जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार १७:३६

बुथ कब्जा गर्न आफै मैदानमा उत्रिएका थिए उम्मेदवार कुन्दनराज काफ्ले


चरिकोट, मंसिर ८ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दोलखाका बिभिन्न मतदान केन्द्रमा बुथ कब्जा गरिएको भिडियोसहितको दृष्यहरु सामाजिक संजालमा भाइरल बनेको छ ।

जसमध्ये तामाकोशी गाउँपालिका वडा नम्बर–३, जफे स्थित कालापानी मतदान केन्द्रमा भएको बुथ कब्जाको भिडियो पनि सार्वजनिक भएको छ । उक्त भिडियोमा प्रदेश निर्वाचन क्षेत्र नम्बर क का उम्मेदवार कुन्दनराज काफ्ले आफै बुथ कब्जाको नेतृत्व गरिरहेको दृष्य देख्न सकिन्छ । उक्त मतदान केन्द्र उम्मेदवार काफ्लेको आफ्नै वडामा पर्दछ ।

दृष्यमा देखिए अनुसार शान्तिपूर्ण रुपमा मतदान हुँदै गर्दा गठबन्धनका कार्यकर्ताले एमाले कार्यकर्तामाथि एक्कासी ढुंगामुढासहित आक्रमण सुरु गर्दै बुथमाफर्जी मत खसाल्न सुरु गर्छन । ढुंगा प्रहारबाट एक सुरक्षाकर्मी घाईते हुन्छन । बुथ कब्जा हुनबाट जोगाउन सुरक्षाकर्मी मतदान केन्द्रभित्र प्रवेश गर्छन । ढुंगामुढा जारी रहेपछि सुरक्षाकर्मीले हवाई फायर गर्छन ।

त्यही बेला उम्मेदवार काफ्ले मतदान केन्द्र भित्रबाट आफ्ना कार्यकर्तालाई ढुंगामुढा बन्दगर्न आग्रह गरेको सुनिन्छ । सुरक्षाकर्मीले ढुंगामुढा नरोकिए थप बल प्रयोग गर्ने चेतावनी दिन्छन् । अब त्यस्तो नहुने भन्दै काफ्लेले सुरक्षाकर्मीलाई आवस्त पार्न खोजेको देखिन्छ ।

नेकपा एमालेले पनि उम्मेदवारकै नेतृत्वमा उक्त मतदान केन्द्रको बुथ कब्जा गरिएको बताएको छ । सामाजिक सञ्जालमा आएको भिडियोले एमालेको यो भनाईलाई पुष्टि गरेको छ ।