जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार ०९:११

पाल्पा-१ को क मा एमालेका राजुप्रसाद श्रेष्ठ विजयी


पाल्पा, मंसिर ८ । पाल्पा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा क मा नेकपा एमालेका उम्मेदवार राजुप्रसाद श्रेष्ठ भारी मतान्तरले प्रदेशसभा सदस्यमा निर्वाचत हुनुभएको छ । एमाले उम्मेदवार श्रेष्ठ १७ हजार ६ सय ४२ मत ल्याई विजयी हुनुभएको हो ।

श्रेष्ठका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका श्यामकान्त खनालले १२ हजार २ सय ५२ मत ल्याइ उपविजेता बन्नुभयो । श्रेष्ठले ५ हजार ३ सय ९० मतले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खनाललाई पराजित गर्नुभएको हो ।

एमाले उम्मेदवार श्रेष्ठले मतगणनाको सुरुवातदेखि नै अन्तिमसम्म अग्रता लिंदै आउनु भएको थियो । पाल्पा क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालय रामपुर पाल्पाले एमाले उम्मेदवार श्रेष्ठ लाई विजयी भएको घोषाणा गरेको छ। प्रदेशसभा सदस्यमा विजेता भएका श्रेष्ठ २०७४ सालको स्थानीय निर्वाचनमा रामपुर नगरपालिकामा नगर प्रमुखमा पराजित हुनुभएको थियो ।

प्रदेशसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका डुलबहादुर गाहाले ४ सय ३१ मत, मंगोल नेशनल अर्गनाइजेसनका पूर्णबहादुर रुचालले २ सय ६० मत, राष्ट्रिय जनमुक्ति पाटीका भिमसेन सुनारी मगरले ८० मत पाउनु भएको छ ।

पाल्पा क्षेत्र नं १ को प्रदेशसभा क मा जम्मा मतदाता ४९ हजार २ सय ५१ रहेका थिए जसमा ३१ हजार २ सय ११ मत खसेको थियो। खसेको मतमा ३० हजार ६ सय ६५ सदर र ५ सय ४६ मत बदर भएको थियो। पाल्पा क्षेत्र नं १ को प्रदेशसभा क मा १९ वटा वडा रहेका छन ।