जनता टाइम्स

२२ श्रावण २०७६, बुधबार १०:५१

३५ नेपाली आउदी अरबमा अलपत्र


काठमाडौं, साउन २२

तीन महिनादेखि कामविहीन भई साउदी अरबको राजधानी रियादमा अलपत्र परेका ३५ जना नेपाली कामदार नेपाली दूतावास परिसरको सेल्टरमा बसिरहेका छन् । कम्पनीले उपयुक्त वास नदिएपछि उनीहरू दूतावासको शरणमा आएका हुन् ।

उनीहरूलाई दूतावासले एक सातादेखि शरण दिइरहेको छ । दूतावासमा बस्ने उपयुक्त ठाउँसमेत छैन । ‘हामीले दूतावासभित्र बस्न पाउनु नै ठूलो कुरो हो । कम से कम सुरक्षित त छौं । बिहानबेलुका खान पाएका छौं,’ पीडित टेकबहादुर ओलीले भने, ‘यहाँ घाम छेक्ने छत छ ।’

दूतावासका गाडी पर्किङ गर्ने ठाउँमा उनीहरूलाई राखिएको छ । सुत्न मिल्ने ओछ्यान छैन । खाना बाहिरबाट ल्याएर दूतावासले खुवाइरहेको छ । उनीहरूलाई काठमाडौंस्थित जेबीआर म्यानपावर कम्पनीले फर्निचरको कामका लागि पठाएको थियो । ‘३ महिनामा एक रुपैयाँ कमाइ भएन । कुनै काम पनि दिइएन । खालि कम्पनी मात्रै परिवर्तन भइरह्यो,’ १ लाख ४० हजार रुपैयाँ तिरेर साउदी पुगेका महोत्तरीका नामोमुद पासवानले भने, ‘हामीलाई कम्पनीले फर्निचरको काम नै दिन सकेन ।’

आफूहरूका समस्या म्यानपावर कम्पनीले सुनुवाइ नगरेको उनीहरूले बताए । कम्पनीको व्यवस्थापनलाई नेपाल पठाइदिन अनुरोध गर्दा उल्टो धम्की आउने गरेको उनीहरूको गुनासो छ । ‘खानासमेत दिइएन । हामी बस्ने क्याम्पको बत्ती काटिदियो । केही उपाय नलागेपछि बाध्य भएर दूतावासमै बस्नुपरेको हो,’ ओलीले भने, ‘उता खुला आकाश थियो । बाहिर बस्दा कसैले ढुंगा हानिदिन्छ भन्ने डर हुन्थ्यो ।’ म्यानपावर कम्पनी र रोजगारदातासँग समन्वय गरी पीडितको उद्धार प्रक्रिया थालिसकेको नेपाली दूतावासले जनाएको छ । (कान्तिपुर)