जनता टाइम्स

२५ कार्तिक २०७९, शुक्रबार ०८:४७

निर्वाचन पछि पनि गठबन्धन सरकार बन्यो भने दुर्भाग्य हुन्छ : केसी


बागलुङ, कात्तिक २५ । नेकपा एमाले बागलुङका अध्यक्ष तथा गण्डकी प्रदेशसभा सदस्य पदका उमेदवार हिरा बहादुर केसीले आगामी निर्वाचन पछि पनि मुलुकमा गठबन्धन सरकार बन्नु भनेको मुलुक बर्बादीतर्फ जाने बताउनु भएको छ ।

नेकपा एमाले गण्डकी प्रदेशसभा सदस्य पदका उमेदवार केसीले आज बागलुङ नगरपालिका वडा नं. ९ तित्याङमा आयोजित चुनावी कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो । डेढ वर्षको अवधीमा गठबन्धन सरकारले मुलुक श्रीलंकाको पथमा लैजान खोजेको भन्दै केसीले आगामी चुनावबाट यही सरकार रहने अवस्था आए मुलुकको वर्वादी रोक्न नसकिने बताउनु भयो ।

वर्तमान सरकारले नागरिकता विधेयक, एमसीसी, एसपीपी जस्ता राष्ट्र विरोधी कार्य गर्नुका साथै उपभोग्य वस्तुको मूल्य दोब्बर दृद्धि गरेर जनताको ढाड सकेको बताउनुभयो ।

कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटिका सचिवालय सदस्य तथा प्रदेशसभाका समानुपातिक उमेदवार कृष्ण पाठकले राष्ट्रियताको जर्गेना गर्न, आर्थिक तथा सामाजिक विकासका लागि एमालेको विकल्प नभएको बताउनुभयो । गण्डकी प्रदेशमा एमाले नेतृत्वको प्रदेश सरकार र गठबन्धन नेतृत्वको सरकारले गरेका कामहरुको मूल्यांकन गरेर मतदान गर्न उहाँले आव्हान गर्नु भयो ।

तित्याङका विभिन्न टोलहरुमा आयोजित टोलभेलामा एमाले जिल्ला उपसचिव गणेश थापा, जिल्ला सदस्यहरु अनन्त बहादुर खड्का, भावना खड्का लगायतले मुलुकको स्थिरता र विकासका लागि एमाले नेतृत्वको सरकार गठनका लागि एमाले उमेदवारहरुलाई विजयी गराउन आव्हान गर्नु भएको थियो ।