जनता टाइम्स

१ मंसिर २०७९, बिहीबार १५:०९

सिंगो एमाले लागेर राप्रपाका उम्मेदवार जिताउँछौं : अध्यक्ष ओली


काठमाडौं, १ मंसिर । एमाले अध्यक्ष केपी ओलीले सिंगो एमाले लागेर राप्रपाका उम्मेदवार जिताउने बताउनुभएको छ । झापा १ इँटाभट्टामा आज आयोजित चुनावी सभालाई सम्बोधन गदै ओलीले एमालेका नेता कार्यकर्ताले राप्रपाका उम्मेदवारलाई जिताउनै पर्ने बताउनुभयो । राप्रपा गठबन्धनमा नगएर आफूतिर आएकाले त्यो पार्टीका उम्मेदवारलाई एमालेले जिताउने उहाँको भनाइ थियो ।

उहाँले गठबन्धन सरकारको आलोचना गर्नुभयो । मिलेर भाग खान गठबन्धन गरेको भन्दै राष्ट्रियताको कुरा सुन्नै नसक्ने गठबन्धनका उम्मेदवारलाई नभई एमालेलाई जिताउनुपर्ने उहाँको भनाइ थियो । एमालेसँग देश बचाउने र बनाउने भिजन रहेको उहाँले दाबी गनुृभयो । ओलीले विश्वप्रकाश र अग्नि खरेल होइन, विकास कि विनाशबीचको लडाइँ भएको उल्लेख गर्नुभयो । उहाँले जनताले यो निर्वाचनमा गल्ती नगर्ने बताउनुभयो ।

उहाँले एमालेले कार्यकर्ता खपत गर्नकै लागि झापा १ मा अग्नि खरेललाई नपठाएको बताउनुभयो । उहाँले नीति निर्माण र सरकार चलाउन सक्छन् भनेर खरेललाई पठाएको ओलीको भनाइ थियो । यसअघि खरेल झापा–२ बाट निर्वाचन लडेर विजयी हुनुभएको थियो । ‘एउटा छाप्रा हालेकै भरमा स्थानीय भन्ने हो भने खरेलको पनि यो क्षेत्रमा एउटा छाप्रा हालदिउँला,’ उहाँले भन्नुभयो, ‘एमाले जतिको पार्टीले एउटा छाप्रा हाल्न नसक्ने कुरै भएन ।’