जनता टाइम्स

२९ कार्तिक २०७९, मंगलवार १७:५८

विकासको सपना देख्ने पार्टी नेकपा एमाले, त्यसको नेता केपी ओली : रत्न गौतम


रामेछाप, २९ कात्तिक । नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य रत्नप्रसाद गौतमले मङ्सिर ४ मा आपराधिक मानसिकता बोकेको गठबन्धनले जित्यो भने विकास र समृद्धिका सपना समाप्त हुने बताउनुभएको छ । नेकपा एमाले निर्वाचन परिचालन कमिटी रामेछापले आज खाँडादेवी गाउँपालिकाको गोगनपानीमा आयोजना गरेको चुनावी सभामा बोल्दै गौतमले गठबन्धनमा कुनै सोच र दृष्टिकोण भएका नेता नभएको बताउनुभयो ।

उहाँले नेकपा एमाले सिद्धान्तको हिसाबले नेता पार्टी हो, त्यसैले जनताको हरेक सुख र दुःखमा एमाले जोडिने बताउनुभयो । एमालेको उद्देश्य नै जनताको सेवा भएको पनि उहाँले बताउनुभयो । एमाले जनताको मुक्तिमा समर्पित पार्टी भएको उहाँले प्रष्ट पार्नुभयो । ‘विकासको सपना देख्ने पार्टी नेकपा एमाले, त्यसको नेता केपी ओली हो’, उहाँले भन्नुभयो ।

एमालेले युवालाई विदेशमा काम गर्ने श्रमिक होइन, देशमै उद्योगका मालिक बनाउने योजना अघि सारेको उहाँले बताउनुभयो । त्यसैले देशलाई समृद्ध बनाउन एमालेको जीत जरुरी रहेको उहाँले प्रष्ट पार्नुभयो । गौतमले गठबन्धनका नेताहरू मतदातालाई किनेर चुनाव जित्न आएका उहाँले बताउनुभयो । गलत मानिसहरूले चुनाव जित्दा नागरिकले दुर्दशा भोग्नु पर्ने तर्फ उहाँले सचेत गराउनुभयो ।

‘जनतालाई किनबेच गर्न चाहने गठबन्धनका उम्मेदवारलाई जुरुक्कै उठेर हराउनुपर्छ’, गौतमले थप्नुभयो । गठबन्धनको विरुद्ध लाग्दा आइ पर्ने सबै खालका अप्ठेरोलाई पार गर्दै अघि बढ्न उहाँले मतदातालाई आह्वान गर्नुभयो । यो अप्ठेरोमा एमाले र त्यसका नेता सधैँ साथमा रहेका उहाँले बताउनुभयो ।