जनता टाइम्स

१६ कार्तिक २०७९, बुधबार १८:४०

रोशन कुमार न्यौपाने एनआइसी एशिया बैंकको सिइओमा पुनः नियुक्त


काठमाडौं, १६ कात्तिक । एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा रोशन कुमार न्यौपाने पुनर्नियुक्त हुनुभएको छ । कम्पनीको कात्तिक १६ गते बसेको सञ्चालक समितिको ५७३ औं बैंठकले न्यौपानेलाई मंसिर १५ गतेदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतको पदमा थप ४ वर्षको अवधिको लागि पुनर्नियुक्त गर्ने निर्णय गरेको हो ।

सन् २००८ अप्रिलदेखि तत्कालिन बैंक अफ एशिया नेपालमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत हुनुभएको थियो ।

सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रूपमा बैंकको नेतृत्व सम्हालेपछिको छोटो अवधिमा नै बैंक सञ्चालक समितिको मिति २०७५ मंसिर १६ को ३७९ औं बैंठकले उहाँलाई मिति २०७५ मंसिर १६ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।

३८ वर्षको उमेरमा नै नेपालको अग्रणी वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि उहाँ मुलुकको सबैभन्दा ‘कान्छो सिइओ’ को रुपमा समेत चर्चित हुनुभयो । रसुवा जिल्ला स्थायी घर भई हाल काठमाडौं बुढानीलकण्ठ बस्ने ४२ वर्षका न्यौपानेले उदाहरणीय क्षमता प्रदर्शन गर्दै आफ्नो करियरको छोटो अवधिमा नै अत्यन्त सफल प्रमुख कार्यकारी अधिकृतको रूपमा बैंकिङ क्षेत्रमा उदयमान हुनुभएको थियो ।

उहाँले बैंकको नेतृत्वदायी भूमिकामा आएपछि उदाहरणीय लगन, परिश्रम, दृढता, संकल्प, दक्षता र दृढ अठोट प्रदर्शन गर्दै गर्दा बैंक अधिकांश वित्तीय सूचकांकहरुमा पहिलो नम्बरमा पुगेको बताइएको छ ।