जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार २०:१५

अन्तर्घात गरेको भन्दै कांग्रेस कार्यकताले गरे आफ्नै नेताविरुद्ध प्रदर्शन


पोखरा, ८ मंसिर । मंसिर ४ गते भएको निर्वाचनमा अन्तर्घात गरेको भन्दै कास्की कांग्रेसका केही कार्यकर्ताले आफ्नै नेताविरुद्ध प्रदर्शन गरेका छन् । कास्की १ का युवाहरुले निवर्तमान जिल्ला सभापति कृष्ण केसीविरुद्ध प्रदर्शन गरेका हुन् । पोखरा महानगर १३ बाझापाटनमा कांग्रेसको झण्डासहित उपस्थित उनीहरूले केसीविरुद्ध नारावाजी गरेका छन् ।

कास्कीका तीन निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्बर १ मा गठबन्धनको तर्फबाट कांग्रेसले टिकट पायो । प्रदेश सभा (ख) मा पनि कांग्रेसकै उम्मेदवार थिए । जिल्लाका समग्र क्षेत्रमध्ये बलियो मानिएको कास्की १ र प्रदेश सभा (ख) कांग्रेस नै कमजोर सावित भयो । प्रदेश सभाका उम्मेदवार दिपक गुरुङ पराजीत भैसक्नुभएको छ ।

प्रतिनिधिसभा सदस्य उम्मेद्वार तथा जिल्ला सभापति किशोरदत्त बराल पनि पराजयको नजिक हुनुहुन्छ । उहाँ एमालेको उम्मेदवार मनबहादुर गुरुङ भन्दा धेरै पछि पर्नुभएको छ । चुनाव हार्ने निश्चित भएपछि कांग्रेस कास्कीमा अन्तर्घातको गाईंगुईं सुरु भएको छ ।

केसी समूहले कास्कीमा कांग्रेसका उम्मेदवार हराउन लागेको भन्दै दीपक गुरुङ निकट समूहले बाझा पाटनमा प्रदर्शन गरेको हो । कास्की मादी गाउँपालिकाका सभापति याम गुरुङले फेसबुकमा स्टाटस लेख्दै कृष्ण केसीले कांग्रेस उम्मेदवार हराउन आफूलाई समेत उकासेको आरोप लगाउनुभएको छ । म्यासेन्जरका च्याटहरुमा समेत केसी कांग्रेसका उम्मेदवारविरुद्ध लागेको टिका टिप्पणी भैरहेको छ ।