जनता टाइम्स

६ मंसिर २०७९, मंगलवार १६:२२

समानुपातिकमा एमाले पहिलो–कांग्रेस दोस्रो : माओवादीलाई रास्वपाले जित्दा माधवको पार्टी दसौं स्थानमा (सूचीसहित)


काठमाडौं, मंसिर ६ । राजनीतिक दलहरुको लोकप्रियता मापन गर्ने समानुपातिक निर्वाचन प्रणालीतर्फ जारी मतगणनामा नेकपा एमाले पहिलो देखिएको छ ।

निर्वाचन आयोगका अनुसार जारी मतगणनामा पहिलो पटक चुनावमा भाग लिएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेख्य मत पाएको छ । परम्परागत दलहरुलाई चुनौती दिएको सो पार्टी पछिल्लो गणनामा नेकपा माओवादी केन्द्रलाई उछिनेर तेस्रो स्थानमा उक्लिएको छ ।

देशभर प्रत्यक्षसँगै समानुपातिक मत पनि गणना भइरहेको छ । गणनाको रुझान हेर्दा समानुपातिकतर्फ रवि नेतृत्वको पार्टी तेस्रो बन्ने सम्भावना देखिएको छ । समानुपातिकमा नेपाली कांग्रेस दोस्रो देखिएको छ ।

अहिलेसम्म एमालेले १ लाख १ हजार ६६५ मतका साथ अग्रता लिएको छ भने कांग्रेस ८७ हजार २२५ मतसहित दोस्रोमा छ ।तेस्रो स्थानमा रहेको घण्टीले ४६ हजार ३५२ मत पाएको छ भने नेकपा माओवादी केन्द्रको ३८ हजार २८८ मत छ । विघटित संसदको चौथो ठूलो दल रहेको नेकपा एकीकृत समाजवादी भने निकै पछि परेको छ ।

अहिलेसम्म माओवादीपछि राप्रपाले २५ हजार ९९८ मतसहित पाँचौं स्थानमा छ भने जसपा ८ हजार १३४ मतसहित छैटौं र सिके राउत नेतृत्वको जनमत पार्टी ७ हजार ४६२ मतसहित सातौं स्थानमा छ ।

यसैगरी नागरिक उन्मुक्तिले ५ हजार ४७६ मतसहित आठौं स्थानमा रहेको छ भने नेपाल मजदूर किसान पार्टी ५ हजार ४३४ मतसहित नवौं स्थानमा रहदा नेकपा एकीकृत समाजवादी ५ हजार ८३ मतमा सिमित हुन पुगेको छ ।

मतगणनाको रुझान हेर्दा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले सले थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बन्नलाई नै चुनौती देखिएको छ ।