जनता टाइम्स

१८ कार्तिक २०७९, शुक्रबार १४:००

प्रदेशसभा उम्मेदवार चौधरी मतदाताको घरदैलोमा, अधुरा काम गर्ने विश्वास


बारा, १८ कात्तिक । एमालेबाट बारा १ (क) का प्रदेशसभाका उम्मेदवार त्रिलोकीप्रसाद चौधरी मतदाताको घरदैलोमा पुगेर राय सुझाव लिएका छन् । घरदैलोका क्रममा चौधरीसँग कोल्हवी र बारागढीका मतदाताले सडक, पिउने पानी र सिँचाइको राम्रो व्यवस्था गर्न माग गर्नुभयो ।

बुधवार निजगढ नगरपालिकाका विभिन्न वडामा पुगेका चौधरीलाई मतदाताले सिंगौल–फापरवारी, निजगढ–धियाल र निजगढ–अमलेखगंज सडक निमार्ण भए निकै सहज र छिटो हुने भन्दै उम्मेदवारको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले यातायातका निम्ति सिंगौल–फापरबारी, निजगढ–धियाल, रतनपुरी–अमलेखगंज, कोल्हवी–कलैया, कोल्हवी–सिमरालगायतका सडक निर्माणका निम्ति केन्द्रीय र प्रदेश सरकारको सहयोगमा पाँच वर्षभित्र सम्पन्न गरिने बताउनुभयो ।

उहाँले कोल्हवी, बारागढी र निजगढलाई केरा, धान र मकै खेतीको हवको रूपमा विकास गरिने बताउनुभयो । निजगढ नगरपालिकाको सिंगौल, रतनपुर, कोल्हवी र बारागढीमा पिउने पानी र सिँचाइको व्यवस्था गर्ने यस क्षेत्रका नदीबाट नहर निर्माण तथा नदी नभएका ठाउँमा भूमिगत सिँचाइलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।

यस्तै व्यावसायिक कृषिको रूपमा पशुपालन, बाख्रा, कुखुरा पालन, सामुदायिक तरकारी खेती, केरा खेती तथा अर्गानिक तरकारी उत्पादन, दूध प्रशोधन केन्द्र, कृषि उत्पादनको प्रशोधन उघोग तथा यहाँका उत्पादनबाट चल्ने कृषि उघोग सञ्चालनमा प्रशासनिक, पुँजी लगानी कार्य, प्रशासनिक कार्यालय तथा वित्तीय संस्थाबाट सहज लगानीको वातावरण तयार गरी पाँच वर्षभित्र कम्तीमा यस क्षेत्रका १५ सय युवालाई रोजगारी दिने गरी काम गर्ने उहाँले बताउनुभयो ।

यस्तै शिक्षामा सबै सामुदायिक सरकारी विद्यालयलाई सवलीकरण गरी सबै जनतामा शिक्षाको पहुँच पुर्‍याउनुका साथै प्राविधिक शिक्षा व्यवस्थापन गरी सिपसहितको जनशक्तिको उत्पादनमा प्रोत्सान दिने उहाँको भनाइ थियो । उहाँले निजगढ नगरपालिका, कोल्हवी नगरपालिका, बारागढी गाउँपालीकाभित्र रहेका अस्पताललाई आवश्यकअनुसारको दरबन्दी पदपूर्ति गरी व्यवस्थित रूपमा संचालनमा ल्याउन पहल र आवश्यक बजेट निकास गरिने आश्वासन दिनुभयो ।

उम्मेदवार चौधरीलेले एमाले सरकारले तराई मधेसमा हुलाकी राजमार्ग र सदरमुकाम जोड्ने सडकका लागि ठूलो बजेट छुट्टाएकाले मधेसको विकास हुन थालेको र एमाले सरकारले अघि बढाएका विकास निर्माणका अधुरा योजना पूरा गर्न फेरि एमालेले जित्नुपर्ने दाबी गर्नुभयो ।