जनता टाइम्स

३० कार्तिक २०७९, बुधबार १९:१७

एमाले अध्यक्ष ओलीको भाबुक भिडियो सन्देश : आफू र आफ्नो सन्ततीको भविष्य सम्झेर सूर्य चिन्हमा मतदान गर्नुस्


काठमाडौं, ३० कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल आफ्नो अफिसियल फेसबुक पेजमार्फत भाबुक भएर एक भिडियो सन्देश प्रशारित गर्दै सूर्य चिन्ह्मा मतदान गर्नलाई मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।

भर्खरै पोष्ट गर्नुभएको भिडियोमा अध्यक्ष ओलीले भाबुक हुँदै एमाले सम्झेर होइन, आफू र आफ्नो सन्ततीको भविष्य सम्झेर सूर्य चिन्ह्मा मतदान आग्रह गर्नुभएको हो । उहाँले देशको भविष्य शेरबहादुर देउवाको हातमा कि केपी शर्मा ओलीको हातमा भन्दै दुई विकल्प रहेको र दुई विकल्प मध्ये एउटा छान्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

उहाँले भिडियो सन्देशमार्फत मतदातालाई अपिल गर्दै भन्नुभयो,‘प्रिय मतदाता, अब स्पष्ट निर्णय लिने समय आएको छ । किनकी मंसिर ४ गते तपाईले हाल्ने भोटले अबको ५ वर्ष कस्को हातमा देश सुम्पने भन्ने कुराको निर्क्यौल गर्नेछ । शेर बहादुर देउवाको हातमा कि म केपी शर्मा ओलीको हातमा ! त्यसैले भोट हाल्नुअघि दुई भविष्य सम्झिनुहोला । तपाईको पहिलो आफ्नै भविष्य र दोस्रो तपाईका छोराछोरीको भविष्य ! प्रिय मतदाता, म झुटो बोल्दिन, सत्य छोड्दिन । तपाईलाई थाहा छ, म पटक–पटक मृत्युको मुखमा पुगेर फर्किएको व्यक्ति हुँ । अहिले देश केही व्यक्ति र समूहको नीजि स्वार्थ जोडिएर बनेको गठबन्धनले चलाईरहेको छ । जसको कुनै राष्ट्रिय उदेश्य नै छैन । यहि गठबन्धन रहिरहे मुलुक बर्बाद हुनेछ । तपाई र तपाईका छोराछोरीको भविष्यसमेत बर्बाद हुनेछ । त्यसैले आज म यस सन्देशमार्फत तपाईसँग भोट माग्दैछु । तर मैले मागेको भोट एमालेको जितको लागि होइन, म तपाई र तपाईका सन्तानको सुखका लागि, राष्ट्रिय हित, स्वाधिनता, स्वाभिमानको रक्षा र ५ वर्ष टिक्ने स्थिर सरकारका लागि भोट माग्दैछु । यो त्यतिखेर मात्र सम्भव हुनेछ, जब तपाईले सूर्य चिन्हमा मतदान गर्नुहुनेछ । त्यसैले सूर्य चिन्हमा मतदान गर्नुहोस् । धन्यबाद !’