जनता टाइम्स

२० कार्तिक २०७५, मंगलवार १३:१८

स्वास्थ्यका लागि अमृत भोजन ‘अंकुरित खाद्यपदार्थ’ (फाइदा र उमार्ने तरिका)


प्राकृतिक चिकित्सा एक यस्तो चिकित्सा विज्ञान हो, जसमा कुनै पनि औषधिको प्रयोगबिना रोगको उपचार गरिन्छ।

यसमा आहारलाई नै औषधिको रुपमा प्रयोग गरिन्छ र अंकुरित खाद्य पदार्थलाई विशेष जोड दिइन्छ । यस्ता खाद्यलाई अमृत भोजनको संज्ञा पनि दिन सकिन्छ।

अंकुरित खाद्य भनेको अनाज, गेडागुडी वा तरकारीका बिउहरूलाई पानीमा निश्चित समयसम्म भिजाएर उमारिएको खाद्यपदार्थ हो।

उमार्दा अनाज, गेडागुडी वा तरकारीका बिउमा पाइने जटिल संरचना भएको पौष्टिक तत्वहरू सरल संरचनामा परिवर्तन हुन्छन् र नयाँ खनिज, भिटामिन तत्वहरु उत्पन्न हुन्छन् र सुपाच्य बन्छन्।

यसलाई खाजा तथा नास्ताको रूपमा दिनहुँ काँचै खान सकिन्छ । काँचै खाँदा असर गर्छ भने हल्का बफाएर खान सकिन्छ तर काँचै खाँदा यसबाट अधिक मात्रामा पौष्टिक तत्व प्राप्त गर्न सकिन्छ।

अंकुरित खाद्यका फाइदाहरू

– यस्ता खाद्य पदार्थमा कार्वाेहाइड्रेट, ग्लुकोज, फ्रुक्टोज, माल्टोज आदिमा र प्रोटिन अमिनो एसिडहरूमा परिवर्तन हुन्छन् भने खनिज तत्व र भिटामिनको मात्रा र गुणस्तरमा वृद्धि हन्छ। उमार्दा खाद्य पदार्थमा हुनसक्ने अखाद्य तत्व पनि नष्ट हुन्छन् । यी परिवर्तनले गर्दा पौष्टिक तत्वहरू सुपाच्य हुन्छन् र शरीरले सजिलै प्रयोग गर्न सक्छ।

– अंकुरित खाद्य पदार्थमा भिटामिन ए, बि, सी र के को मात्रामा वृद्धि हुन्छ।

– उमार्दा लाइसिन नामक अमिनो एसिड बन्छ जसले क्याल्सियमको शोषणमा मद्दत गर्दछ, मांसपेशीको प्रोटिन बनाउँछ, घाउहरू चाँडै निको पार्छ र हर्माेन, इन्जाइम्स् र एन्टिबडी बनाउन निकै महत्वपूर्ण भूमिका खेल्छ।

– अंकुरित खाद्यमा एन्टिअक्सिडेन्ट तत्वहरू बढी मात्रामा पाइन्छन् जसले गर्दा फ्रिराडिकल्सको असरबाट हुने थुप्रै रोगबाट बच्छ सक्छौँ।

– अंकुरित मेथीले मधुमेह र वाथ रोगमा फाइदा गर्छ।

– अंकुरित खाद्यहरूमा बिरूवामा पाइने फाइटोइस्ट्रोजिन भन्ने तत्व पाइन्छ जसले महिलाहरूमा महिनावारी रोकिएपछि हुने समस्याहरू जस्तै हड्डी कमजोर हुने, शरीर तात्ने, पसिना आउने, मन अनियन्त्रित हुने जस्ता महिनावारी हुनुभन्दा पहिला देखिने समस्याहरू र स्तन क्यान्सरलाई नियन्त्रण गर्दछ।

– यसमा कम क्यालोरी हुन्छ । नियमित सेवनले तौल घटाउन मद्दत गर्दछ।

खाद्यपदार्थ उमार्ने तरिका

सबैभन्दा पहिले राम्रो खालको अनाज, गेडागुडी वा तरकारीका बिउलाई राम्ररी धुनुपर्छ । त्यसपछि सफा र स्वच्छ पानीमा ६ देखि १२ घण्टासम्म भिजाएर राख्नुपर्छ। बाँकी रहेको पानी फाल्ने र पुनः एकपटक सफा पानीले धुने।

अब सफा र पातलो सुतीको कपडामा पोको पार्ने र घाम नलाग्ने अँध्यारो ठाउँमा झुन्डाएर राख्ने वा पोको नपारिकन घाम नलाग्ने अँध्यारो ठाउँमा त्यतिकै राख्ने । यसरी राखेको २४ घण्टादेखि ७२ घण्टाभित्र यी पदार्थ उम्रन्छन्।