जनता टाइम्स

२७ कार्तिक २०७९, आईतवार ०९:१६

बुथ कब्जाको हर्कत भए हामी जस्ताको तस्तै प्रतिवाद गर्छौं : आनन्दप्रसाद पोखरेल (अन्तर्वार्ता)


नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल सिंगो बागमति प्रदेशमै पार्टी उम्मेदवार जिताउने अभियानमा जुटनु भएको छ । आफ्नो गृहजिल्ला दोलखासहित पोखरेलले बागमतिको समेत चुनावी कमाण्ड सम्हालीरहनु भएको छ । चुनावको मिति नजिकिँदै जाँदा भने उहाँ आफ्नै गृहजिल्लामा मतदाता भेटघाट र सभामा ब्यस्थ हुनुहुन्छ । एमालेको लालकिल्ला दोलखामा स्थानीय तहको निर्वाचनमा अपेक्षित परिणाम आउन सकेन । सत्ता गठबन्धनसँग एक्लै लडेको एमालेले आफूले जित्ने आँकलन गरेको पालिकासमेत गुमाउनु पर्यो । आगमी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि एमालेबिरुद्ध गठबन्धन बनेको छ । कस्तो छ त समग्र चुनावी अवस्था ? एमालेले आफ्नो बिरासत कायम राख्छ त भन्ने बिषयमा केन्द्रीय रहेर पूर्वमन्त्री पोखरेलसँग कुराकानी गरिएको छ । प्रस्तुत त कुराकानीको सम्पादित अंश :

चुनाव आउनै लाग्यो, कस्तो छ तपाईंको मुल्यांकण ?

विपरित राजनीतिक आस्था बोक्ने माओवादी र कांग्रेसहरु एक आपसमा नेकपा एमालेलाई हराउनै पर्छ भन्ने मान्यताका साथ अभियान संचालन गर्ने प्रयत्न गरिरहेका छन तर त्यसमा पनि उनीहरुको तालमेल मिलेको छैन । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उनीहरुसंगै हिँडेर कतैपनि भोट मागेको मैले देखेको छैन । आफ्ना आफ्ना ढंगले चलेको देखिन्छ ।

यो चुनावमा मतपत्र हेर्दा नेपाली कांग्रेसले आफ्नो चिन्ह नपाउने र समाजवादीले पनि आफ्नो चिन्ह नपाउने हुँदा साँच्चै भन्दा प्रतिनिधिसभामा आमनेसामनेको प्रतिस्पर्धा भनेको नेकपा एमाले र माओवादी केन्द्रबीचको जस्तो मात्र देखिन्छ । नेपाली कांग्रेस भनेका लोकतन्त्रवादी पार्टीका साथीहरु हुन, हिजो लगातार पञ्चायत बिरोधी आन्दोलनदेखि संघिय लोकतन्त्रलार्ई व्यवस्थित गर्नसम्म हामीसंगै हिँडेका हौं । त्यसकारण यो दोलखाको सन्दर्भमा नेपाली कांग्रेसले पनि नेकपा एमालेलार्ई व्यापक रुपमा समर्थन गर्ने र भोट दिने स्थिति छ । दोलखामा वास्तवमा जनस्तरमा गठबन्धन नै छैन र असर पनि छैन ।

यहाँ आफै पनि लामो संसदीय भूमिकामा रहनुभयो । नेकपा एमालेलाई एउटा गम्भिर आरोप लाग्ने गरेको छ कि लामो समयसम्म जिल्लाको नेतृत्व गर्ने अवसर प्राप्त गरेपनि जिल्लामा खासै काम गर्न सकेन भनेर, यो सन्दर्भमा यहाँहरुको भनाइ के छ ?

नेकपा एमाले भनेको निरकुंश पन्चायत व्यवस्थालाई तत्कालिन माले पार्टीको नाममा जिल्लामा संघर्ष गरेर पञ्चायतको अन्त्य गरेको क्षेत्र हो । त्यतिबेला जनआन्दोलन परिचालन गर्दा नेपाली कांग्रेस दोलखा सहयोगीको रुपमा मात्र थियो भने नेकपा एमाले राजनीतिक अगुवा भएको थियो । जतिबेला २०४८ सालमा निर्वाचन भयो । त्यसपछिको विकासलाई विश्लेषण गर्ने हो भने जतिपनि भौतिक विकास र सडकको विकास भएको हेर्नुभएको छ । त्यो भौतिक पूर्वाधारको विकासको लागि नेकपा एमाले मात्र सिंगल हकदार हो र उसैको नेतृत्वमा मात्र भएको हो ।

त्यस्तै जलविद्युत विकासको कुरा जिल्लामा सपनाको कुरा थियो, हामीले स्वदेशी पूँजीमा माथिल्लो तामाकोशी आयोजना बन्नुपर्छ भनेर लबिङ्ग गर्दा कतिपय वित्तिय एकाधिकार पूँजिवादका पक्षपोषण राजीनीतिक दलहरु, सरकार र विद्युत प्राधिकरण मिलेर बनाउन सक्छ भन्ने दिमागमा कसैको थिएन । यस्का लागि मेरै संयोजकत्वमा सबै सरोकारवालाहरु राखेर तामाकोशी सरोकार समिति बनाएर राष्ट्रिय अभियानको माहोल थालनी गर्यौं ।

संसदमा नेपाली कांग्रेसका अर्थमन्त्रीले नेकपा एमालेका सांसदहरुलाई अपमान गरिरहेको बेला मैले स्वदेशी लगानीमा माथिल्लो तामाकोशी नबने र सरकारले यस्को नेतृत्व नलिए आत्मदाह गर्छु भनेर बजेटको घोषणा भैसकेपछि पनि विद्युत प्राधिकरणसँग सम्झौता गरेर २६ करोड बजेट र सात करोड रुपैँया बजेट लिएर बाटो सडक बनाउने काममा अगुवाइ भयो । पहिलो चोटी जनतालाई शेयर दिने कुरालाई नीतिगत रुपमा निर्णय गर्ने र स्वदेशी पूँजीमा बनाउने कामको नेतृत्व नेकपा एमालेले गरेको हो । त्यसैको प्रकाशभित्र अहिले थुप्रै सानाठूला नीजि क्षेत्रका आयोजनाको विकास भएको छ । आगामी दिनमा अझै हुने सम्भावना छ ।

त्यस्तै २०४८ सालमा एउटा प्रमाणपत्र पढाइ हुने क्यापस थियो गौरीशंकर क्याम्पस । अहिले स्नात्तकोत्तरसम्मको बहुमूखी क्याम्पस भएको छ । जिल्लाभित्र ११ वटा उच्च शिक्षाका क्याम्पस, ३० वटा उच्च माध्यमिक विद्यालय, १० वटा प्राविधिक शिक्षालय, ७० भन्दा बढी नयाँ माध्यमिक विद्यालय र १५० भन्दा बढी आधारभूत विद्यालयहरू स्थापना भएका छन् । अहिले दोलखाको साक्षरता प्रतिशत झन्डै ९८ प्रतिशत पुगेको छ । यसको विस्तार र स्तरोन्नतिमा नेकपा एमालेकै नेतृत्वले विशेष पहलकदमी लिएको तथ्य जगजाहेरै छ । सामाजिक सुरक्षा, पर्यटन क्षेत्रको विकास, सांस्कृतिक क्षेत्रको विकास लगायतका पूर्वाधार निर्माणका कुराहरु हाम्रै नेतृत्वमा भएको हो ।

भूकम्पपछि जिल्लाभित्र बनेका करिब ८० वटा आधुनिक र भव्य विद्यालय भवनहरूमा विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला, २ दर्जन जिल्लास्तरीय सरकारी भवनहरू, ६० भन्दा बढी वडा कार्यालयहरू, स्वास्थ्य चौकी भवनहरू, सुरक्षा निकायका भवनहरू र सामुदायिक भवनहरू निर्माण भएका छन । अरु राजनीतिक दलहरुले, निर्वाचितहरुले सहयोगी भूमिका निर्वाह गरेपनि दोलखाको नयाँ भिजन र विकासका लागि नेतृत्व नेकपा एमालेले गरेको हो । त्यसकारण विकासको उपलब्धि होस् वा कमीको पनि हामी भागिदार हौं । जे अपूग छ, त्यस्को लागि दोलखाले प्रतिवद्धता पत्र जारी गरेको छ । ती जारी गरेका प्रतिवद्धतालाई पुरा गर्ने हिम्मत पनि नेकपा एमालेले मात्र गर्न सक्छ । जनताले उठाएका गुनासालाई म सकारात्मक रुपमा लिन चाहन्छु । धन्यवाद दिन चाहन्छु । अब बाँकी रहेका कुराहरु पुरा गर्न पनि दोलखाली जनताले मंसिर ४ गते सूयमा भोट दिएर जिताउनु पर्छ ।

यहाँहरुको घोषणापत्रमा उल्लेख गरिएका विकास र परिवर्तनका उपलब्धिहरु एमाले एक्लैले गरेको हो र भन्ने कुराहरु पनि आउने गर्छ नि ?

यस्को प्रश्न र उत्तर खोज्नेहरुमा पनि विरोधाभास छ । मैले भने नि अरु राजनीतिक दलहरुको पनि कँहि न कँहि आंशिक सहयोगी भूमिका होला तर दोलखा जिल्लाको उपलब्धिको नेतृत्व नेकपा एमालेले मात्र गरेको हो ।

अबको निर्वाचनमा नेकपा एमालेले जित्ने आधारहरु केके हुन् ?

दोलखाली जनताको जति पनि घरघर पुगेको छु, उहाँहरुले भौतिक विकास र यातायातको विकासको प्रश्न गर्नुभएको छ । अहिले ३०० किलोमिटरभन्दा बढी पक्की सडक छ । २००० किलोमिटरभन्दा बढी कच्ची सडक निर्माण गरेको छौं । जिल्लाका ७४ वडामध्ये ७० भन्दा बढी वडा कार्यालयहरूबाट कम्तिमा टाढाबाट ३ घण्टा र नजिकबाट बढिमा १ घण्टाको यात्रामा सदरमुकाम आइपुग्न सक्ने गरि पूर्वाधारको विकास गरेका छौं । त्यसलाई कालोपत्रे गर्नुपर्ने कुरा जनताले उठाउनुभएको छ । हामीले प्रतिवद्धता पत्रमा पनि त्यो कुरा जाहेर गरेका छौं ।

अर्को कुरा भनेको जनताको सपना तामाकोशी तेस्रो जलविद्युत आयोजना हो । यस्को लागि अहिले करिब ६५० मेगावाट जुन पहिले १२०० मेगावाटको डिपिआर बनाउने काम भयो । तत्कालिन जलश्रोत मन्त्री जनार्दन शर्माले यसको ६५० मेगावाटको क्षमातालाई ३०० मेगावाटको हाराहारीमा झारेर एसियन पावरको नाममा भएको लाईसेन्स खारेज गरी भवन भट्ट भन्ने व्यक्तिको नाममा दिएर क्षमतालाई अवमूल्यन गर्नुभयो र भवन भट्टले त्यो आयोजना संचालन पनि गरेरनन । त्यो तामाकोशी तेस्रो जलविद्युत आयोजना बन्न नदिने जुन खालको षड्यन्त्र गरेर दोलखाली जनतालाई ठग्ने काममा प्रत्यक्ष रुपमा नेकपा माओवादी केन्द्रको हात रहेको कुरा जानकारी गराउन चाहन्छु ।

जसरी माथिल्लो तामाकोशी जलविद्युत आयोजना बनाउन नेकपा एमालेले नेतृत्व गरेको थियो , त्यसरी नै अब यो आयोजना पनि ५ वर्षभित्र संचालनको प्रक्रियामा अघि बढाउने हामीले प्रतिवद्धता व्यक्त गरेका छौं । जलविद्युतको विकास गरेर तामाकोशीले के दियो भन्ने प्रश्न पनि कतिको छ । तामाकोशीले झन्डै ६० करोडको वार्षिक रोयल्टी गौरीशंकर र विगु गाँउपालिकालाई दिन्छ । खिम्ति जलविद्युत आयोजनाले ६ करोड रोयल्टी तामाकोशी गाँउपालिकालाई दिन्छ । साथै दोलखा जिल्लामा हामीले गरेको प्रतिफलको स्वरुप नेपालबाट विद्युत भारतलाई बेच्ने आयोजनाको रुपमा भएको छ । यस आयोजनाकै कारण नेपालको उत्तरतिर जाने हिमालसँग जोडिने पूर्वाधार विकास पाएका छन् । आयोजनाले जीवनस्तरमा परिवर्तन गरेको छ । यो हाम्रो ठूलो उपलब्धि हो ।

यस्को दीर्घकालिन महत्व छ भन्न खोज्नुभएको हो ?

हो । राष्ट्रिय रुपमा अझ फाइदा छ । एक महिना अघिको डाटा भन्ने हो भने १७ अर्ब बराबरको बिजुली भारतमा निर्यात गरेको छ । त्यस्ले व्यापार घाटा घढाउन प्रत्यक्ष लाभ दोलखाले दिएको छ । शेयरको कुरा गर्दा अब हामीले २५ प्रतिशतभन्दा बढी जनाताको क्षमता अनुसार प्रभावित क्षेत्रका जनतालाई बिजुलीमा लगानी गर्ने अवसर दिनुपर्छ भन्ने नयाँ मान्यता बनाएका छौं । प्रदेशबाट पनि हामीले जिल्लाको पर्यटन प्रवद्र्धनको कुरा लेखेका छौं । जिरिको मानव निर्मित ताल , फिल्म सिटी, कालिन्चोकलाई प्रवद्र्धन गर्ने विषयहरु प्राथमिकतामा छन् । त्यस्तै दोलखामा १२ जनजातिहरु छन् । दोलखामा रहेका लोपोन्मुख, अल्पसंख्यक, सम्पूर्ण जनजाति तथा जातिहरूको मौलिक संस्कृति तथा इतिहासको जर्गेना गर्न जातीय संस्कृतिलाई जोडेर सांस्कृतिक राष्ट्रवादको अवधारणासहित अघि बढ्नुपर्ने आजको आवश्यकता छ । पौराणिक र सांस्कृतिक इतिहास बोकेको हाम्रो जिल्ला धार्मिक र सांस्कृतिक पर्यटनका लागि उदगम स्थल हो ।

प्राकृतिक रुपमा च्छोरोल्पा, शैलुङ्ख, गौरीशंकरजस्ता ठाँउहरु छन् । यी ठाँउहरुको विकासको सम्भावनाले समृद्धिको आधार तयार हुन्छन, जस्ले आन्तरिक रोजगारी सिर्जना गर्ने प्रचुर सम्भावना रहन्छ । विदेशबाट फर्किएर आएका दोलखालीहरुलाई कर्जासहितको उद्यमशीलताको विकास र एउटा वडामा कम्तिमा १५ जनालाई सीपमूलक तालिमको व्यवस्था गर्ने हामीले सोच बनाएका छौं । दोलखाली जनता र सिंगो नेपालले नै नेकपा एमाले मात्रै विकास र समृद्धिको भिजन भएको पार्टी भएको बुझेका छन् । त्यसकारण पनि जनताले हामीलाई भोट दिने भन्नुभएको छ ।

यो चुनावमा मतपत्र हेर्दा नेपाली कांग्रेसले आफ्नो चिन्ह नपाउने र समाजवादीले पनि आफ्नो चिन्ह नपाउने हुँदा साँच्चै भन्दा प्रतिनिधिसभामा आमनेसामनेको प्रतिस्पर्धा भनेको नेकपा एमाले र माओवादी केन्द्रबीचको जस्तो मात्र देखिन्छ । नेपाली कांग्रेस भनेका लोकतन्त्रवादी पार्टीका साथीहरु हुन, हिजो लगातार पञ्चायत बिरोधी आन्दोलनदेखि संघिय लोकतन्त्रलार्ई व्यवस्थित गर्नसम्म हामीसंगै हिँडेका हौं । त्यसकारण यो दोलखाको सन्दर्भमा नेपाली कांग्रेसले पनि नेकपा एमालेलार्ई व्यापक रुपमा समर्थन गर्ने र भोट दिने स्थिति छ । दोलखामा वास्तवमा जनस्तरमा गठबन्धन नै छैन र असर पनि छैन 

अहिले विदेशीहरुको चलखेल र साँठगाँठ बढेको छ । गठबन्धनहरुले कम्फर्टेबलको सरकार बनाएर नेपालको राष्ट्रियतामाथि सौदावाजी गर्ने काम गरेको छ । त्यस्को विरुद्धमा नेकपा एमाले उभिएको छ । त्यसकारण गठबन्धनले निम्त्याएको हस्तक्षेपलाई पराजित गर्ने प्रतिवद्धताका साथ हामी अघि आएका छौं । स्वाभाविक रुपमा नेकपा एमालेको पक्षमा नेपाली जनता छन ।

अन्त्यमा निर्वाचनलाई फर्केर हेर्दा, दोलखा अशान्त हुने घटनाहरु भएका छन । यो पटकको निर्वाचन शान्तिमय रुपमा सम्पन्न गर्न यहाँहरको योजना के छ ?

गठबन्धनका राजनीतिक दलहरुलाई दोलखामा मात्र होइन, देशभरनै जनताले मत दिएर जित्छु भन्ने छैन । उनीहरुको व्यक्त अव्यक्त कुरा के हो भने हामीसँग सत्ता छ । गठबन्धन छ । हामी राज्य शक्ति प्रयोग गछौं, सुरक्षा निकाय, कर्मचारी परिचालन गछौं र लुटेर जित्छौं भन्ने छ । केही उम्मेदवारले अहिले त्यहि कुरा प्रचार गरेर पनि हिँडेका छन् । दोलखा जिल्ला अहिले मात्र होइन, २०५१ सालमा चुनाव लड्दा नेपालका सम्मानित नेता भीमबहादुर तामाङ्ख मेरो प्रतिस्पर्धी हुनुहुन्थ्यो । त्यतिबेला ६ ठाँउ मतदान केन्द्र कब्जा गरेर आफै बसेको झुलेमा पनि १७ सय ४ मतमा पनि १७ सय १ मत हालेर मलाई पराजित गरेको हो । यो बुथ कब्जा गर्ने र बुथ लुट्ने काम त्यतिबेलादेखि नै नेपाली कांग्रेस र २०६४ मा नेकपा माओवादीले बुथ कब्जा गरेको संस्कृति विकास भएको छ । यसप्रति म घोर आपत्ति जनाउछु । यस्ले गर्दा दोलखा जिल्ला बद्नामी जिल्ला चाँही भएको छ । म राजनीतिक दलहरुलाई जनताको अधिकारलाई सम्मान गर्न आग्रह गर्दछु ।

हामीले निर्वाचन आयोगको आचासंहिता जतको तस्तै पालना गरेका छौं, रक्षा पनि गरेका छौं । दलहरुलाई आह्वान पनि गरेका छौं । तर बुथ लुटेर गरेर, प्रोक्सी मत खसालेर जित्ने सपना उहाँहरुले देख्नुभएको छ भने नेकपा एमालेको अहिले तागत सुषुप्त बस्दैन । हामी त्यो मान्यता पनि राख्दैनौं । तर अशान्तकै बिउ रोप्नुहुन्छ भने हामी जस्ताको तस्तै प्रतिवाद गर्छौं । म राजनीतिक दल र गठबन्धनहरुलाई के आग्रह गर्छु भने त्यो तहसम्म नपुर्याउनुस । प्रजातन्त्रको सुन्दर पक्षहरुलाई कायम गरौं । अतिरिक्त क्रियाकलापहरुबाट पछि हटौं भन्ने आह्वान गर्न पनि चाहन्छु । यस्लाई नेकपा एमालेको कमजोरी पनि नठानियोस् । यदि उहाँहरु त्यसै ढंगले आउनुभयो भने हामी टिट फर ट्याटको बाध्यताबाट पनि जानुपर्छ । त्यो किसिमको माहोल बन्ने छैन भन्नेमा मेरो विश्वास छ ।