बुटवल, कात्रिक १६ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पूर्वाधार विकासको क्षेत्रमा बुटवलले असाधारण फड्दो मार्ने बताउनु भएको छ ।
उहाँले रुपन्देहीमा सुरू गरिएका विकास आयोजनाहरू सम्पन्न हुँदा रूपन्देही नमूना जिल्ला बन्ने ठोकुवा पनि गर्नुभयो । बुटवल ११ प्रगतिनगरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै पौडेलले विकासका काममा राजनितिक रङ नदिन र सुरू गरिएका पूर्वाधारका काम सम्पन्न गर्न सघाउन सबैलाई आग्रह गर्नुभयो ।
नागरिकको जीवनस्तर माथि उकास्ने पहिलो खुड्किलो भौतिक विकास नै भएको उल्लेख गर्दै पौडेलले भौतिक विकास सँगसँगै अब शिक्षा, स्वास्थ्य र अन्य रोजगारी सृजना गर्ने काममा लाग्ने बताउनु भयो ।
रूपन्देही क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहनुभएका उपाध्यक्ष पौडेलले अन्तर्राष्ट्रिय स्तरको सभाहल र बेलहिया बुटवल ६ लेन सडक निर्माण सम्पन्न भइसकेको र तिनाउ–दानव करिडोर निर्माण भएपछि बुटवल नमूना सहरको रूपमा विकास हुने बताउनु भयो ।
‘हामी अन्य क्षेत्रबाट पनि विकास हेर्न रूपन्देही जानुपर्छ भन्ने देखाउने गरी विकास गर्न चाहन्छौं, अहिले जति पनि विकास आयोजना संचालित छन् ती सम्पन्न हुँदा साँच्चिकै रूपन्देही नमूना जिल्ला बन्ने छ,’ पौडेलले भन्नुभयो ।
उहाँले तिनाउ–दानव करिडोरको विषयमा गलत प्रचार गरी स्थानीयलाई आतंकित पार्ने काम गरिएको भन्दै विकासका आयोजना निर्माण गर्दा कुनै पनि नागरिकलाई बिचल्ली नबनाइने पनि प्रष्ट पार्नुभयो ।
‘तिनाउ र दानव नदीबाट बर्सेनि भइरहेको क्षतिलाई नियन्त्रण गरी व्यवस्थित सहर निर्माण गर्ने उद्देश्यले करिडोर निर्माणको काम अघि बढाइएको हो, करिडोर क्षेत्रमा पर्ने घर–परिवारलाई व्यवस्थित र सुरक्षित स्थानमा व्यवस्थापन गरेरमात्र यो आयोजनाको निर्माण अगाडि बढ्छ,’ पौडेलको भनाई थियो ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा क्षेत्र नं २ क का उम्मेदवार लिला गिरीले तिनाउ–दानव करिडोर बुटवलको महत्वाकांक्षी आयोजना भएकोले यसैको माध्यमबाट स्थानीयको जीवनस्तरमा उल्लेख्य परिवर्तन ल्याउने बताउनु भयो ।














प्रतिक्रिया दिनुहोस्