रुपन्देही कात्तिक २० । नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बिष्णु पौडेलले आफ्नो निर्वाचन क्षेत्रका बिकासको गुरु योजनासहितको आफ्नो प्रतिवद्धता सार्वजनिक गर्नुभएको छ ।
बुटवल एव तिनाउदेखि सुनौली, मर्चवारसम्म र बर्दघाट त्रिवेणीसुस्तादेखी शिवराज कृष्णनगर कपिलवस्तुसम्मको क्षेत्रलाई समेटी बृहत लुम्बिनी गुरुयोजना तयार पारी कार्यान्वयन गर्ने अठोटसहित पौडेलले आज आफ्नो प्रतिवद्धता सार्वजनिक गर्नुभएको छ । पौडेलले जनताका १४ प्राथमिकता : पूरा गर्ने हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको हो ।
जनताका १४ प्राथमिकता : पूरा गर्ने हाम्रो प्रतिबद्धता
१. एकिकृत विकास र रुपान्तरणकारी पूर्वाधार सहितको बृहत लुम्बिनी
बुटवल एवम् तिनाउ देखी सुनौली, मर्चवारसम्म र बर्दघाट त्रिवेणीसुस्तादेखी शिवराज कृष्णनगर कपिलवस्तुसम्मको क्षेत्रलाई समेटी बृहत लुम्बिनी गुरुयोजना तयार पारी कार्यान्वयन गरिनेछ ।
यस क्षेत्रलाई उत्तर, दक्षिण, पूर्व एवम् पश्चिमका महत्वपूर्ण शहरहरुसंग जोड्ने सिद्धार्थ राजमार्गलाई डेडिकेटेड दुई लेनमा, पूर्व–पश्चिम राजमार्गलाई ६ लेनमा र अन्य सडकहरुलाई कम्तिमा डेडिकेटेड दुई लेनमा स्तरोन्नती गरिनेछ ।
–बुटवल, सिद्धार्थनगरलगायतका शहरहरुलाई आधुनिक सुविधायुक्त सडक, ढल, खानेपानी लगायतका पूुर्वाधार सहित स्वच्छ, सफा, सुन्दर बनाइनेछ ।
– बुटवल, सैनामैना र तिलोत्तमालगायत लुम्बिनी आसपासका विभिन्न क्षेत्रहरुलाई समेटेर थप नयाँ १० शहरहरु सहित यस क्षेत्रलाई विश्व शान्ति नगरका रुपमा यसक्षेत्रलाई मेगा सिटीका रुपमा विकास गर्न आवश्यक योजना निर्माण गरिनेछ । उक्त योजनालाई जनता एवम् सरोकारवालाहरुसंग छलफल गरि कार्यान्वयन प्रक्रिया थालिने छ ।
– तिलौराकोट क्षेत्रको उत्खनन र संरक्षण गरि प्राचिन कपिलवस्तुको र रामग्राम क्षेत्रको उत्खनन गरी प्राचिन कोलिय राज्यको प्रारुप सहितको शहरहरुको विकास गरिनेछ ।
– पुरानो बटौली बजारलाई संरक्षण सहितको प्राचिन सभ्यता शहरका रुपमा पुनरुत्थान गरिनेछ भने बुटवलको मुख्य बजार क्षेत्रलाई आधुनिक पूर्वाधारयुक्त व्यापारिक केन्द्रको रुपमा विकास गरिनेछ । सबै शहर एवम् ग्रामिण क्षेत्र आवश्यकता अनुसार फराकिला सडक सञ्जालबाट एक अर्कामा जोडिनेछ ।
२.शिक्षाको हब : युवालाई जब
– सम्पूर्ण सामुदायिक विद्यालयहरुलाई आवश्यकता अनुरुप सुविधा सम्पन्न विद्यालय भवन, कक्षाकोठा, दक्षजनशक्ति सहितका पूर्वाधारहरुको निर्माण र विद्यालयमा सुधार कार्ययोजना कार्यान्वयन गरि विद्यालय तहको शिक्षामा गुणात्मक सुधार ल्याईनेछ । संस्थागत विद्यालयलाई उत्कृष्ट शिक्षा प्रदान गर्न प्रोत्साहित गरिनेछ ।
– प्रत्येक विद्यालयमा कम्तिमा एउटा विशेष विषयको प्राविधिक शिक्षाको व्यवस्था र बुटवल स्थित केएनआईटी एवम् बिटिआई जस्ता प्राविधिक शिक्षालयहरुको स्तरोन्नती सहित वार्षिक रुपमा हजारौंको संख्यामा प्राविधिक एवंम सिपयुक्त जनशक्ति उत्पादन गरि रोजगारी एवंम स्वोरजगारीमा जोडिनेछ ।
– देवदहमा लुम्बिनी वौद्ध विश्वविद्यालय स्थापना सहितको सम्पूर्ण क्याम्पसहरुको स्तरोन्नती र शैक्षिक गुणस्तरमा सुधार ल्याईनेछ । यस क्षेत्रलाई अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि विद्यार्थीहरु आर्कषित हुने गरि मुलककै प्रमुख शैक्षिक हबका रुपमा विकास गरिनेछ ।
३. स्वच्छ गाँउ नगर : स्वच्छ नागरिक
– प्रत्येक टोल तथा बस्तीहरुमा सघन सरसफाई कार्यक्रम संचालन गरि फोहोरलाई घरबाटै प्रकृत्ति अलग अलग गरी (छुट्टाई) फोहोरको उचित व्यवस्थापन गरिनेछ ।
– सैनामैनामा निर्माणाधीन फोहोरमैला प्रशोधन केन्द्रको निर्माण कार्य सम्पन्न गरि फोहोरबाट मल,उर्जा एवम् औधोगिक कच्चा पदार्थ उत्पादन गरिनेछ ।
– योग, प्राकृतिक चिकित्सा जस्ता प्रर्वद्धनात्मक र वैकल्पिक उपचार पद्धतिमा जोड दिदै सैनामैनास्थित पदम पाणी योग तथा प्रकृतिक चिकित्सालय र बुटवलस्थित लुम्बिनी आयुर्वेद अस्पताललाई स्तरीय र सुविधा सम्पन्न बनाइने छ ।
– प्रत्येक नागरिकको स्वास्थ्य अवस्थाको डिजिटल तथ्यांक राखी वडा तहमै नियमित स्वास्थ्य परीक्षण र उपचारको व्यवस्था गर्न आवश्यक दक्ष स्वाथ्यकर्मी सहित स्वास्थ्य क्लिनिक एवम् आधारभूत अस्पतालहरुको व्यवस्था र विशिष्टिकृत स्वास्थ्य उपचारका निम्ति लुम्बिनी प्रादेशिक अस्पताल एवम् सिद्धार्थ महिला तथा बाल अस्पतालको स्तरोन्नति एवम् तिलोत्तमा मेडिकल कलेज सहितको अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न विशिष्टिकृत अस्पताल निर्माण गरिनेछ ।
– सरकारी अस्पतालहरुमा गैरनाफामूलक फार्मेसी सञ्चालन र गुणस्तरीय स्वास्थ्य परीक्षणका निम्ति सुविधा सम्पन्न डाइग्नोस्टिक सेन्टर स्थापना गरिनेछ ।
– सबै नागरिकको स्वास्थ्य बीमा गरी स्वास्थ्य सेवा पाउने हकको ग्यारेन्टी गरिनेछ । गरिबीको रेखामुनी रहेका सबै नागरिकको स्वास्थ्य बीमाको प्रिमियम शुल्क राज्यले ब्यहोर्ने छ ।
४. भूमिहीनलाई जग्गा : सबैलाई आवास
– भूमि आयोग गठन मार्फत् दुई वर्ष भित्र यसक्षेत्रका सबै भूमिहीन परिवारलाई जग्गा उपलव्ध गराइने छ ।
– अव्यवस्थित बसोबासी, गाउँब्लक, सहरी ब्लक, आँकडा, कोदाले, विटौरी, गुठीलगायतका भूमि सम्बन्धी सम्पूर्ण समस्याको दीर्घकालीन समाधान गरिनेछ ।
– प्रस्तावित तिनाउ–दानव करिडोर सडक निर्माण गर्दा प्रभावित हुने परिवार एवम् नदी तथा खोला किनारामा जोखिममा बसोबास गरिरहेका परिवारहरुका लागि बसोबास गरेकै पालिका भित्र विकसित एवम् सुरक्षित घडेरी उपलव्ध गराइने छ ।
– गरिबीको रेखामुनी रहेका सबै आवासबिहीन परिवारलाई आवासको ग्यारेन्टी गरिने छ ।
– मालपोत र नापी कार्यालयबाट सम्पादन हुने सेवालाई सहज, छरितो, पारदर्शी एवम् विश्वसनीय बनाइने छ ।
५. उद्योग तथा व्यापार : अर्थतन्त्रका आधार
– बुटवल औद्योगिक क्षेत्रलाई आधुनिक र पूर्वाधार युक्त बनाउँदै विस्तार गरिनेछ ।
– प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रमा रहेका भूमिहीन, सुकुम्बासी एवम् अव्यवस्थित बसोबासीहरुले भोगचलन गरिरहेको जग्गा औद्योगिक क्षेत्रको सीमांकनबाट अलग गरी उक्त औैद्योगिक क्षेत्रको गुरुयोजना परिमार्जन र कार्यान्वयन गरिने छ ।
– लुम्बिनी, कपिलवस्तुलगायतका पुरातात्विक सम्पदा क्षेत्र नजिकमा रहेका उद्योगहरुलाई विशेष प्रोत्साहन प्याकेज सहित नयाँ औद्योगिक क्षेत्रहरुमा स्थानान्तरण गरिनेछ ।
– सम्बन्धित उद्योगी व्यवसायीहरुलाई एवम् सरोकारवालाहरुसंगको समन्वय र सहकार्यमा बर्दघाटदेखि शिवराज सम्म र त्रिवेणीदेखि कृष्णनगरसम्मको उपयुक्त स्थानमा ठूला औद्योगिक क्षेत्रहरुको स्थापना गरिनेछ ।
– उद्योग, व्यवसाय दर्ता, एवम नवीकरणलगायतका कार्य एकद्वार प्रणालीबाट हुने व्यवस्था मिलाइनेछ ।
– विभिन्न बैकल्पिक वित्तीय उपकरणहरुको प्रयोग गरि निजी क्षेत्रलाई आवश्यक पर्ने लगानी प्रयाप्त मात्रामा र सहुलियत दरमा उपलव्ध गराइनेछ । पुँजी बजारलाई सुदृढ तुल्याइनेछ ।
६. युवा उद्यमशिलता प्रभावकारी : मर्यादित श्रम र रोजगारी
– काम गर्ने उमेर समूहका सबैको तथ्यांक संकलन गरी क्षमता अनुसार व्यवसायिक तालिम उपलव्ध गराइनेछ । र, उद्यमशिलता गर्न चाहनेहरुका लागि सहुलियत दरको ऋण उपलव्ध गराइने छ । साथै त्यस्ता उत्पादनको बजार प्रबद्र्धनमा सहयोग पुर्याइने छ ।
– बैदेशिक रोजगारीलाई स्वेच्छिक बनाइने छ । बैदेशिक रोजगारीमा जान चाहने युवाहरुका लागि तालिम र बैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको सीप, प्रविधि र पुँजीलाई उच्च प्रतिफलयुक्त क्षेत्रमा लगानी गरि आकर्षक एवम् सुरक्षित लाभांस पाउने अवस्था सुनिश्चित गरिनेछ ।
– श्रमिकहरुको न्यूनतम ज्याला, श्रम अधिकार र श्रम मापदण्डको कार्यान्वयन गरिने छ ।
७ पर्यटन, कला र संस्कृति : समग्र लुम्बिनी क्षेत्रको उन्नति
– पर्यटनलाई यसक्षेत्रको आर्थिक उन्नतिको प्रमुख सम्वाहकका रुपमा स्थापित गरिनेछ । यसक्षेत्रका सम्पूर्ण पुरातात्विक, ऐतिहासिक तथा सांस्कृति सम्पदाहरुको संरक्षण र विकास गर्दै पर्यापर्यटनसंग आवद्ध गरिनेछ ।
– नुवाकोट,बसन्तपुर, बल्ढेङगढीलगायतका पहाडी क्षेत्रमा हिलस्टेशनको विकास तथा तिनाउ एवम् दानव नदी क्षेत्रमा जलपर्यटनका साथै रमणीय पार्कसहितका पर्यटन स्थलहरुको विकास गरिनेछ ।
– वन तथा कृषि क्षेत्रमा पर्यापर्यटन एवम् कृषि पर्यटनबाट स्थानीय जनतालाई लाभ पुर्याउन विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
– गौतमबुद्ध विमानस्थल र यसक्षेत्रका महत्वपूर्ण पर्यटकीय स्थलहरुलाई आवद्ध गरि सुविधासम्पन्न पर्यटकीय बस सेवा सञ्चालन गरनेछ ।
– लुम्बिनी, कपिलवस्तु, रामग्राम र देवदहलगायतका बुद्धकालिन सम्पदा क्षेत्रहरुको संरक्षण गर्दै ती क्षेत्रहरुमा वर्षेनी लाखौं आन्तरिक र बाह्य पर्यटकहरुले भ्रमण गर्न सक्नेगरी आवश्यक पूर्वाधारहरुको विकास र पर्यटन प्रबद्र्धन गरिनेछ ।
– विविधतायुक्त विभिन्न भाषा, कला तथा संस्कृतिहरुको जर्गेना र प्रबद्र्धन गर्दै यसलाई पर्यटनसंग आवद्ध गरिनेछ ।
८. कृषियोग्य जमिनमा सिंचाई : किसानका लागि मनग्गे कमाई
– यसक्षेत्रका सम्पूर्ण कृषियोग्य भूमिमा बाह्रै महिना सिंचाई सुविधा उपलव्ध गराइनेछ । हाल सञ्चालित सिंचाई प्रणालीको मर्मत सम्भार सहित पूर्ण क्षमतामा सञ्चालन गरिनेछ ।
– कृषकहरुलाई वडा तहबाटै विशेषज्ञ सेवाका साथै समयमै रासायनिक मल, बीऊ बिजन तथा यन्त्र उपकरण सुपथ मूल्यमा उपलव्ध गराइनेछ । कृषि बीमाको व्यवस्था गरिनेछ ।
– बुटवल १६, सैनामैना–१ मा रहेको कर्साघाटमा राष्ट्रिय स्तरको कृषि उपज केन्द्र निर्माण गरि यस क्षेत्रको कृषि उत्पादन, भण्डारण र बजारीकरणको गुणात्मक अभिबृद्धि गरिनेछ ।
– कृषकको आम्दानीमा उल्लेख्य बृद्धि गरिनेछ । व्यवसायिक उत्पादन गर्ने कृषकसंग कृषि उपज खरिद सम्झौता गरी उत्पादित कृषि उपज सरकारले खरिद गर्ने सुनिश्चित गरिनेछ ।
९. स्थानीय पूर्वाधार : सेवा सुविधामा सुधार
– संघ, प्रदेश र स्थानीय तह बीचको समन्वय र सहकार्यमा यसक्षेत्रका डबल लेन स्तरका पुराना एवम् नयाँ बन्ने सम्पूर्ण सडकहरुमा नाली निर्माणसहित कालोपत्रे गरिनेछ ।
– झुम्साखोला खानेपानी आयोजनालाई यथाशीघ्र सम्पन्न गरी यस निर्वाचन क्षेत्रका सबै घर परिवारलाई पर्याप्त मात्रामा शुद्ध खानेपानी उपलव्ध गराइने छ ।
– विद्युत आपूर्तीलाई नियमित बनाउनुका साथै मुख्य बजार क्षेत्रमा विद्युत, टेलिफोनलगायतका तारहरु भूमिगत गरिनेछन् ।
१०. वन, वातावरण र विपद् व्यवस्थापन : स्वच्छ गाउँ नगर र सुरक्षित जनजीवन
– यसक्षेत्रका सम्पूर्ण वन क्षेत्रको संरक्षण गरिनेछ । तिनाउ, दानवलगायतका सम्पूर्ण नदी तथा खोलाहरुमा पक्की तटबन्ध निर्माण गरि घरबस्तीहरुको संरक्षण गरिनेछ ।
– सैनामैना नगरपालिकामा निर्माणाधीन फोहोर प्रशोधन केन्द्रको निर्माण कार्य सम्पन्न गरि सञ्चालनमा ल्याइनेछ ।
– सडकहरुमा हरियाली कायम गरिनेछ । सबै प्रकारका विपद्जन्य जोखिमहरुको नक्शांकन गरि विपदका दृष्टिले संवेदनशील क्षेत्रहरुको संरक्षण गरिनेछ ।
– लक्ष्मीनगर, ज्योतिनगरलगायत चुरे क्षेत्रको पहिरो संरक्षणका लागि विशेष कार्यक्रम ल्याइनेछ । यसक्षेत्रमा आधुनिक उपकरण एवम सामग्री व्यवस्था सहितको इमर्जेन्सी अपरेशन सेन्टर स्थापना गरि आपतकालित उद्धार तथा राहतको सुनिश्चितता गरिनेछ ।
११. युवाको चाहना : खेलकुदको व्यवस्था र स्वयम्सेवी भावना
– युवा उद्यमशीलता कार्यक्रम मार्फत युवाहरुलाई स्वरोजगार बनाउन विशेष कार्यक्रम सञ्चालन गरिनेछ । यसक्षेत्रका सम्पूर्ण खेल मैदानहरुको स्तरोन्नति गरिनेछ ।
– प्रत्येक वडामा कम्तिमा एक खेलमैदान, एक कभर्डहल र एक खुला व्यायामशाला निर्माण गरिनेछन् ।
– तिलोत्तमामा प्रस्तावित अन्तर्राष्ट्रिय स्तरको फुटबल रंगशाला र बुटवल–१३ मा कर्णेल उजीरसिंह जवई रंगशाला, सैनामैना–१ मा बहुउद्देश्यीय रंगशालाको निर्माण कार्य सम्पन्न गरि सञ्चालनमा ल्याइने छ ।
– राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरका खेलहरुमा विजेता खेलाडीहरुलाई नगद प्रोत्साहन पुरस्कारसहित सम्मान गरिनेछ र रोजगारी उपलव्ध गराइनेछ । खेलाडीहरुको स्वास्थ्य एवम् दुर्घटना बीमा निशुल्क गरिनेछ ।
– युवाहरुमा स्वयम्सेवी भावना विकास गरि सामाजिक काममा लाग्न प्रेरित गरिनेछ ।
– युवालाई कुलतमा लाग्नबाट बचाउन विशेष अभियान सञ्चालन गरिनेछ । दुव्र्यसन एवम कुलतमा लागेका युवाहरुलाई समाजमा पुनस्र्थापना गर्न विशेष पुनस्थापना केन्द्रहरु सञ्चालन गरिनेछ ।
१२. पछाडि पारिएकाहरुको इच्छा : सामाजिक न्याय र सुरक्षा
– सीप विकास, उद्यमशीलता, रोजगारी, शिक्षा र स्वास्थ्यको सुनिश्चितता, सबै क्षेत्रमा समानुपातिक प्रतिनिधित्व लगायतका व्यवस्थामार्फत महिलाहरुको सशक्तिकरण र सामाजिक मूल प्रवाहिकरण गरिनेछ ।
– सम्पूर्ण सार्वजनिक पूर्वाधारहरु बालमैत्री र अपांगमैत्री बनाइने छ । सुविधासम्पन्न ज्येष्ठ नागरिक मिलन केन्द्र, केयरहोम तथा ग्रामहरुको स्थापना र सञ्चालन गरिनेछ ।
– गर्भावस्था देखि बृद्ध अवस्थासम्मका जीवनका सबै अवस्थालाई समेटी जीवनचक्रमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिने छ ।
– अपांगता भएका, एकल महिला, यौनिक अल्पसंख्यक, दलित एवम् उत्पीडित वर्गको उत्थानका निम्ति विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
१३. सूचना प्रविधि र सञ्चार : बन्छ सुखमय संसार
– यसक्षेत्रका सबै स्थानमा तीब्र गतिको इन्टरनेट सुविधा सहित सूचना प्रविधि प्रयोगको सुनिश्चितता गरिने छ । सम्पूर्ण सार्वजनिक संघ, संस्था, निकाय र स्थलहरुमा इन्टरनेट सेवा निशुल्क गरिनेछ ।
– सूचना प्रविधिलाई नवीनतम उद्योगका रुपमा विकास गरि युवाहरुलाई स्वरोजगारी बनाउने एवम् रोजगारी उपलव्ध गराउन विशेष सहुलीयतका प्याकेजहरु ल्याइने छ ।
– आमसञ्चारका क्षेत्रलाई सम्मानित बनाउँदै आमसञ्चारकर्मीहरुको हक हितको संरक्षण र सञ्चार व्यवसायीहरुको व्यवसायिक दिगोपनको सुनिश्चितता गरिनेछ ।
– सबै सरकारी कार्यालयबाट प्रकाशन गरिने सूचना तथा लोककल्याणकारी सूचनाहरु (विज्ञापन)लाई पारदर्शी एवम् समानुपातिक प्रणालीका आधारमा उपलव्ध गराइनेछ ।
१४. विद्युतीय सुशासन : प्रभावकारी सेवा प्रवाह र जनमुखी प्रशासन
– तीनवटै तहका सरकारका सम्पूर्ण कार्यालयहरुमा विद्युतीय सुशाशन प्रणाली लागु गरि सहज, पारदर्शी एवम् प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गरिने छ ।
– विकास प्रक्रियामा स्थानीय जनताको सहभागितालाई महत्व दिइने छ । तीनै तहका सरकारका बीच समन्वय, सहकार्यका निम्ति आवश्यक संस्थागत संरचना र कार्य प्रणाली विकास गरि कार्य सम्पादनमा प्रभावकारीता ल्याइने छ ।
– तीनै तहका जनप्रतिनिधि एवम् सरोकारवालाहरु सम्मिलित साझा मञ्च निर्माण गरि लक्षित नीति कार्यक्रम तथा योजनाहरुको यथासमयमै गुणस्तरीय ढंगले सम्पन्न हुने कुराको सुनिश्चितता गरिने छ ।













प्रतिक्रिया दिनुहोस्