बुटवल, २३ कात्तिक । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक संकटप्रति चिन्ता व्यक्त गर्नुभएको छ । रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेका पौडेलले आज सैनामैना नगरपालिकामा घरदैलोका क्रममा मुलुक डरलाग्दो आर्थिक संकटमा फसेको बताउनुभयो ।
उहाँले सबै सूचकांक सकारात्मक नरहेको बताउँदै महँगी, बेरोजगार र तीव्र आर्थिक संकटले कतै पनि मन बुझाउने ठाउँ नरहेको दाबी गर्नुभयो । राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो दुई महिनाको समीक्षासहित प्रकाशित गरेको तथ्यांकमा सबै आर्थिक सूचकांकहरू नकारात्मक देखिएबो बताउँदै उहाँले मुलुक निराशाजनक स्थितिमा पुगेको टिप्पणी गर्नुभयो ।
पछिल्लो तथ्यांकअनुसार मुलुकको मुद्रस्फिीति ८ दशमलव ६४ प्रतिशत छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ३ दशमलव ४९ रहेको थियो । चरम मूल्यवृद्धि बेरोजगारीका कारण युवाहरू विदेश पलायन हुने दर अस्वाभाविक वृद्धि भएको भन्दै पौडेलले चिन्ता व्यक्त गर्नुभयो ।
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्यामा १६९ दशमलव ९ प्रतिशतले वृद्धि हुनु मुलुकका लागि राम्रो सन्देश नभएको उहाँले बताउनुभयो । एमालेका उपाध्यक्षसमेत रहेका पौडेलले गठबन्धन नेतृत्वको सरकारले मुलुकलाई सही दिशामा हिंडाउन नसक्दा अकल्पनीय ढंगले मुलुकको स्थितिले बाटो बिराएको दाबी गर्नुभयो ।
पौडेलले बुटवल–गोरुसिङ्गे हुँदै चन्द्रौटा जोड्ने सडक ६ लेनमा बिस्तारका लागि केही महिनामै टेण्डर प्रक्रियामा जाने बताउनुभयो । बेलहिया–बुटवल ६ लेन सडक निर्माणमा भएका कमजोरीलाई सच्याउँदै थप आकर्षक र व्यवस्थित ढंगले पूर्व–पश्चिम राजमार्गअन्तर्गतको बुटवल–चन्द्रौटा सडकलाई बिस्तार गरिने उहाँले बताउनुभयो ।
सडक निर्माणका लागि विश्व बैंकसँग नेगोसेसन गरी डिपीआर निर्माणलगायतका काम अघि बढेको बताउँदै उहाँले ३८ अर्ब लागतमा सडक बिस्तारको काम हुने उल्लेख गर्नुभयो । पौडेलले यो सडक निर्माणसँगै रुपन्देहीको सैनामैना तथा कपिलवस्तुलगायतका सहरहरूलाई थप व्यवस्थित र विकसित गराउने दाबी गर्नुभयो ।
सैनामैनामा निर्माणाधीन मुलुककै लामो चक्रपथ निर्माणले सैनामैनाको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो । मुलुककै लामो सैनामैना चक्रपथको ५७ किलोमिटर मध्ये करिब ४० किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्