिषय होइन ? तपाईले भने झै गठबन्धनले चुनाव त जित्छु भनेको छ । तर आधारहरु के हुन् ?तपाईले थाहा पाउनुभएको छ ? गठबन्धन दल सरकारमा छ । चुनावमा पनि उनीहरुको गठबन्धन कायम नै छ । प्रतिपक्षसँग डराएर सरकारपक्षीय दल गठबन्धन गरेर चुनावमा गएको उदाहरण संसारमा कहीँ छ ? तर, नेपालमा भयो । अब बुझ्नुहोस् एमाले कमजोर कि बलियो शक्ति हो । त्यसो हुँदा एमालेको स्थिति एकदम मजबुत छ । एमालेको जित सुनिश्चित छ ।

य जिरीको प्रसंग यहाँले माथि पनि उठाउनु भयो । यहाँले भने झै जिरी कुनै बेला सगरमाथा प्रवेश गर्ने मुख्य ढोका थियो । तर, अहिले त्यो सुनसान देखिन्छ । अन्य क्षेत्रको अवस्था पनि त्यो भन्दा फरक छैन र यसलाई त तपाई स्वीकार गर्नुहुन्छ नि ?

म यसलाई स्वीकार्न तयार छैन । जिरीप्राकृतिक रुपमाएकदम सुन्दर ठाँउ हो । यो नेपालकै मुख्य पयर्टकीयस्थलका रुपमा परिचित छ । तपाईंले भने झैं यो कुनै बेला सगरमाथाको प्रवेशद्वार थियो ।तर, यहाँ जुनस्तरका सौन्दर्यता छन् ,त्यसअनुसार विकास नभएकोभने साँचो हो । यसको अर्थ जिरीमा विकास निर्माण हुँदै नभएका होइनन् ।

विश्वमाझ जिरीको महिमा विश्वस्तरसम्म पुगेको छ । यहाँ प्राविधिक शिक्षालय छ । क्षेत्रीयस्तरको अस्पताल छ । सडक कालोपत्रे बनेका छन् । योजनावद्ध ढंगले सहरी बिकास गरिएका छन् । अब मानव निर्मित ताल बनाउने योजना छ । यी सबै हाम्रै अग्रज एमाले नेताको अथक पहलमा भएका हुन् । विकास निर्माणका काम यतिमै सकिने भन्ने होइन । जिरीलाई योभन्दा अझ उच्चस्तरमा विकास गर्न सकिन्छ । पर्यटकको ‘हव’ बनाउन सकिन्छ । यसका सम्भावना जिरीमा प्रचुर छन् ।

साँस्कृतिक पक्षबाट समेत जिरी बलियो छ । जिरेल जातिको उद्गम जिरी हो । उनीहरुका संस्कृति संरक्षण गर्न सके यो नेपालकै लागि नमुना बन्न सक्छ । यी लगायत धेरै सम्भावना छ जिरीमा । यसलाई नयाँ ढंगले विकास गर्न आवश्यक छ । यसको जिम्मेवारी हाम्रो काँधमा छ । त्यस्तै, यहाँको पयर्टन प्रवद्र्धनका लागि जिर्ण अबस्थामा रहेको विमानस्थललाई छिटोभन्दा छिटो संचालनमा ल्याउनका लागि मेरो मुख्य जोड रहनेछ । यो काम हामी पूरा गर्छौं ।

अब दोलखाको समग्र विकासतर्फ जाउँ । समृद्ध नेपाल : सुखी नेपाली एमालेको मुल नारा हो । तपाईँ निर्वाचित हुँदा दोलखाले कसरी लाभ लिनसक्छ ?

संविधानले समाजको आधार तयार गरेको छ । राजनीतिक अधिकारसँग जोडिएका मुद्दा सकिएका छन् । बाँकी भनेको समृद्धि हो । यसका लागि विकास आवश्यक छ । विकास गर्न नीति चाहिन्छ । नीति कार्यन्वयन गर्न भिजन चाहिने भयो । त्यो एमालेसँग छ ।

एमाले त्यो पार्टी हो, जसले लामाबगर नाका खोल्न चिनसँग सम्झौता गर्न सक्यो । त्यसलगतै एमालेबाट निर्वाचित सांसदकै अगुवाईमा सडक खोल्ने काम अघि बढेको छ । उक्त नाकालाई भारतसँग जोड्न तामाकोशी करिडोर बन्न आवश्यक छ । यसको ‘ड्रइङ डिजाइन’ मात्र होइन, निर्माणका कितपय काम समेत अघि बढेका छन् । तामाकोशी करिडोर निर्माणपछि दोलखा चीन–भारत जोड्ने गतिशिल पुल बन्न सक्छ । यसले दोलखालाई समृद्ध त बनाउँछ नै, सिंगो मुलुकको अर्थतन्त्रलाई कायापलट गर्न सक्छ ।

त्यस्तै, दोलखालाई बाह्य र आन्तरिक पयर्टनको आकर्षक गन्तव्यस्थल बनाउने,चलचित्र नगरीको कामलाई पूर्णता दिने,मुडे–बाघखोर सडक कालोपत्रेलाई छिटो पूर्णता दिने कामलाई प्राथमिकता दिइनेछ । मुडे–बाघखोर सडक कालोपत्रेपछि शैलुङको पयर्टन विकासलाई नयाँ उचाईमा पु¥याउन सकिन्छ । त्यस्तै, दोलखाको चक्रपथ सडकलाई पूर्ण रुपमा कालोपत्रे बनाउने, सिन्धुपाल्चोकको कर्थलीदेखि अपरतामाकोशी–सिंगटी जोड्ने सडक कालोपत्रे गर्ने, शैलुङ, कालिञ्चोक, च्छोरोल्पालाई पयर्टन विकासको हब बनाउने, कृषि उत्पादनमार्फत रोजगारी अभिवृद्धि गर्नेलगायतको काम अगाडि बढाइनेछ ।स्थानीय तहहरुसँगको समन्वयमा यी तमाम कम गर्दा दोलखाको आर्थिक विकासलाई नयाँ उचाईमा लैजानेछ भन्नेमा म विश्वस्त छु ।

दोलखामा एमालेको संगठन बलियो छ । यसमा शंका भएन । तर, अहिले राजनीतिक समिकरण फरक छ । यो पृष्ठभुमिमा तपाई चुनावमा जाँदै हुनुहुन्छ । स्वतन्त्र उम्मेद्वारका चुनौती अर्कातिर छन् । एमालेको बिगतका बिरासत जोगाउन सकिनेमा तपाई कतिको विश्वस्त हुनुन्छ ?

म पूर्ण विश्वस्त छु । केही राजनीतिक गतिविधि प्रतिकूल ढंगले विकास नभएका होइनन् । स्वतन्त्रहरुको अहिले बाढी छ । स्थानीय तह निर्वाचनका मत परिणाम हेर्दा केही सिटमा जीत पनि भएका छन् । तर, यी अपवाद मात्रै हुन् । यसले एमालेको जीतमा कुनै फरक पार्दैन ।

निर्वाचन महंगो बन्दै गएको बिषयमा तपाईको मत के छ ?

खर्च गर्नेहरुका लागि निर्वाचन महंगो नै भएको होला । तर, हामी नीति र नियममा चल्ने मान्छे हौं। खर्चका सम्वन्धमा निर्वाचन आयोगले सीमा तोकिदिएको छ र आचारसंहिताभित्र रहेर खर्च गर्ने हो । चुनाव लड्ने शैली आ–आफ्नै हुन्छ । खर्च कति गर्ने भन्ने बिषय त्यसमा पनि निर्भर होला । एमाले ठूलो पार्टी हो । यसको संगठन बलियो मात्रै छैन, जरासम्म फैलिएको छ । त्यसो हुँदा चुनावमा धेरै खर्च गर्नु पर्छ भन्ने मलाई लाग्दैन ।

समृद्ध दोलखा निर्माणका लागि यहाँले तमाम योजना अघि ल्याउनु भएको छ । तपाईले निर्वाचन पनि जित्नुहोला । अहिले प्रस्तुत भएका योजना हेरेर पाँच बर्षपछि तपाईंका मतदाताले प्रश्न गरे तपाई जवाफ दिन तयार हुनुहुन्छ ?

विल्कुल तयार छु । लेखेर राख्दा हुन्छ । मेरा योजना फगत चुनावी नारा मात्रै होइनन् । यी मेरा प्रतिवद्धता हुन् । मैले असम्भव कुनै एजेण्डा उठाएको छैन । यसका आधार छन् । त्यसोहुँदा पाँच बर्षपछि जनतासामु उभिएर मेरा एजेण्डका सन्दर्भमा फेस गर्न सक्छु । यो मेरा प्रतिवद्धता हो । यसमा म ‘कन्फिडेन्ट’ छु ।