जनता टाइम्स

९ मंसिर २०७९, शुक्रबार १७:३१

यी हुन् ७० वर्ष नाघेका विजयी उम्मेदवार


काठमाडौं, ९ मंसिर । आम निर्वाचन २०७९ को मतगणना जारी रहँदा अधिकांश क्षेत्रको मतगणना सार्वजनिक भइसकेको छ । यसले कुन दलको आकार कत्रो हुने र हैसियत के हुने भन्ने मोटामोटी चित्र देखाइसकेको छ । यस पटकको प्रतिनिधि सभामा २७ वर्षदेखि ८० वर्षसम्मका उम्मेदवार निर्वाचित भएका छन् । यहाँ ७० वर्ष नाघेका विजयी उम्मेदवारबारे चर्चा गरिएको छ ।

यस पटकको प्रतिनिधि सभामा नेपाल मजदुर किसान पार्टीका चित्रबहादुर केसी सबैभन्दा बढी उमेरका सांसद हुनुहुनेछ । केसीले ८० वर्ष नाघि सक्नुभएको छ । केसी बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको हो ।

दोस्रोमा प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्छ । उहाँ ७७ वर्षका हुनुहुन्छ । डडेलधुराबाट निर्वाचित हुनुभएका देउवा फेरि पनि प्रधानमन्त्रीको दौडमा देखिने प्रबल सम्भावना छ ।

अर्का ज्येष्ठ सांसद हुन् ध्रुवबहादुर प्रधान । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर २ बाट निर्वाचित प्रधान हाल ७३ वर्षका हुनुहुन्छ । यस्तै नेकपा झापा ५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ७० वर्ष पुगिसक्नु भएको छ ।

रुपन्देही–४ बाट निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला ७२ वर्ष पुग्नुभयो । उहाँ पनि यस पटकको प्रतिनिधि सभा निर्वाचनबाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको छ ।

नेपाली कांग्रेसका नेता डा शेखर कोइराला ७२ वर्षीय पुग्नुभयो । उहाँले पनि यस पटक मोरङ–६ बाट प्रतिनिधि सभा निर्वाचनमा जित हासिल गर्नुभएको छ ।