जनता टाइम्स

२७ कार्तिक २०७९, आईतवार ०९:४७

एमालेको नेतृत्वमा बहुमतको सरकारभन्दा दायाँबायाँ सोचेकै छैनौं : अग्नि खरेल (अन्तर्वार्ता)


कम्युनिस्ट किल्लाको रुपमा परिचित झापा–१ मा यसपटक राष्ट्रिय राजनीतिका प्रभावशाली राजनीतिज्ञ, संविधान र दर्जनौं कानूनका मस्यौदाकार, शालीन, बौद्धिक, विकासप्रेमी एवम् लोकप्रिय व्यक्तित्व नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेल प्रतिनिधिसभाको साझा उम्मेद्वार हुनुहुन्छ । चुनावी सेरोफेरोमा उहाँसँग पत्रकार अम्बिका भण्डारीले लिनुभएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ :

मतदातासँग कस्तो प्रतिवद्धता लिएर जाँदै हुनुहन्छ ?

स्थानीय आवश्यकता र समस्यामा हाम्रा प्रतिबद्धताहरु केन्द्रित छन् । राष्ट्रिय समस्या भुलेको होइन । तर, स्थानीय जनताले रोजेका र खोजेका विकास र समाधानका विषयमा हामी केन्द्रित छौं । कहाँ के समस्या छन् र त्यसको मूल चुरो कहाँ छ भनेर हेर्ने र समाधान कसरी दिन सकिन्छ भनेर बाटो पहिल्याउने हाम्रो प्रतिबद्धता छ ।

झापाका पाँचै वटा निर्वाचन क्षेत्रमध्ये विकासमा सबैभन्दा पछाडि परेको झापा–१ नै हो । हाम्रो क्षेत्रको समृद्धिका लागि, तमाम समस्याको समाधानका लागि हामी स्थानीय प्रतिवद्धता समेत जारी गर्दैछौं । पूर्वाधार, शिक्षा, स्वास्थ्य, सुरक्षा, रोजगारी जस्ता विषयमा हामी यस क्षेत्रलाई नमुना बनाउनेछौं । उदाहरणका लागि हात्तीको आतंकलाई लिन सकिन्छ । यो समस्याको स्थायी समाधान दिने हाम्रो मुख्य प्रतिबद्धता हो ।

जनताबाट के कस्ता अपेक्षा र प्रतिक्रियाहरु पाइरहनु भएको छ ?

जनताको अपेक्षा ज्यादातर् विकास र समृद्धिसँग गाँसिएको छ । समृद्ध नेपाल र सुखी नेपाली, हाम्रै पार्टीले भन्दै आएको छ । हामीले नारा मात्र दिएका छैनौं, हामीले सरकार चलाएका बेला सुविचारित ढंगले नै नेपाल कसरी समृद्ध बन्न सक्छ, त्यही बाटो लिएका छौं । हाम्रै सरकारको नेतृत्वमा मुलुक समृद्धिको युगतिर लम्कियो । जनताका आकांक्षाहरु ज्यादातर् पूर्वाधारसँग गाँसिएका छन् । यो स्वाभाविक हो । यति राम्रो ठाउँ छ झापा–१ । हरियाली वातावरण छ । शान्तिनगर, बाहुनडाँगी, ज्यामिरगढी आदि हेर्नुभयो भने विकासको पूर्वाधारबाट अलि टाढा देखिन्छ । तर, प्राकृतिक रुपमा एकदमै हरियाली छ । पूर्वाधारमा ती क्षेत्रहरु पछाडि परेका छन् । ती सबै क्षेत्रका बाटाघाटाहरु कालोपिच लगाइदिने हो भने त्यो ठाउँ छाडेर मानिसहरु सहर खोज्दै हिँड्छन् होला र ? त्यही ठाउँ राम्रो छ । यसका लागि ती ठाउँमा कम्तीमा हात्तीको आतंक हुनुहुँदैन । हात्तीको डर मनमा नपर्ने अवस्था सिर्जना गर्ने र त्यहाँका पूर्वाधारका काम गरिदिने हो भने हाम्रा गाउँहरु स्वर्ग जस्तै सुन्दर र बसँुबसुँ लाग्ने हुन्छन् ।

बस्तीहरुमा खानेपानीको समस्या छ । किसानका बीचमा सिञ्चाइको समस्या छ । ठूला र साना गरेर छ सात वटा खोला र नदीहरु छन् । नदीहरुमा तटबन्धनको कार्यक्रम अहिलेसम्म किन हुन सकेन ? स्थानीयबासी तटबन्धन होस् र खेतबाली कटानबाट बचोस् भन्ने चाहन्छन् । जनताको तटबन्धन कार्यक्रम बिरिङ पूर्व किन छिरेन ? बिरिङ पश्चिमका साना खोला खोल्सामा पनि जनताको तटबन्धन कार्यक्रम लागू भएका छन् । तसर्थ जनताको तटबन्ध कार्यक्रमलाई यो क्षेत्रमा जसरी पनि ल्याउनु पर्छ । म यसमा प्रतिबद्ध छु । ढिलो भइसक्यो, जसरी पनि तटबन्ध गर्नैपर्छ ।

मेचीनगरको वडा नं. १५ ज्यामिरगढी निन्दा र मेची नदीका कारण वारि र पारि बनेका छ । वडाका आधा बासिन्दा सीधा जाँदा पाँच दश मिनेटमा पुगिने वडा कार्यालय, स्वास्थ्य चौकी र स्कुल कलेज पुग्न निन्दामा पुल नभएका कारण १५ किलोमिटर घुमेर सास्ती खेप्नु पर्ने विडम्बनापूर्ण अवस्था छ । बीचमा एउटा पनि पुल पुलेसा छैनन् । आवश्यक ठाउँमा पुल निर्माण गर्नेछौं । नदीलाई तटबन्धन गर्नेछौं । कृषियोग्य जमिनलाई सिञ्चाईको व्यवस्था गरिदिने छौं । शुद्ध खानेपानीको व्यवस्था गरिदिने छौं । कतिपय ठाउँमा स्कुल र कलेजको आवश्यकता महसुस गरिएको छ ।

सामुदायिक विद्यालय छन्, स्तरयुक्त शिक्षा छैनन् । विद्यालयमा भवनहरु छन्, ती पर्याप्त छैनन्, चुहिने अवस्थामा छन् । स्वास्थ्य चौकीहरु छन्, ती गुणस्तरयुक्त छैनन् । यी चार पाँच वटा कुरामा राज्यको ध्यान लगाउने र प्राथमिकतासाथ काम गर्ने हाम्रो प्रतिबद्धता छ । विकासमा शान्तिनगर र बाहुनडाँगी सबैभन्दा पछाडि छ । हामीले विकासका कार्यक्रम अघि बढाउँदा सबैभन्दा पछाडि परेको क्षेत्रमा प्राथमिकता दिनेछौं । यदि प्राथमिकता नदिने हो भने काँकरभिट्टा, इटाभट्टा, धुलाबारी र चारआलीको तुलनामा ती एरिया २० औं वर्ष पछाडि भइरहनेछन् । म राज्यको बजेट सबैभन्दा पछाडि परेको त्यही क्षेत्रमा प्राथमिकताका साथ बढी केन्द्रित गर्नेछु ।

झापा १ मा जतातै चिया बगान छन् । जंगलहरु छन् । उर्वर धान खेतहरु छन् । जहाँ धान खेती छैन, त्यहाँ सुपारीको खेती छ । पूर्वाधार पुर्याउने हो भने यहाँको जनजीवन सुखी र सहज बन्ने निश्चित छ ।

यस क्षेत्रमा हात्ती आतंक सबैभन्दा पेचिलो समस्याको रुपमा छ । वर्षौदेखि स्थानीयबासीले आश्वासनमा अलमलिनु परेको छ । यसको समाधान बारेमा तपाईको सोच के होला ?

चन्द्रगढीदेखि बाहुनडाँगीसम्म, ज्यामिरगढीदेखि शान्तिनगरसम्मै यो समस्या विकराल रुपमा छ । केही ठाउँमा विद्युतीय तारबार लगाइएको छ । त्यो पनि धेरै टिकिरहेको छैन भन्ने गुनासो आउन थालिसकेको छ । तथापि नियन्त्रणमा सघाउ पुगिरहेकै छ । त्यस्तो तारबार क्षेत्रभरि त छैन । त्यो नै स्थायी समाधान हो कि होइन भन्ने प्रश्न पनि छ । अर्को स्थायी समाधान नभइञ्जेलसम्म विद्युतीय तारबार विस्तारलाई हामी निरन्तरता दिनेछौं ।

मूल कुरा मानिसलाई हात्तीको आतंकबाट बचाउनु पर्छ । सीमानामा रहेको मेची नदीको पश्चिमी किनारमा बलियो तटबन्धन गर्ने हो भने हात्ती क्रस गरेर आउन सक्दैन भन्ने स्थानीयबासीको सुझावहरु आइरहेको छ । यसो हेर्दा हो कि जस्तो पनि लाग्छ । यदि यो स्थायी उपाय हो भने तटबन्धनमा हामी लाग्नेछौं । त्यसबाट एकातिर मेची नदीको कटान रोकिनेछ भने अर्कोतिर हात्तीको आतंकबाट मानिसहरु सुरक्षित हुन्छन् ।

साँझतिर शान्तिनगर र बाहुनडाँगीतिर हामी गयौं भने स्थानीय बासिन्दाहरु टर्च लाइट लिएर घर बाहिर हात्ती आउला भनेर बच्नका लागि गस्ती गरिरहेका भेटिन्छन् । सुत्ने बेलामा मान्छेहरु उठिरहेका हुन्छन् । यो हदसम्मको आतंकबाट यहाँको जनजीवन प्रभावित छ । समस्या एक ठाउँ र एउटा गाउँमा सीमित छैन । पुरै निर्वाचन क्षेत्रभरका मानिस असुरक्षित छन् । हामी यो समस्याको स्थायी समाधानका लागि ठोस कार्य गर्न प्रतिबद्ध छौं । नागरिकहरुले वर्षौदेखि समस्याहरु उठाइरहेका छन् । अब टालटुले होइन, गफमा होइन, स्थायी र दीर्घकालीन समाधानको बाटोमा हिँड्न हामी प्रतिबद्ध छौं ।

तपाईको मुख्य प्रतिष्पर्धी को हो ?

डेफिनेट्ली मलाई लाग्छ गठबन्धन नै हो । यहाँको वास्तविकता जे हो त्यही भन्नुपर्छ । अरु कोही होला जस्तो मलाई लाग्दैन । गठबन्धनको उम्मेद्वारको रुपमा विश्वप्रकाश शर्माजी प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । उहाँ नै मुख्य प्रतिष्पर्धी हो भन्ने म ठान्छु ।

तपाईको जीतको आधार के हो ? थुप्रै उम्मेदवारका बीचमा तपाईलाई नै किन मत दिने ?

जीतको मूल आधार हाम्रो पार्टी नेकपा एमालेप्रति फेरि पनि यहाँका मतदाताको प्रगाढ आस्था र विश्वास नै हो । हामीसँग चुनावी तालमेलमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी र हाम्रो पार्टीका कार्यकर्ता र समर्थकको ठूलो पंक्ति हाम्रो जीतको आधार हो । पछिल्लो समय स्थानीय निर्वाचनको परिणामले पनि हाम्रो जीतलाई सुनिश्चित गरेको छ । वडाध्यक्षका उम्मेद्वारले प्राप्त गरेको मतको आधारमा हाम्रो पार्टी र तालमेलमा रहेको राप्रपाको मत प्रतिष्पर्धी गठबन्धनको भन्दा अत्याधिक धेरै छ । राष्ट्रियताको संरक्षण, लोकतन्त्रको संरक्षण र समृद्धिका लागि नेकपा एमालेले चालेका कदमहरु र गरेर देखाएका कामहरुले व्यापक जनताको पंक्ति हाम्रो पक्षमा उभिएको छ ।

बिगतदेखि झापा १ को निर्वाचनको परिणामहरु हेर्ने हो भने पनि यो क्षेत्र कम्युनिस्टको किल्ला सावित हुँदै आएको छ । २०४८ सालदेखि हाम्रो पार्टीले प्रतिष्पर्धा गर्दै आएको छ । हरेक चुनावमा कांग्रेससँगै प्रतिष्पर्धा हुने गरेको छ । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले बाहेकको गठबन्धन उहाँहरुले बनाउनु भएको थियो । परिणाम हेरिहाल्नुभयो, एमालेले शानदार जीत हासिल गरेको छ । संसदीय चुनावको कुरा गर्ने हो भने २०५४ सालमा पार्टी विभाजन हुँदा बाहेक कम्युनिस्टहरुले कहिल्यै नहारेको क्षेत्र हो यो । हाम्रो पार्टीको बलियो संगठन, जनताको बलियो साथ समर्थन र प्रतिष्पर्धीको गठबन्धनलाई निष्तेज बनाउन हामीले राप्रपासँग गरेको तालमेल हाम्रो जीतको अकाट्य आधार हो ।

म नेकपा एमालेको निष्ठावान कार्यकर्ता हुँ । जीवनमा कहिल्यै बेइमान गरेको छैन । राज्यको जिम्मेवारीमा बस्दा कहिल्यै विवादमा परेको छैन । उच्च नैतिकतायुक्त बेदाग छवि निर्माण गरेको छु । संविधानसभाको सदस्य रहँदा संविधान निर्माणको कोर्सलाई कम्प्लिट गर्न ज्यादै नै भिजेर लागेको मान्छे हुँ । संविधान जारी हुँदा मैले गरेको काम देश दुनियाँले जानकारी राखेको छ । समग्र झापालीले र यस क्षेत्रका मतदाताले पनि मैले गरेको त्यो कामलाई सही मूल्यांकन गर्नुभएको होला भन्ने म ठान्छु ।

संविधानसभा सदस्य, कानून मन्त्री र महान्यायाधिवक्ता हुँदा के कस्ता कामहरु गर्नुभयो ?

संविधान निर्माणका अतिरिक्त विकास र निर्माणका कामहरु मैले जे जति गरेको छु, जगजाहेर छ । यस क्षेत्रमा सीमित काम गरेको छु, त्यसलाई म धेरै दावी नगरुँला । झापा जिल्लाभरि मैले गरेका कामहरुले विकासप्रतिको मेरो लगावलाई बुझ्नुहुनेछ भन्ने मलाई विश्वास छ । पार्टीमा अविचलित रुपमा अबिराम काममा लागेको र निष्ठाको राजनीतिमा टिकेको मान्छे हुँ । राजनीतिमा निष्ठा र अनुशासनको धेरै महत्व हुन्छ । मैले त्यो सिद्ध गरिसकेको छु । राजनीतिक जीवनमा काम गरिरहँदा सार्वजनिक ओहोदामा बसेर जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ । त्यो सार्वजनिक जीवनमा बसेर गरेका कामले पनि न्याय गर्नेछ भन्ने म ठान्छु । मैले यहाँभन्दा अगाडि जे कामहरु गरेको छु, जनता र मतदाताको अगाडि त्यो खरो उत्रिन सक्छ भन्ने मेरो विश्वास हो ।

सार्वजनिक जीवनको क्रममा तीन वर्ष मैले महान्यायाधिवक्ताको रुपमा काम गरेँ । श्रद्धेय पार्टी अध्यक्ष केपी शर्मा ओली पहिलोपल्ट प्रधानमन्त्री भएको बेलामा कानून मन्त्री बने । कानून मन्त्री हुँदा ३६ वटा अत्यावश्यक कानूनहरु मैले मस्यौदा गरेर पार्लियामेन्टमा बुझाएको छु । पार्लियामेन्टले प्राथमिकतामा रहेका ती कानूनहरु निर्माण गरेको छ । महान्यायाधिवक्ता रहँदा ७ महिनासम्म लगातार एउटा टिम बनाएर कानूनको मस्यौदा नै गरिरहेँ । मेरै अध्यक्षतामा कानून मस्यौदा गर्न ९ सदस्यीय समिति बनाएको थियो । भूतपूर्व मन्त्री, कानून मन्त्रालयका सचिवहरु र कानून ड्राफ्ट गर्न जान्ने दक्ष मानिसहरुलाई राखेर समिति बनाइएको थियो । त्यसले अरु ३६ वटा कानूनहरु मस्यौदा गरेको थियो । नेपालको कानून निर्माणमा मेरो अहम् भूमिका छ । राज्यको अभिलेखमा ती कुरा उल्लेख छन् ।

महान्यायाधिवक्ता कार्यालय अन्तर्गत देशभर ९६ वटा कार्यालय हुन्छन् । त्यसमध्ये ५० वटा कार्यालयका भवन शिलान्यास र उद्घाटन मैले गरेको छु । ३८ वटा कार्यालय मैले नै उद्घाटन गरेको छु । सिंहदरवार अगाडिको महान्यायाधिवक्ताको अत्याधुनिक भवन त्यसको शिलान्यास मैले गरेको हुँ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको उद्घाटन गर्नु भयो । ३७ महिनामा ३९ वटा बिल्डिङ अर्थात् हरेक ३० दिनमा एउटा बिल्डिङ बनाउने काम म आफुले गरेको छु । म जहाँ रहेँ, त्यो ठाउँको विकास गर्न म दत्तचित्त भएर लागेको मानिस हुँ । मेरा सार्वजनिक जीवनका प्रोफाइल मानिसहरुले चेक गरुन् । त्यस आधारमा मेरो बारेमा साझा दृष्टिकोण बनाउन् । मतदाताहरुलाई पनि साझा दृष्टिकोण बनाउन मदत पुगोस् भनेर मैले आफुले गरेका कामहरु उल्लेख गरेको हुँ ।

म महान्यायाधिवक्ता हुँदा केही गम्भीर किसिमका केसहरु अगाडि आएका थिए । ती निकै ठूलो सार्वजनिक चर्चाका विषय थिए । तर मैले निष्ठापूर्वक नै ती केसहरुको सम्पादन गरेँ । केही अविस्मरणीय सन्दर्भहरु छन्, जसलाई जीवनमा कुनै दिन लेख्नु पर्यो भने प्रोफाइलका विषयभित्र ती पर्छन् । एउटा केस पूर्वतिरको सुन काण्डसँग गाँसिएको छ । जहाँ मान्छे मारिएको थियो । त्यसमा प्रहरीले निकै ठूलो मिहेनत गरेको थियो । धेरै मान्छे पक्राउ परे । ती मान्छेहरु अहिले पनि जेलमा छन् । त्यसभित्र को मान्छे टाढा, को मान्छे नजिकको भन्ने आधारमा त्यसलाई हेरिएन । ती मान्छेहरुले ती खालका अपराध गरेका हुन् कि होइनन् भन्ने आधारमा हेरियो । महान्यायाधिवक्ताको कार्यालयले वकिलहरुको सेट नै बिराटनगरमा पठाएर लामो समयसम्म वहस पैरवी चलाएर मुद्धालाई अभियोजनमा लैजाने कार्य गर्यो ।

अर्को अविस्मरणीय सन्दर्भ चाहिँ पश्चिम रुकुमको नरसंहारको घटना हो । जहाँ अन्तरजातीय प्रेम गरेको आरोपमा दलित युवाहरुलाई उच्च जातिका मानिसहरुले लखेटी लखेटी नवराज विक लगायत तीन जनाको नृशंस हत्या गरेका थिए । अपराधमा संलग्न रहेकाहरुलाई प्रहरीले पक्राउ गरेर मुद्धाको अभियोजनतर्फ लग्यो । जातीय विभेदसँग गाँसिएको विषय थियो त्यो । निकै गम्भीर घटना थियो । महान्यायाधिवक्ता कार्यालयबाटै हामीले एक जना सरकारी वकिललाई त्यहाँ पठायौं । त्यहाँको सरकारी वकिलले धान्दैन होला भनेर । जिल्लाको सरकारी वकिललाई सहज बनाउनका लागि महान्यायाधिवक्ताको कार्यालयमा एउटा अनौपचारिक टिम नै बनाएर काम गर्यौं । दैनिकजसो तलको रिपोर्ट लिन्थ्यो र सुझाव दिन्थ्यो । यही आधारमा मुद्धाहरु चलाइयो । अपराधसँग संलग्न धेरै मानिसहरु अहिले पनि थुनामा छन् । निकै नृशंस, हृदयविदारक र एक हिसाबले भन्ने हो भने यो समाजका निम्ति कलंकित घटना थियो ।

मैले महान्यायाधिवक्ताको पदमा रहँदा त्यहाँभित्र अभियोजनका कुराहरु होस् या भौतिक पूर्वाधारको विकास होस्, या सरकारी वकिलको श्रीवृद्धिको कुरा होस्, मैले अभूतपूर्व योगदान पुर्याएको छु । म पदमा रहेकै बेला फौजदारी कानूनमा परिवर्तन आयो । मुलुकी ऐन खारेज गरियो । देवानी संहिता र फौजदारी संहिता जारी गरियो । जारी गरिएका बेला अप्ठ्याराहरु पनि थिए । ती अप्ठ्यारा दिनहरुलाई पनि सहज बनाउँदै कानून कार्यान्वयन गराउन पाउँदा र गराउनका निम्ति सहजिकरण गर्दा मलाई ऐले पनि सुखानुभूति भइरहेको छ ।

विर्तामोडको डोमालाल रंगशाला र मोहनमाया माविको जग्गा प्राप्तिका लागि मैले निर्वाह गरेको निर्णायक भूमिका त आम झापाबासीसामू जगजाहेरै छ । तसर्थ सार्वजनिक पदमा मैले गरेका यी कामहरुको सही मूल्यांकन यहाँ पनि होला भन्ने म ठान्छु ।

एमालेलाई कांग्रेस नेतृत्वको गठबन्धनले घेराबन्दी गरिरहेको छ । यो घेराबन्दी कसरी तोड्दै हुनुहुन्छ ?

यो घेराबन्दीलाई तोड्ने सर्वशक्तिमान शक्ति भनेको जनता हो । एमालेलाई घेराबन्दी गरिएको छ, एउटा राम्रो पार्टीलाई घेराबन्दी गरिएको छ । जनताको पक्षमा काम गरिरहेको राष्ट्रबादी पार्टीलाई घेराबन्दी गरिएको छ । राष्ट्रिय हित र समृद्धितर्फ लागिरहेको एउटा पार्टी, मुलुकको हितभन्दा अरु केही नदेखिरहेको पार्टी एमालेलाई घेराबन्दी गरिएको छ । घेराबन्दी गर्ने गठबन्धन सिद्धान्तहीन र अवसरबादी छ । त्यो गठबन्धनसँग कुनै सिद्धान्तले काम गरेको छैन । तर, त्यो गठबन्धनको रुपमा छ । सिर्फ एमालेलाई हराउने र जनताको विकास र समृद्धिका सपनाहरुमाथि पानी छ्याप्ने काम गर्नका निम्ति यो गठबन्धन भएको छ भन्ने कुरा सबै जनतालाई थाहा छ । त्यसकारणले गर्दा यो गठबन्धनलाई जनताले नै परास्त गर्छन् भन्ने मेरो पूर्ण विश्वास छ ।

तपाई राष्ट्रिय व्यक्तित्व र नेकपा एमालेको शीर्ष लहरको नेता हुनुहुन्छ । मंसिर ४ को चुनावपछि आगामी सरकार कस्तो बन्छ भन्ने अनुमान गर्नु भएको छ ?

हामी हाम्रो पार्टी नेकपा एमालेका नेतृत्वमा सरकार बनाउन सक्छौं । बहुमत ल्याउन सक्छौं र हाम्रो नेतृत्वमा सरकार बनाउन सक्छौं भन्ने बलियो विश्वासका साथ हामी अगाडि बढेका छौं । एमालेको नेतृत्वमा बहुमतको सरकार बन्छ । त्योभन्दा दायाँबायाँ हामीले सोचेका छैनौं ।

कथम्कदाचित त्यस्तो स्थिति बनिहालेन भने पनि हामीलाई सबैभन्दा ठूलो पार्टी बन्नबाट कसैले छेक्न सक्दैन । देशभरि गठबन्धनको अव्यवस्था र बिलखबन्द स्थिति जुन देखिन्छ, उम्मेद्वार मिलाउन नसकेपछि गठबन्धनवालाहरु मैत्रीपूर्ण प्रतिष्पर्धा गर्ने भन्दै आपसमा भिड्न थालिसकेका छन् । त्यसबाट बुझ्न सकिन्छ, गठबन्धन धेरै ठाउँमा नराम्ररी हार्नेछ ।

समानुपातिक निर्वाचन प्रणालीको मत यसपाली हाम्रो ह्वात्तै बढ्नेवाला छ । पार्टी संगठनसँग गाँसिएकै विषय हो यो । तर कांग्रेसले करीव आधा सिट छाडेर चुनाव लड्दैछ । एकीकृत समाजबादीले १६ सिट लिएर बाँकी सिट छाडेर चुनाव लड्दैछ । माओबादीले पनि ४४ सिट जति लिएर बाँकी १२० सिट छाडेर चुनाव लड्दैछ । यति धेरै सिट छाडेर चुनाव लडेको पार्टीहरुको समानुपातिक मत कति आउला ? आधी क्षेत्र छाडेर चुनाव लडेको कांग्रेसलाई समानुपातिकमा कति भोट आउला ? १४४ सिटमा चुनाव लडेको नेकपा एमालेले समानुपातिकमा बढी सिट जित्छ भन्ने कुरामा हामी दुविधामा छैनौं ।

झापाका पाँचै संघीय र १० वटै प्रदेश निर्वाचन क्षेत्रमा नेकपा एमाले र उसँग तालमेल गरेको राप्रपाका उम्मेद्वार बिजयी हुनेछन् । झापाको सन्देश यही हो ।

चुनाव जितेपछि मतदाताको घरआँगनमा फर्किएर पनि नेताहरु आउँदैनन् भन्ने गुनासो छ । तपाई आउनु हुन्छ भन्ने ग्यारेण्टी के छ ?

मैले अहिलेसम्म सार्वजनिक जीवनमा दिएका अभिव्यक्ति र गरेका व्यवहारहरु नै अध्यययन गरे पुग्छ । म २०२४ सालमा झापा झरेको मान्छे । २०३४ सालमा गौरादह जनता माविमा एसएलसी दिएको मान्छे । २०३७ सालमा झापाबाट नागरिकता लिएको मान्छे । २०३७ सालमै पाटा काण्डमा पक्राउ परेर यही झापाको चन्द्रगढी प्रहरी कस्टडीमा १२ दिन र त्यसपछि बीएल पढ्न काठमाडौं नगइञ्जेलसम्म राजनीतिक आन्दोलनमा पटकपटक पक्राउ परेको मान्छेलाई त यहाँको मान्छे होइन भनेर विपक्षीहरु चर्चा गर्छन् ।

विपक्षीहरुको चर्चाभन्दा हाम्रो जवाफले धेरै चर्चा पाएको छ । म बिगत डेढ वर्षदेखि विर्तामोडमा घर बनाएर बसिरहेको छु । यो बीचमा डे काउन्ट गर्नुभयो भने म ३० दिनमा २५ दिन झापामै बसेको छु । निरन्तर झापाको बसाई मलाई राम्रो लागेको छ । जनतासँग गएको छु । उहाँहरुको समस्या बुझेको छु । समाधानका लागि काम गर्न पाएको छु । अलि ग्रामीण भेगमै बसेर यही ढंगले नै जनताको सेवा गरेर राजनीतिलाई अघि बढाएर जानु नै जीवनको पछिल्लो लक्ष्य बनाएको छु ।

म जुन झापा १ मा चुनावमा उठिरहेको छु, त्यहाँ यो प्रश्न बढी उठेको छ । पछिल्लो निर्वाचनबाट जो मान्छे निर्वाचित भएर जानुभयो । उहाँले निर्वाचन जितिसकेपछि आफ्ना मतदातालाई यस्तो उपेक्षा गरेको देखियो । उहाँ आउनुहुन्छ भनेर फूलको माला उनेर बसेका थियौं, फूलको माला सुक्यो तर उहाँलाई कहिल्यै देख्न पाइएन भनेर एक दुई ठाउँमा सुनियो । उहाँका बारेमा मतदाताको तिखो र नमिठो लाग्ने अभिब्यक्ति मैले सुनेँ । म राम कार्की बन्न सक्दिन, उहाँजस्तो म छैन । जसलाई हामीले गठबन्धनमा लिएर आयौं, जसले हामीमाथि कै विश्वास तोड्यो । अनि मतदातामाथिको विश्वास तोडेकोमा के अचम्भ भयो र । एउटा गठबन्धनबाट चुनाव जितेको मान्छेले अर्को दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री बनायो । हामी त्यो खालको हर्कत, त्यो खालको काम गर्न सक्दैनौं ।

अहिले त उहाँ आफैले गठबन्धन गर्नुभएको छ कांग्रेससँग । आफैले हिजो हराएको मान्छेलाई मतदान गर्नुहोस् भनेर उहाँ हिँडिरहनु भएको छ । म त्यस्तो कल्पना पनि गर्न सक्दिन । म आफु निर्वाचित भइसकेपछि यो क्षेत्रका जनता जसले मलाई निर्वाचित गर्नेवाला छन्, उनीहरुको सेवामा लाग्नु मेरो परम् दायित्व र कत्र्तब्य म ठान्छु । मैले कार्यकर्ता पंक्तिलाई भन्ने गरेको छु–बीस बाइस दिनसम्म लगातार खटिदिनुहोस्, म तपाईहरुको निम्ति पाँच वर्ष खट्छु । तपाईहरुले यस्तो प्रश्न उठाउन नसक्ने ठाउँमा म आफै तपाईहरुको सेवामा लाग्छु । आज जुन जुन चोकमा उभिएर तपाईहरुको अपेक्षाका बारेमा सम्बोधन गरिरहेको छु, ती प्रत्येक कुरा मसँग रेकर्डेड छ । निर्वाचित भइसकेपछि ती प्रत्येक चोकहरु र तपाईहरुको घरआँगनमा म त्यसरी नै आइरहनेछु र दैनन्दिनका समस्याका बारेमा छलफल गरिरहनेछु । म अघिल्लो उम्मेद्वार जस्तो होइन, म एमालेको उम्मेद्वार हुँ । अघिल्लो उम्मेद्वारले जस्तो म छलछाम जान्दिन ।

सुकुम्बासी र विपन्नका लागि बसोबासको व्यवस्था छैन । मतदातासमक्ष के बाचा गर्नुभयो ?

सुकुम्बासी समस्याको समाधान गर्नुपर्छ भनेर केपी ओली नेतृत्वको पछिल्लो सरकारले समाधानका लागि आयोग बनाएको थियो । यो समस्या समाधान गर्नुपर्छ भनेर पहिलोपटक यो विचार ल्याउने पार्टी पनि नेकपा एमाले नै हो । २०५१ सालमा पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वको सरकार बन्यो । त्यतिखेर पनि सुकुम्बासी आयोग हामीले बनाएका थियौं । त्यसबेला कांग्रेसले आलोचना गरेको थियो । आलोचना गर्दागर्दै पनि हामीले ती कामहरु अघि बढायौं । त्यसपछि हामी जहिले जहिले सरकारमा पुग्छौं, यो खालका आयोगहरु हामीले अघि बढाउने गरेका छौं । पछिल्लो चरणमा यसलाई अझै व्यवस्थित गर्न सबै क्षेत्रका अव्यवस्थित बसोबासी र सुकुम्बासीहरुको समस्या हल गर्न देवी ज्ञवालीको नेतृत्वमा शक्तिशाली आयोग गठन गर्यौं । तर त्यो आयोगले काम गर्दागर्दै सरकार ढल्यो ।

आयोगले गरेका कामहरुको यथोचित मूल्यांकन नगरी यो गठबन्धन सरकारले सबैभन्दा पहिला प्रहार त्यही आयोगमाथि गर्यो । कति रिस उठेको हो सुकुम्बासीका समस्या हल हुँदा गठबन्धनलाई । त्यसपछि पाँच छ महिना केही पनि गरेन । स्थानीय तहको चुनाव आउँदैछ भनेपछि त्यसको मुखैमा फेरि आयोग बनायो । अहिले पनि त्यसले केही गरिरहेको छैन । केही देखाउनु पर्यो भने आयोग देखाउँछ । काम गर्नलाई त बनाएकै होइन । किन गर्दैन भने नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको छ । अरुलाई म त्यति दोष दिन्न । नेपाली कांग्रेसको पोलिसी नै वास्तवमा सुकुम्बासीलाई जग्गा दिएर हुँदैन भन्ने छ । नेपाली कांग्रेस जग्गा बाँडेर मुलुकको विकास हुँदैन भन्नेमा छ । जग्गा बाँडेर हुँदैन भने अनि मान्छेहरु कहाँनेर बस्छन् त ? धनीपूर्जा नबाँड्ने हो भने कसरी अव्यवस्थित बसोबासीको समस्या हल हुन्छ त ? मानिसहरु चालीसौं वर्षदेखि बिना धनीपूर्जा बसेका छन् । छोरा नातिको जोतभोगमा जग्गाहरु गइसकेका छन् । टुक्रा टुक्रा भएका छन् ।

हिजो एक बिगाहा जग्गामा बसेका सुकुम्बासीहरु आज छोरानातिका समेत गरी चार पाँच वटा घरका धनी भइसकेका छन् । श्रेस्तामा मिलोस् या नमिलोस् घरधुरी बढिसकेका छन् । अब ती बनेका घरहरु अब हामी के गर्छौं त ? सबैभन्दा राम्रो त सरल मूल्यमा तिनै मान्छेहरुलाई जग्गा दिनु राम्रो हो नि त । बसाइको व्यवस्था हुन्छ । त्यो काम गर्न नेपाली कांग्रेस तयार छैन । पहिले तयार थिएन, अहिले पनि तयार छैन । तर जनताको आँखामा छारो हाल्न चुनावका मुखमा उसले देखावटी आयोग बनाउँछ । हेर्नुहोला, एमालेको नेतृत्वमा सरकार बनेको बेला हामीले गर्ने प्राथमिक काममा यो पर्छ । यो समस्याको समाधान एमालेले मात्र गर्छ । यो हाम्रो एजेन्डा हो, कांग्रेसको होइन । उसको एजेन्डा नभएको हुँदा अर्काको एजेन्डामा काम गर्न उसलाई रुचि नै हुँदैन । हामी सरकार बनाउँछौं, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आयोग बनाएर जग्गाधनी बनाउँछौं ।

शिक्षा, स्वास्थ्य र सडकको अवस्था कस्तो पाउनुभयो ? तपाईका योजना कस्ता छन् ?

मैले पटकपटक भनिसकेँ । पूर्वाधारको अवस्था कमजोर छ । जति उत्तरतिर लाग्नुभयो, जति बाहुनडाँगीतिर, जति शान्तिनगरतिर लाग्नुभयो, पूर्वाधारको अवस्था उति नै कमजोर छ । अरु क्षेत्रमा पनि पूर्वाधारको समग्र अवस्था कमजोर नै छ ।

शिक्षा र स्वास्थ्यको समस्या देशैभरिको समस्या हो । जति पनि कलेजहरु खुले, प्लस टुहरु खुले, अधिकांश शिक्षा संकायका खुलेका रहेछन् । बच्चाहरु एसइइ गरिसकेपछि के पढ्ने भन्दा अगाडि जे कलेज छ त्यही पढ्ने भन्छन् । कलेजमा जे विषय पढाइ हुन्छ, त्यही पढ्न बाध्य छन् । उसको भविष्यको यात्रा कता लाने भन्ने होइन, नजिकमा त्यही छ, त्यही पढ्ने भन्दै जाँदा सबैजसो विद्यार्थी एजुकेसन पढ्न पुगेका छन् । जति नानीबाबुहरु जागिरको अवसरको कुरा गर्न मसँग आउनुहुन्छ, म पहिले नै सोध्छु– तपाईको पढाई एजुकेसन होला हैन ? उहाँहरु मुसुक्क हाँसेर हो भन्नुहुन्छ । एजुकेसन पढेकाका लागि झापामा यत्रोविधि अवसर छैन । प्राविधिक शिक्षाको ठूलो अभाव छ । गुणस्तरीय शिक्षाको अभाव छ । स्वास्थ्य चौकी, प्रहरी चौकीको अवस्था पनि त्यस्तै छ । शान्तिपूर्ण र अमनचयनयुक्त जीवन बिताउन पाउनु हरेक नागरिकको अधिकार हो । तर नागरिकको यो अधिकार कुण्ठित भइरहेको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमाथिको कमजोर लगानी र पूर्वाधारको अभाव आजको समस्या हो । हामी यसमा सुधार ल्याउँछौं ।

प्रतिष्पर्धीहरुले अनेक भ्रम र आरोप छरिरहेका छन् । किन अराजनीतिक र अस्वस्थ प्रतिष्पर्धा भएको होला ?

जब राजनीतिक एजेन्डाहरु सिद्धिन्छन्, त्यसपछि उनीहरु अराजनीतिक बाटो समाउँछन् । विभिन्न फण्डाहरु मच्चाउँछन् । नचाहिँदा कुराहरुलाई सम्प्रेषण गर्छन् । हुँदै नभएका कुराहरु सामाजिक सञ्जालमा प्रयोग गर्छन् । उनीहरुले निर्वाचनको वातावरणलाई अस्वस्थ बनाइरहेका छन् । अस्वस्थ प्रतिष्पर्धाको बाटोतर्फ जाने कोसिस गरिरहेका छन् । हाम्रो तर्फबाट त्यो भएको पनि छैन । हामी त्यसो गर्दैनौं पनि । यहाँका जनताको मन जितेर मात्र राजनीति जित्न सकिन्छ भन्नेमा हाम्रो गहिरो विश्वास छ । जनताले यस क्षेत्रमा हाम्रो पार्टीलाई पटकपटक अनुमोदन गरेका छन् । यसो गर्नु पर्ने औचित्यता जनताको अगाडि छर्लंग छ । पटकपटक अनुमोदित नभएका मान्छेहरुले तेस्रोपटक, चौथोपटक, पाँचौपटक भन्दै सहानुभूति बटुल्ने कोसिस गरिरहेका छन् ।

उनीहरुले राजनीतिक एजेन्डालाई एक्सप्लोर गर्न सकेको मैले देखेको छैन । किन दुईपटक हारेको ? यसको समीक्षा के हो, उनीहरुलाई थाहा छैन ? तेस्रोपटक वा चौथोपटक के एजेन्डाका आधारमा जित्नु पर्ने, त्यो एजेन्डा बाहिर ल्याउन सकेका छैनन् । पहिलोपटक परिचयका लागि चुनाव लडेँ भन्ने गरेका छन् । अनि त्यतिखेरै भनेको भए हुन्थ्यो नि, यो पटक परिचयका लागि मात्र चुनाव लड्दैछु, जित्नका निम्ति होइन भनेर भन्नुपथ्र्याे नि । त्यसबेला भनिएन होला । दोस्रोपटक मैले अनुभव हाँसिल गरेँ । त्यसैबेला भनेको भए हुन्थ्यो नि, म अनुभव हाँसिल गर्न चुनाव लड्दैछु, जित्नका लागि होइन भनेर ।

अहिले त्यसलाई थ्योराइज्ड गरिदैछ– पहिलोपटक परिचय हाँसिल गरेँ, दोस्रोपटक अनुभव । अब तेस्रोपटक चाहिँ म चुनाव जित्नका लागि लड्दैछु भनेर । त्यसबेला पहिलो र दोस्रोपटक जित्नका लागि होइन भनेर भन्नु भएको थियो र ? यो त सहानुभूति लिनका लागि हरदम कोसिस गर्ने, अनर्गल प्रचार गर्ने र अप्रमाणित विषयलाई अघि सार्ने विपक्षीको रुञ्चे तरिका भएन र ? यो निर्वाचन लड्ने सही तरिका होइन, स्वस्थ प्रतिष्पर्धा होइन । म अस्वस्थ प्रतिष्पर्धाको बाटोमा जान्न । हामीले असल लोकतान्त्रिक संस्कृतिको निर्माण पनि गर्दै जानुपर्छ । स्वस्थ प्रतिष्पर्धाको बाटोबाट जाँदा असल संस्कृतिको निर्माण हुन्छ । हामी राजनीतिक प्रतिष्पर्धा गर्न चाहन्छौं । गलत कुराहरुको प्रचार गरेर आफु सही बन्न सकिदैन । यो दिशातर्फ ध्यान दिन मेरा प्रतिष्पर्धी मित्रहरुलाई अनुरोध गर्दछु ।

राप्रपासँग कसरी तालमेल अघि बढिरहेको छ ? आपसी विश्वासको वातावरण कसरी बनिरहेको छ ?

झापाको निर्वाचन क्षेत्र नं. १ को ख मा राप्रपासँग तालमेल गरेका छौं । वडादेखि निर्वाचन क्षेत्रसम्मको चुनाव प्रचार समितिमा तालमेलमा रहेको राप्रपालाई सामेल गरेका छौं । संयुक्त कार्यक्रम बनाएका छौं । वडा र टोलसम्मका कमिटीहरुलाई मोविलाइजेसन गरेका छौं । एक अर्काप्रति अत्यन्त विश्वासको वातावरण छ । मुलुकको आवश्यकता हेरेर यो तालमेल भएको हो । पार्टी नेतृत्वले सुविचारित ढंगले गरेको यो निर्णयलाई पालना गरिनेछ । राप्रपाको उम्मेद्वार रहेको क्षेत्रका आम कार्यकर्ता र आम मतदातालाई नै हामीले सार्वजनिक रुपमै भनेका छौं, यो पार्टीले गरेको फैसला हो, यसको दूरगामी अर्थ र महत्व छ । पार्टीले गरेको फैसलाको पक्षमा उभिनुहोस् भनेर हामीले भनेका छौं । हामी यो तालमेल सफल बनाउन प्रतिबद्ध छौं ।

आम मतदातालाई केही भन्नै पर्ने कुरा छुट्यो कि ?

झापा निर्वाचन क्षेत्र नं. १ का आम मतदाता आमाबुवा दाजुभाइ दिदीबहिनीहरुमा मेरो विनम्र आग्रह छ, मेरा बारेमा केही अनर्गल प्रचारहरु गरिएको छ । मेरो जीवनबाट तपाईले मलाई भोलि पनि पढ्न पाउनुहुनेछ । भोलि पनि मलाई हेर्न पाउनुहुनेछ । चुनाव जितिसकेपछि भोलि पनि मलाई परीक्षण गर्न पाउनुहुनेछ । आखिर म तपाईहरुको माझमा परीक्षणका निम्ति आइपुगेकै छु । नेकपा एमालेको झण्डा यस क्षेत्रमा तपाईहरुले पटकपटक फहराउनु भएको छ । सूर्य चिह्नबाट पटकपटक तपाईहरुले जिताएर पठाउनु भएको छ । तपाईहरुले यसरी जिताइरहँदा मुलुकले जितेको छ ।

संविधानले तपाईहरुलाई सार्वभौमसत्ता सम्पन्न बनाएको छ । पाँच वर्षका निम्ति तपाईले प्रयोग गरेको सार्वभौमसत्ताको अधिकारले सही प्रतिनिधि चुनिन सकेन भने, तपाईलाई सम्बोधन गर्ने खालको हुन सकेन भने, तपाई राष्ट्रिय हित र समृद्धिका बारेमा जसरी सोच्नुहुन्छ, मुलुकको एकता र हितका निम्ति जसरी सोच्नुहुन्छ, त्यस्तो पात्रको पक्षमा मतदान हुन सकेन भने त्यो तपाईको पनि कमजोरी हुनेछ । त्यसैले आफ्नो मतको प्रयोग गरिरहँदा असल र खराबलाई तपाईले चिन्न सक्नुहुन्छ भन्ने मलाई विश्वास छ ।

पटकपटक तपाईले परीक्षण गर्दा तिनै मान्छेलाई किन फेल गर्नुभयो त ? त्यो मान्छे ठिक होइन भनेरै पक्कै पनि फेल गर्नुभयो । त्यो व्यक्तिले बोकेको विचार पनि ठिक छैन । त्यो पार्टी पनि ठिक होइन । तपाईले पटकपटक त्यो अभिमत प्रकट गरिसक्नु भएको छ । पटकपटक भनेको त्यो कुरा गलत थिएन । त्यसकारण, यसपटक पनि तपाईहरुले आफ्नो दृष्टि त्यसमा पुर्याउनु हुनेछ भन्ने कुरामा म विश्वस्त छु ।