लमजुङ २४ कात्तिक । जिल्ला निर्वाचन कार्यालयले सुन्दरबजार नगरपालिकाको खत्रीठाँटीमा नमूना मतदान सम्पन्न गरेको छ । जिल्लाका आठबटै पालिकामा नमूना मतदान कार्यक्रम सञ्चालन गरिए अनुसार सुन्दरबजार नगरपालिकामा भएको बताइएको छ । मतदानको क्रममा नगरपालिकाको वडा नं. ६ खत्रीठाँटीस्थित शान्ति निकेतन प्राथमिक विद्यालयको छेउछाउमा प्रहरीहरु राखिएका थिए ।
म्यादी प्रहरीहरुले सुरक्षाको व्यवस्था मिलाएका थिए । मतदान प्रक्रिया जसरी सञ्चालन हुन्छ, सोहीअनुसारका सबै प्रक्रिया पूरा गरी नमूना गरिएको थियो। बीचभागमा मतपत्र खसाल्नको लागि बाकस थियो। लाईनमा केही मानिसहरुलाई राखेर मतदान गर्न लगाइएको थियो । पालैपालो उनीहरुले डोरी टाँगिएको लाईनको घेराबाट गएर मतपेटिकामा मत खसालेका थिए ।
नमुना मतदानमा मतदान कसरी गरिन्छ भन्ने समेत जानकारी गराइएको थियो । उक्त कार्यक्रममा मतदान प्रक्रियाको लागि ३४ जना महिला र ४१ जना पुरुष गरी ७५ जना सहभागी भएका थिए । उनीहरुले दिएका मतमध्ये ८ मत पूर्ण रूपमा बदर भएका थिए। मतदाताले विभिन्न चारबटा मतपत्रमा आफूले रोजेको चिन्हमा छाप लगाएर मतदान गरेका थिए ।
मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनावचिह्नमा मत दिन सिकाइएको थियो। मत बदर नहुने गरी मतपत्र पट्याउन समेत सिकाइएको थियो । यसैगरी निर्वाचनको क्रममा हुने समस्या र समाधानको उपायबारे समेत जानकारी दिनुका साथै अभ्यास गराइएको थियो ।
कार्यक्रममा नगरपालिका प्रमुख कृष्ण प्रसाद कोइराला र उपप्रमुख भवानी केसी, जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायण सापकोटा, वडा नं. ५ र ६ का वडा अध्यक्षहरु श्रीकाजी गुरुङ र दिनेश बाबु कोइराला, सुरक्षा निकाय, म्यादी प्रहरी, सञ्चारकर्मीलगायत स्थानीयको उपस्थिति थियो । स्थानीय चुनाव र अहिलेको मतपत्र फरक भएको र बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान कार्यक्रम गरिएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताउनुभयो ।
जिल्लाका आठबटै पालिकामा आज नमूना मतदान कार्यक्रम सम्पन्न हुने जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख नारायण सापकोटाले बताए। सापकोटाका अनुसार जिल्लामा जिल्ला कारागार र जिल्ला समन्वय समिति अस्थायीसहित एक सय ३० वटा मतदानस्थल र एक सय ८८ वटा मतदान केन्द्र छन् ।
जसमध्ये सुन्दरबजार नगरपालिकामा २९ मतदान केन्द्र रहेका छन् । जसमा २१ हजार १ सय ३८ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता छन् । लमजुङमा निर्वाचन सुरक्षार्थ दुई हजार तीन सय ७६ सुरक्षाकर्मी खटिँदै छन् ।













प्रतिक्रिया दिनुहोस्