जनता टाइम्स

१० मंसिर २०७९, शनिबार १७:१८

झलनाथ र ज्ञानेन्द्रले गरे जनमतकै अपमान, हार्ने निश्चित भएपछि रच्न थाले यति निकृष्ट षडयन्त्र


सुनसरी, मंसिर १० । सत्ता गठबन्धनका नेता तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालकै बाटोमा लोकतन्त्रको वकालत गर्ने नेपाली कांग्रेसका नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि लाग्नुभएको छ ।

सुनसरी क्षेत्र नम्बर ४ मा आफू पछि परेपछि कार्कीले धाँधली भएको भन्दै जनताको मतभन्दा सत्ताको दुरुपयोग गरी आफू बिजयी बन्ने षडयन्त्रसहित मतदान बहिष्कारको नाटक रच्नुभएको छ ।

इलाम १ मा खनाल पराजीत हुने निश्चत भएपछि पुनः निर्वाचनको मागसहित मतगणना बहष्कार गर्नुभएको थियो । उहाँले सो काम गरेलगत्तै सुनसरी ४ मा कार्की पछि परेपछि धाँधली भयो भन्दै मतगणना बहिष्कार गरी आफूलाई सोझै बिजेता घोषित गर्नूपर्ने जस्तो अडान राख्नुभएको छ ।

एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले इलाममा चुना हार्ने निश्चित भएको छ । अहिले सरकार गठबन्धनकै छ । गठबन्धनको सम्मानित नेता हुनुहुन्छ झलनाथ खनाल । खनाल नै अहिले जनताले भोट नदिएर चुनाव हार्ने निश्चित भएपछि धाँधली भयो भनेर प्रलाप गर्दै हुनुहुन्छ । बखेडा निकालेर बारम्बार मतगणनाको काम नै रोक्दै आउनुभएको छ ।

नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले मतान्तर बढाउँदै लगेपछि खनालले मतगणनाको काम नै रोक्न लगाउनुभएको थियो । सहमति पछि पुनः मतगणना सुरु भए पनि आफ्नो पक्षमा मत नआएको कारण खालले पुनः मतगणनाको कामलाई प्रभावित पार्नुभएको छ । खनालको माग गजबको छ । भोट गन्दा चुनाव हार्ने निश्चित भएपछि उहाँले पुन मतदान गर्नु पर्ने हास्यास्पद माग गर्नुभएको छ । पराजयकाको प्रलाप अलाप्दै हुनुहुन्छ ।

खनालकै मार्गमा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्की पनि देखिनु भएको छ । आफ्नै सरकारले गरेको चुनाव र आफ्नै मातहतका कर्मचारी राखेर भइरहेको मतगणना धाँधली भएको भन्दै उहाँले मतगणना रोक्न माग गर्नुभएको छ ।

सुनसरी क्षेत्र नं ४ बाट चुनाव लड्नु भएका कार्कीले सोझो मतगणना गर्दा चुनाव नजितिने निष्कर्षमा पुगेपछि बखेडा निकाल्नुभएको छ । उहाँको निवेदन पछि सर्वदलीय बैठक राखिने भएको छ । निर्वाचनको प्रचारदेखि नै सत्ताको दुरुपयोग गर्दै आउनुभएका कार्कीले पुनः एक पटक सत्ता दुरुपयोग गरेर चुनाव जित्न सकिन्छ कि भन्दै मतगणना रोक्ने पासा फाल्नुभएको छ ।

कार्कीलाई एमालेका जगदीशप्रसाद कुसियैतले कडा टक्कर दिनुभएको छ । कार्कीले २३ हजार ४ सय ३९ मत ल्याउँदा कुसियैतले २३ हजार ३ सय ४१ मत ल्याउनुभएको छ । अब कुसियैत अघि बढ्ने निश्चित भएपछि कार्कीले धाँधलीको बाटो रोज्नु भएको छ ।